Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

विमानस्थल उद्धघाटन गर्न इलाम आउँदै पुर्व प्रधानमन्त्री खनाल

विमानस्थल उद्धघाटन गर्न इलाम आउँदै पुर्व प्रधानमन्त्री खनाल

  • सन्देश सम्वाददाता
  • आइतबार, फाल्गुन १ २०७८


विमानस्थल उद्धघाटन गर्न इलाम आउँदै पुर्व प्रधानमन्त्री खनाल

फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको उद्धघाटन गर्न पुर्व प्रधानमन्त्री झलनाथ खनाल आज गृह जिल्ला इलाम आउने भएका छन् । गत असारमा दिल्लीमा मिर्गौलाको उपचारपछि खनाल पहिलो पटक जिल्ला आउन लागेका हुन् । इलाम नगरपालिका–९ मा निर्मित विमानस्थल उद्धघाटनका लागि ९ बजे पुर्व प्रधानमन्त्री खनाल सहित संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी इलाम आउने खनालका स्वकिय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

विमानस्थलमा बुधवार नेपाल एयरलान्यले सफल परिक्षण उडान गरेपछि खनाल उद्धघाटनका लागि इलाम आउन लागेका हुन् । यस अघि तारा एयरको बिमानले कच्ची धावनमार्गमा गत २०७५ सालको जेठमा पहिलो पटक सफल परिक्षण गरेको थियो । ७ सय मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग सहितको विमानस्थलको शिलान्यास २०६८ सालमा गरिएको थियो ।

विमानस्थलबाट आउँदो फागुन ८ देखि इलाम–काठमाडौं नियमित उडान–अवतरण गरिँदैछ । इलाम नगरपालिकाले १२ उडानका लागि आर्थिकलगायत सबैजसो दायित्व बहनगरी विमानस्थल सञ्चालन गर्न लागेको हो । नगरपालिकाले तारा एयर प्रालिसँग उडानका लागि सम्झौता गरेको नगर प्रमुख महेश बस्नेतले जानकारी दिए ।

अब ३ महिना प्रत्येक आइतबार इलाम–काठमाडौं उडान–अवतरण हुने जनाइएको छ । तारा एयरको १६ यात्रुु क्षमताको जहाज यहाँबाट चल्नेछ । इलाम–काठमाडौं एकतर्फी भाडा ८ हजार ७ सय रुपैयाँ तोकिएको छ । सम्झौताअनुसार यात्रु भएकामा बाहेक ११÷११ जनाको आते–जाते भाडा इलाम नगरले नै तिर्नेछ ।

गत चैत अन्तिम साता नै विमानस्थल उडान–अवतरणका लागि तयार भएपनि उडान–अवतरण सुरु गर्नेबेला कोरोनाको महामारी रहेकाले एक वर्षपछि सुरु हुन लागेको हो । विमानस्थल निर्माणमा स्थानीयस्तरको करिब ४ करोड रुपैयाँ लगानी गरिएको नगरले जनाएको छ । विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब २८ करोड रुपैयाँ खर्च भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

समुद्र सतहबाट १ हजार १ सय ५० मिटर उचाइमा रहेको उक्त स्थानमा प्रायः घाम लागिरहने भएकोले विमानस्थलका लागि उपयुक्त भएको बताइएको छ । यो बिमानस्थलले पूर्वी पहाडी जिल्ला र सीमापारी भारतको दार्जिलिङ, सिक्किम लगायतका बासिन्दाका लागि सहज हुने ठानिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार