Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

बाल अस्पताललाई सूर्योदय नगरपालिकाको दश लाख सहयोग

बाल अस्पताललाई सूर्योदय नगरपालिकाको दश लाख सहयोग

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन २३ २०७८


बाल अस्पताललाई सूर्योदय नगरपालिकाको दश लाख सहयोग

विराटनगर । मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले प्रदेश १ मा विशिष्टकृत बाल अस्पताल स्थापना गर्न संचालन गरेको अभियानलाई इलामको सूर्योदय नगरपालिकाले आर्थिक सहयोग गरेको छ । सोमबार सूर्योदय नगरपालिकाले अस्पताल संचालन गर्न गैरनाफामुलक रुपमा संचालनमा आउने अस्पतालको लागि दश लाख रुपैयाँ सहयोग गरेको हो ।

आफ्ना स्थानीय तहभित्रका गरिब तथा विपन्न परिवारका बालबालिकाको स्वास्थ्य उपचार प्रदान गर्न राहत दिने उद्देश्यले काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थसँग सोमबार सहयोग सम्बन्धी सम्झौता गरिएको हो । गैरनाफामुलक काठमाण्डौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थको अध्यक्ष प्रा डा भगवान कोइराला र सुर्योदयका मेयर रणबहादुर राईबीच प्रदेश नम्बर १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री राजेन्द्र राईको उपस्थितिमा सम्झौता भएको छ ।

काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थले प्रदेश १ का बालबालिको स्वास्थ्य उपचारमा विशिष्टकृत सेवा प्रदान गर्ने उद्देश्यले झापाको दमक–७ मा रहेको नेपाल रेडक्रस सोसाइटीको भवनमा बाल अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ । डा कोइरालाले आगामी तीन महिनाभित्रमा सेवा शुरु गर्ने लक्ष्यसाथ काम अघि बढाइएको जानकारी दिएका छन् ।

५० शैयाको अस्पतालले सूर्योदय नगरपालिकाभित्रका अति विपन्न तथा गरिब परिवारका बालबालिकालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेछ । रेडक्रससंग ३० वर्षको लागि निःशुल्क भवन प्रयोग गर्ने गरी सम्झौता भईसकेको बताइएको छ । मुख्यमन्त्री राईले स्थानीय तह र प्रदेश सरकार कमजोर रहेको बेला गैरनाफामुलक तथा निजी क्षेत्रको योगदानले नागरिकको सुरक्षामा ठूलो टेवा पुग्ने बताए ।

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले गरिब तथा विपन्न परिवारका नागरिकले आफ्ना बालबालिका बिरामी परेर काठमाडौं पुग्नुपर्ने बाध्यताका कारण ठूलो समस्या भोग्दै आएको सुनाए । गैर नाफामुलक अस्पताल सञ्चालन गर्न काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले निजी क्षेत्रसँग समेत सहकार्य र सहयोग गर्दै जाने प्रा डा कोइरालाले बताए ।

अस्पताललाीई नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले एघार लाख रुपैयाँ व्यक्तिगत सहयोग उपलब्ध गराएका थिए । करुणा फाउन्डेसनका कार्यकारी निर्देशक दीपकराज सापकोटाले बालबालिकाको स्वास्थ्य जटिलतालाई बुझेर उपचार गराउने विशिष्टकृत अस्पताल अभाव हुँदा धेरैलाई समस्या हुने गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार