इलाम : इलामको रोङ गाउँपालिका २ बरफल्याङबाट झापाको बिर्तामोड झर्नलाई ग्राभेल सडक बन्ने क्रम निरन्तर छ । यो गाउँबाट मोटरसाइकलमा व्यापारिक केन्द्र बिर्तामोड पुग्न आधा घण्टा पनि लाग्दैन । तर झापाको अर्जुनधारा नगरपालिकाको सीमा नजिक रहेको दुधे खोलाका कारण यो सुविधा हिउँदयाममा मात्र हुन्छ । बर्खा लाग्नासाथ खोला बढेर ठूला सवारीसाधन सञ्चालन हुन सक्दैनन् ।
स्थानीय तह र सामुदायिक वनका लगानीमा करिब ४० मिटर लामो काठे पुल बनाएर मोटरसाइकल र अटोसम्म चल्ने व्यवस्था ४ वर्षअघि गरियो । तर अहिले पुल जीर्ण भएको छ । ‘अब यो बर्खामा समस्या हुने निश्चित छ,’ रोङ २ का वडा सदस्य चन्द्रशेखर घिमिरेले भने, ‘ठूला सवारीसाधन नचले पनि आपत्कालमा यसैबाट निर्बार्ह हुन्थ्यो ।’
पछिल्लो समय स्थानीय तहमा अधिकार र बजेट बढेपछि सडक र पुलमा लगानी थपिएको छ । तर ससाना काम स्थानीय तहमार्फत भए पनि ठूला योजना प्रदेश र केन्द्र सरकारसँगै भर पर्नुको विकल्प नहुँदा आवश्यक भएर पनि यस क्षेत्रमा त्यस्ता संरचना बन्न नसकेका हुन् । ‘यो क्षेत्रको मुख्य समस्या नै पुल हो,’ वडाध्यक्ष टेकबहादुर तामाङले भने, ‘केही स्थानमा पालिकाकै लगानीमा छोटा पक्की पुल बनेका छन् तर लामो पुल बनाउन सम्भव नभएकाले समस्या छ ।’
दुधे खोलाको २ स्थानमा पक्की पुल बनेका छन् । यो क्षेत्रको गोयाङ खोलाको २ स्थानमा पक्की पुलको आवश्यकता रहेको स्थानीय बताउँछन् । झटारेको नेते खेला र टाङटिङ खोलमा पनि पक्की पुलको आवश्यकता छ । ‘सबै स्थानमा पुल निर्माणका लागि प्रदेश र केन्द्र सरकारसँग गरिएको छ,’ वडाध्यक्ष तामाङले भने, ‘यस क्षेत्रका सडक स्तरोन्नतिका क्रममा रहेकाले पुल बन्न सके हिउँद बर्खा नै सवारीका साधन सञ्चालन हुने थिए ।’
इलामको तीनघरबाट तराई जोड्ने सडकको स्तरोन्नति भएर हिउँदयाममा सहज यात्रा गर्न सकिन्छ । तर बर्खायाममा खोलाकै कारण यो सडक सञ्चालन हुन सक्दैन । रोङगाउँपालिका २ को बदामटार, बरफल्याङ, साधुटारलगायतको क्षेत्र अन्नबाली, सागसब्जी, फलफूललगायत उत्पादनमा जिल्लामै अग्रणी छ ।
तर बर्खायाममा यातायातका साधन चल्न कठिन हुँदा त्यति बेला उत्पादन हुने सामग्रीसमेत बजार पुर्याउन कठिन हुने बदामटारका गोपीकृष्ण न्यौपानेले बताए । खोलानालाकै कारण बिरामी भएको अवस्थामा उपचारमा जान पनि समस्या हुने गरेको छ ।