Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

एमाले इलामले ४ पालिकाको उम्मेदवार टुङ्ग्यायो

एमाले इलामले ४ पालिकाको उम्मेदवार टुङ्ग्यायो

  • सन्देश सम्बाददाता
  • बिहिबार, बैशाख ८ २०७९


एमाले इलामले ४ पालिकाको उम्मेदवार टुङ्ग्यायो

फिक्कल । आसन्न वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले चार पालिकामा सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ । एमालेले देउमाई नगरपालिका, सूर्योदय नगरपालिका, रोङ गाउँपालिका र माङसेबुङ गाउँपालिकामा पालिका प्रमुख र उपप्रमुख सर्वसम्मत सिफारिस गरेको हो । उनीहरू जिल्लाबाट प्रदेश कमिटीमा सिफारिस गरिएको हो ।

एमालेले देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकामा पुरानै उम्मेदवारलाई निरन्तरता दिएको छ । त्यसैगरी सूर्योदयको उपप्रमुख र रोङको उपाध्यक्षमा पुरानै उम्मेदवार सिफारिस भएका हुन् । एमालेले विशेष महत्वको साथ हेरेको सूर्योदय नगरपालिकामा नगर प्रमुखको रुपमा प्रदेश सांसद काजीमान कागतेलाई सिफारिस गरेको छ । झलनाथ खनालको आधार क्षेत्र मानिएको सूर्योदयमा आफ्नो पुरानो साख कायम गर्न कागतेलाई अघि सारिएको एमाले श्रोतको दावी छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा समेत नगर प्रमुखको आकांक्षी रहेका कागतेले टिकट पाएका थिएनन् । नेकपा एमाले–माओवादी गठबन्धनबाट इलाम क्षेत्र नं १ (ख) बाट प्रदेश सांसदको उम्मेदवार बन्दै उनले बिजयी हासिल गरेका थिए । वर्तमान नगर प्रमुख रणबहादुर राईले पुर्व प्रधानमन्त्री झलनाथ खनालसंगै नेकपा एकिकृत समाजवादी रोजेपछि एमालेले कागतेलाई नगर प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उपप्रमुखमा पुन : दुर्गादेवी भट्टराईको नाम सिफारिसमा परेको छ । भट्टराईले अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसकी खगेश्वरी अधिकारी (बन्दना) लाई २ हजार ९ सय ६३ मतान्तरले हराएकी थिइन् । एमाले सूर्योदय नगर कमिटीकी अध्यक्ष समेत रहेकी भट्टराई १२ हजार ८ सय ९० मत ल्याएर उपप्रमुखमा निर्वाचित हुँदा उनको निकटतम प्रतिद्धन्द्धी अधिकारीले ९९२७ मत पाएकी थिइन् ।

यस्तै इलामको देउमाई नगरपालिकाको अघिल्लो निर्वाचनमा बिजयी भएका नगर प्रमुख र उपप्रमुखलाई नै एमालेले दोहो¥याएको छ । एमालेले नगर प्रमुखमा सूर्य पोख्रेल र उपप्रमुख पविमाया राईको नाम प्रदेशमा पठाएको हो । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका होम दुलाललाई ९ सय ५७ मतान्तरले हराउँदै पोख्रेल बिजयी भएका थिए ।

पोख्रेलले प्रमुखमा ७ हजार ३ सय ४७ मत पाएर विजयी बन्दा निकटतम प्रतिद्धन्द्धी दुलालले ६ हजार ३ सय ९० मत पाएका थिए । उपप्रमुख राईले नेपाली कांग्रेसकी सूर्यमाया राईलाई ९ सय ९७ मतान्तरले हराएकी थिइन् । पविमायाले गत निर्वाचनमा ७ हजार ३ सय ८७ मत पाएर उपप्रमुखमा निर्वाचित बन्दा निकटतम प्रतिद्धन्द्धी सूर्यमायाले ६ हजार ३ सय ९० मत पाएकी थिइन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम गठबन्धनका उम्मेदवारलाई ३१८ मतले हराएकी माङसेबुङ गाउँपालिका उपाध्यक्ष सुनिता योङहाङलाई पुन :उपाध्यक्षमा सिफारिस गरेको छ । निर्वाचनमा योङहाङले ३०८९ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार बनेका संघीय समाजवादीका विनोद नेम्वाङले २७७१ मत पाएका थिए ।

नेपाली कांग्रेसका उम्मेदवार डिकेन्द्र इदिङगोसंग पराजित भएका हेमन्त राईलाई एमालेले पुनः गाउँपालिका अध्यक्षको रुपमा उठाउने निर्णय गरेको छ । राईले ३१८१ मत ल्याउँदा काँग्रेसका डिकेन्द्र इधिङ्गोले ३७५९ मत प्राप्त गरेर अध्यक्ष निर्वाचित भएका थिए । एमालेले रोङ गाउँपालिकाको अध्यक्षमा मेहरमान तामाङ र उपाध्यक्षमा विष्णुमाया खवासलाई सिफारिस गरेको छ ।

खवास गत स्थानीय तहको निर्वाचनमा समेत उपाध्यक्षको उम्मेदवार बन्दै पराजित बनेकी थिइन् । खवासले ३ हजार ६ सय ६७ मत ल्याउँदा बिजयी बनेकी नेपाली कांग्रेसकी चन्द्रकला राईले ४१०२ मत पाएकी थिइन् । गत स्थानीय तहमा नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार बनेका वृहस्पती खतिवडाले नेकपा एकिकृत समाजवादी रोजेपछि मेहरमानलाई यस पटक एमालेले उम्मेदवार सिफारिस गरेको हो ।

नेकपा एमालेका सचिव उमेश गुरुङले कार्यकर्ताहरुको चाहना अनुसार सिफारिस गरिएको बताए । ‘ टोल र वडा कमिटीबाट सिफारिस भएर आएका आधारमा नै प्रदेशमा सिफारिस गरिएको हो । ’ उनले भने ‘ अन्य ६ वटा पालिकाको पनि उम्मेदवार टुङ्गिएको छ । केही दिन भित्रै सवै पालिका र वडाका उम्मेदवारहरुको नाम सार्वजनिक गरिनेछ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार