फिक्कल । इलामको सूर्योदय नगरपालिका–२ को देउराली–बाघबीरे–महादेवथान जाने सडक मिचेर निर्माण भएको मन्दिर भत्काइएको छ । उच्च अदालत इलाम इजसालको आदेशपछि आज बाटो मिचेर स्थानीय तारा पाण्डेले निर्माण गरेको मन्दिरको केही भाग भत्काइएको हो ।
पाण्डेले आफनो घर संगै जोडिएको उक्त सडकको क्षेत्राधिकार मिचेर मन्दिर निर्माण गरेको भन्दै उच्च अदालत बिराटनगर इलाम इजालसले गत मंसिर २० गते उक्त मन्दिरको संरचना भत्काउन आदेश दिएको थियो । ब्यक्तिगत रुपमा प्रयोग गरिदै आएको उक्त मन्दिर भत्काउन पुगेका विहान पुगको प्रहरी र मन्दिर निर्माण गर्ने पाण्डे परिवार बिच घम्साघम्सी नै भएको थियो । पाण्डे गुरु नामले परिचित तारा पाण्डे र उनको परिवारले प्रहरीमाथी ढुंगा प्रहार गरेका थिए ।

ढुंगा प्रहारबाट एक जना प्रहरीको टाउकोमा चोट लागेको छ । त्यस्तै अन्य प्रहरी र नगर प्रहरी माथी ढुंगा प्रहार गर्दै भौतिक आक्रमण गरिएको थियो । केहि नगर प्रहरीलाई समेत सामान्य चोट लागेको छ । शसस्त्र प्रहरी बल (बीओपी) पशुपतिनगरका प्रहरी निरीक्षक डिगेन्द्र ओलीको कमाण्डमा गएको टोली, इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोली र नगर प्रहरीले डोजर लगाएर उक्त मन्दिर भत्काएका थिए ।
प्रहरीले भौतिक आक्रमण गर्ने पाण्डे परिवारका ४ जनालई नियन्त्रणमा लिएको छ । स्थानीय पदमकला थापाले उक्त मन्दिर निर्माणका कारण नाली निर्माण नहुँदा आफनो घर जोखिममा परेको भन्दै मुद्धा दायर गरेकी थिइन् । अदालतले इन्जिनियर सन्दिप पौडेलको २०७५ साउन ७ गतेको स्थलगत प्रतिवेदनका आधारमा उक्त मन्दिर निर्माणले थापाको घर पहिरोको जोखिममा रहेको भन्दै न्यायधीस प्रेमराज कार्की र बिष्णुप्रसाद कोराईरालाको संयुक्त इजालसले मन्दिर भत्काउन उत्पेषणयुक्त परमादेश जारी गरेको थियो ।

उक्त आदेशमा पाण्डे सहित , सूर्योदय नगरपालिका, वडा नम्बर २ कार्यालय, मामा भान्जा निर्माण सेवाका ठेकेदारलाई समेत बिपक्षी बनाइएको छ । सूर्योदय नगरपालिकाले समेत मन्दिर सार्न पटक पटक आग्रह गर्दा अटेरी गरेको पाइएको छ । स्थानीयले समेत सडकमा मन्दिर निर्माण भएकाले सडक बिस्तारमा समस्या हुँदै आएको बताएका छन् ।
पाण्डे परिवारले भने मन्दिर भत्काउने कार्य रोक्न माग गर्दै यस अघि नै सर्बोच्च अदालतमा रिट निवेदन दर्ता गराएको जानकारी दिएको छ । तर, सर्वोच्चबाट कुनै आदेश भने भएको थिएन ।