फिक्कल । माईजोगमाई गाउँपालिकामा ऐतिहासिक र धार्मिक हिसाबले महत्वपूर्ण मानिएका क्षेत्रहरु आन्तरिक पर्यटकहरुको घुमफिरको केन्द्र छन् । इलामको माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको सिमानामा रहेको माईवेनी मेलामा भक्तजनहरुको घुइचो लागेको छ ।
कोभिड संक्रमणका कारण मेला आयोजना नभएपनि फाट्फुट्ट पसलहरुले भने माईवेनी दोभान सजिएको छ । मेला आयोजना नभएपनि भक्तजनहरु स्वस्फुर्त रुपमा आएको माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राईले बताए ।
माईजोगमाई र इलामको संगमस्थल माईवेनी क्षेत्रमा नेपाल, भारत र भुटानसम्मका नागरिक मकर नुहाउन आउने गरेका थिए । राणा शासनकालमा तत्कालिन बडाहाकिम गजराजसिंह थापाले सुरु गरेको माइवेनी मेलामा सबै जातजाति र उमेर समूहकाहरुको भीड लाग्ने गर्छ ।
मकर संक्रान्तिको अवसरमा एक सातासम्म लाग्ने मेलामा मकर नुहाउने, पूजाआजा गर्ने, बली चढाउने, परेवा उडाउने, ब्यापार गर्ने र रमाइलो गर्न जानेको भीड हुने गरेको थियो । तर कोभिड संक्रमणका कारण मेला आयोजना हुन सकेन ।
माईवेनी क्षेत्रमा प्रदेश सरकारको लगानीमा पुर्वाधारहरु निर्माण भएको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भाग्वत रेग्मीले बताए । माइखोलालाई शक्तिकी देवीको रुपमा पुजाआजा गर्ने चलन समेत रहेकाले प्रदेश एकका विभिन्न भाग र भारतको दार्जिलिङ, सिक्किमबाट समेत भक्तजन मेला भर्ने अनि मकर नुहाउन माइवेनी जाने गर्छन् ।
इलामको सन्दकपुर मुहान रहेको माइखोला अरु खोलाहरुसंगै झापा पुग्दा कन्काई नामले परिचित छ । यस अघि कन्काई किनारमा पनि मकर सक्रान्ति अवसरमा भव्य मेला लाग्ने गरेको थियो । झापाको कनकाई नदी किनारमा माई मेला स्वतःस्फूर्त लाग्ने गरेको छ।
धार्मिक आस्था र विश्वास राख्ने भक्तजनहरू कोरोनाको कुनै डर प्रवाह नराखी मेलामा जम्मा भएका छन्।
तस्विर : सुजन तिमसिना, रोशन काफ्ले र डम्बर निरौला













