Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

एन्फा बैठकमा कुरा राख्न समय मिलाइदिनुस् : गणेश थापा

एन्फा बैठकमा कुरा राख्न समय मिलाइदिनुस् : गणेश थापा

  • सन्देश सम्वाददाता
  • बुधबार, पौस २१ २०७८


एन्फा बैठकमा कुरा राख्न समय मिलाइदिनुस् : गणेश थापा

इलाम : अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष गणेश थापाले एन्फाको कार्यकारिणी समितिको बैठकमा आफूले पनि धारणा राख्न पाउनुपर्ने माग गरेका छन्। आगामी पुस २२ गते हुने बैठकमा आफ्ना कुरा राख्न समय मिलाइदिन एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग माग गरेका हुन्।

फिफाबाट प्रतिबन्धमा परेका पूर्वअध्यक्ष थापाले आफूले एन्फालाई लेखेको पत्र पनि सार्वजनिक गरेका छन्। उनले एउटा खेलाडी, राष्ट्रिय टोलीको कप्तान र एन्फा अध्यक्षको रुपमा रहेर लामो समय नेपाली फुटबलमा सेवा गरेको विदितै रहेको उल्लेख गर्दै अहिलेको नेतृत्वले आफूमाथि लगाएका आरोप निराधार रहेको दाबी पनि गरेका छन्।

थापाले कर्माछिरिङ शेर्पालाई सम्बोधन गर्दै पत्रमा लेखेका छन्, ‘तपाईंले लगाएका आरोपहरूमाथि संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोग र फिफाले विशेष टोली पठाएर अखिल नेपाल फुटबल संघमाथि गरेको छानबिनपश्चात सफाई दिएको विषय संघ र यसका पदाधिकारीलाई जानकारी भएकै हो।’

उनले पत्रमा शेर्पाले नै निवर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको संघको कार्यकारिणी समितिको बैठकमा संवैधानिक आयोगको निर्णय स्वीकार्दै विगतमा आफूमाथि लगाइएका सबै आरोपप्रति आत्मालोचना गरेको दाबी पनि गरेका छन्।

थापाले पत्रमा लेखेका छन्, ‘जसलाई मैले सहजताका साथ लिएको थिएँ। तर तपाईंले तत्कालै ‘मैले बोलेको होइन’ भन्दै संघको जिम्मेवार कार्यकारिणी समितिको औपचारिक बैठकमा बोलेका कुरा फिर्ता लिनुभयो।’ ७ वर्षदेखि एन्फाले लगाएका निराधार आरोपले एउटा खेलाडी र व्यवस्थापकका रुपमा इमान्दारीपूर्वक गरेका काममाथि भ्रम सिर्जना भएको र यसबाट आफ्नो र परिवारमा अत्यन्तै गहिरो गरी मानसिक आघात पुगेको पनि थापाले पत्रमा उल्लेख गरेका छन्।

एन्फा अध्यक्ष शेर्पातर्फ लक्षित गर्दै थापाले लेखेका छन्, ‘मलाई फिफाबाट गरिएको कारबाही तपाईंका आरोपका आधारमा नभई एसियाली फुटबल महासंघका तत्कालीन अध्यक्ष मोहम्मद बिन हमामले गरेको पारिवारिक सहयोगको विषयमा कन्फ्लिक्ट अफ इन्टरेस्ट शीर्षकमा भएको हो। मैले अहिले राख्न खोजेको विषय फिफासँग सम्बन्धित नभई तपाईंले ममाथि लगाउनुभएका निराधार आरोपहरूको विषयमा मात्रै हो।’ आरोप प्रमाणित भए जुनसुकै सजाय भोग्न समेत आफू तयार रहेको उनले पत्रमा लेखेका छन्।

थापाले एन्फाको धारा ८ र फिफाको कोड अफ इथिक्सको आर्टिकल ५८ अनुसार निर्दोष व्यक्तिलाई बिना कारण आरोप लगाउनेले सजायको भागीदार बन्नुपर्ने समेत उल्लेख गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार