सन्दकपुर । नेकपा माओवादी केन्द्र सन्दकपुर गाउँपालिकामा संगठन सुदृढिकरण कार्यक्रम अघि बढाइएको छ । माओवादीले स्थानीय तहको निर्वाचन नजिकिएसंगै वडा र टोल कमिटीलाई बलियो बनाउने कार्यक्रमहरु अघि बढाउने भएको हो ।
आज बसेको गाउँपालिका कमिटीको बैठकले पालिकाको ५ वटै वडामा टोल कमिटीको कामहरु अघि बढाउने निर्णय गरेको छ । त्यसैगरी वडा नं ३ को सचिव सिपी गड्तौला प्रथम सम्मेलनबाट पालिका सचिवमा पद्धोन्नती भएकाले रिक्त रहेको स्थानमा किरण राईलाई जिम्मेवारी दिइएको छ ।
वडा नं ४ मा उमेश राईलाई जिम्मेवारी दिएको जनाइएको छ । वडा नं ४ को टोल कमिटीको जिम्मेवारी सुदिप राईलाई तोकिएको छ । त्यसैगरी माओवादी केन्द्रबाट निर्वाचित भएका वडाध्यक्ष नन्द कुमार राई र वडा सदस्य रहर राई पार्टी छाडेर औपचारिक रुपमा एमाले प्रवेश गरेकाले साधारण सदस्य समेत नरहने गरी कारवाही समेत गरिएको छ ।
पालिका अध्यक्ष फुर्वाछिरिङ तामाङको अध्यक्षतामा भएको बैठकमा वडा कमिटीका अध्यक्ष लगायत सदस्यहरुको सहभागिता रहेको थियो ।