Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

बालमैत्री स्थानीय शासनयुक्त पालिका कार्यान्वयनमा चुलाचुली

बालमैत्री स्थानीय शासनयुक्त पालिका कार्यान्वयनमा चुलाचुली

  • अनिल लावती
  • शुक्रबार, चैत्र १८ २०७८


बालमैत्री स्थानीय शासनयुक्त पालिका कार्यान्वयनमा चुलाचुली

चुलाचुली । इलामको चुलाचुली गाउँपालिकाले बालमैत्री स्थानीय शासनयुक्त पालिका बनाउने कार्य अघि बढाएको छ । बालमैत्री स्थानीय शासन अवलम्बन गरी बालअधिकारको क्षेत्रमा सक्रिय रुपमा काम गरिरहेको गाउँपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ को कार्यान्वयनलाई तिव्र रुपमा अघि बढाएको हो ।

५१ वटा सूचकको अभ्यास गरेर बालमैत्री घोषणाको लागि अघि बढेको महिला तथा बालबालिका शाखा प्रमुख रिता पोखरेलले जानकारी दिइन् । वडा तथा पालिकास्तरीय विभिन्न अभिमुखीकरण, वृहत वडा भेला, कार्यपालिकाको बैठकद्धारा नीति, रणनीति, आचारसंहिता, कार्ययोजना तर्जुमा, बिभिन्न समितिहरुको गठन, सरोकारवालाहरुको प्रतिवद्धता, न्युनतम सूचकको निर्धारण र कार्यान्वयनका तहगत खुडकिलाहरुका सफलता प्राप्त गरेको जनाइएको छ ।

बालमैत्री पालिका घोषणाले बालबालिकाको सर्वोत्तम हित, सर्वाङ्गीर्ण विकास, अर्थपूर्ण बालसहभागितालाई पालिकाको नीति, योजना, संरचना, प्रणाली, कार्यप्रक्रिया र व्यवहारमा संस्थागत गराउने गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले बताए । पालिकालाई बालमैत्री घोषणा गराउनका लागि लागु औषधमुक्त बनाउनुपर्ने आवश्यकता महसुस गरेर वडा नं १ को शहिद माङ्तोक टोल विकास संस्थाले बालमैत्री स्थानीय शासन तथा लागुऔषध विरुद्ध सचेतना कार्यक्रमलाई अघि बढाएको छ ।

माङ्तोक टोल विकास संस्थाले घरघरमा गएर बालबालिकाको अधिकार र समान सहभागिताको बारेमा जानकारी गराइरहेको संस्थाका अध्यक्ष सन्तोष थाम्सुहाङले जानकारी दिए । बालमैत्री स्थानीय शासन सरोकारवालाहरुको पालिका स्तरिय सञ्जालको अध्यक्ष समेत रहेका थाम्सुहाङले अन्य वडा र टोल विकास संस्थाहरुमा समेत सचेतनाको कार्यक्रमहरुलाई अघि बढाउँदै चाडै बालमैत्री पालिका बनाउन लागि परेको बताए ।

पछिल्लो समय लागु औषधमा फस्नेहरुको संख्या बढ्दै गएकाले त्यसलाई नियन्त्रणका लागि कार्यक्रम बनाएर अघि बढेको उनले बताए । लागु औषधमुक्त हुँदा बालमैत्री स्थानीय शासन कार्यान्वय चाडै हुने बताए । बालमैत्री पालिका बनाउनका लागि अभिभावक र बालबालिकाहरुको सहभागितामा वडा नं १ को जनता माध्यमिक विद्यालय कमलमा कार्यक्रम गरिएको थियो ।

गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यतामा गरिएको सचेतना कार्यक्रमका विशेष अतिथि वडाध्यक्ष पुर्णकुमार लावती, वडा स्तरिय बालसञ्जालकी अध्यक्ष खानुमा राई, कोपिला बालसञ्जालकी अध्यक्ष नुमेन थाम्सुहाङ, जनता माविको समावेशी बालक्लब अध्यक्ष मौलिका जवेगु, हाम्रो अमर बालक्लबका निश्चल राईले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा ६ बर्षिया विहानी आङ्दाम्बेले आफुले बुझेको बालमैत्री स्थानीय शासनको बारेमा धारणा राखेकी थिइन् ।

जिवनको ४ दशक लागुऔषध र कुलतमा फसेर मुक्त भएका दार्जिलिङका प्रिमियस भुटियाले सहभागिहरुलाई कुलतबाट मुक्त हुनका लागि उत्प्रेरणायुक्त भनाई राखेका थिए । सामाजिक सञ्जालको सहि सदुपयोगको उद्धेश्यका साथ बाल सञ्जाल स्तयिर टिकटक प्रतियोगिता समेत राखिएको थियो । प्रतियोगितामा केर्खा पब्लिक बोर्डिङ स्कुल प्रथम, इमोर्टल एकाडेमी दोश्रो र जनताम मावि तेश्रो बनेको थियो । उनीहरुले जनही ३ हजार, २ हजार ५ सय र २ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

कार्यक्रमको अवसरमा ८४ बर्षिय महेश्वरी पोख्रेल, ९१ बर्षिय नरेस चेम्जोङलाई, दोसल्ला, लाठ्ठी र सम्मानपत्रद्धारा सम्मानित गरिएको थियो । बिवस बलिभद्र कोईराला र विष्णु सुवारले कार्यक्रम संचालन गरेका थिए । माङ्तोक टोल विकास संस्थाको आयोजना र जनता माविको सहआयोजनामा भएको कार्यक्रममा महिला विकास अधिकृत रिता पोखरेलले बालमैत्री स्थानीय शासनको बारेमा चुलाचुलीबासीहरुलाई जानकारी गराएकी थिइन् । कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

स्थानीय सरकार सञ्चाल ऐनले समेत बालबालिका हित सम्बन्धी संवैधानि व्यवस्था अनुसार स्थानीय तहलाई जिम्मेवारी दिएको छ । ऐनले बाल शिक्षा तथा विद्यालय शिक्षा र अनौपचारिक शिक्षा सम्बन्धी नीति, कानुन, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमनको जिम्मा नगर र गाउँपालिकालाई तोकेको छ । ऐनको दफा १२ को उपदफा (२) खण्ड (१) को (ग) ले बालमैत्री स्थानीय शासन प्रर्वद्धन गरी बालमैत्री वडा घोषणा गर्ने जिम्मेवारी वडालाई दिएको छ ।

बाल अधिकार क्षेत्रभित्रका बिषयमा स्थानीय स्तरको विकासका लागि आवधिक, बार्षिक, रणनीतिगत बिषय, क्षेत्रगत, मध्यकालीन तथा दिर्घकालिन विकास योजना बनाउँदा बाल सहभागितालाई अनिवार्य मानेको छ । केही वडा र विद्यालयहरु बालमैत्री भइसकेकाले चाडै नै बालमैत्री स्थानीय शासन युक्त पालिका घोषणा गर्ने गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार