कुटिडाँडा । आन्तरिक पर्यटकको आवतजावत बढेपछि झापाको बाहुनडाँगीबाट इलामको प्रशिद्ध धार्मिस्थल पाथिभरा हाँसपोखरी जोड्ने पदमार्ग निर्माण भएको छ । २९ किलोमिटर लामो पदमार्ग निर्माण भएपछि इलामको रोङ गाउँपालिका ३ र ५ मा पर्यापर्यटनको माध्यमबाट जनताको आयस्तरमा वृद्धिमा टेवा पु¥याउने लक्ष्य लिइएको छ ।
प्राचिन शासक लेप्चा जातीको बसोबास रहेको इलामको रोङ गाउँपालिका क्षेत्रका पर्यटकीयस्थको प्रवद्र्धन गर्न पदमार्ग निर्माण गरिएको हो । लेप्चा जातिको भाषामै पदमार्गको नाम राखिएको छ । पदमार्गको नाम करसोङ् पदमार्ग रहेको पालिका अध्यक्ष शमसेर राईले बताए । इलाम–झापाको सीमावर्ती क्षेत्र बाहुनडाँगीबाट रोङ गाउँपालिका–३ को प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जोड्ने पदमार्ग निर्माण गरिएको हो ।
रोङ गाउँपालिकाको महत्वकांक्षी योजनाका रुपमा थालनी भएको पदमार्गलाई कार्यपालिकाको बैठकबाट करसोङ् मार्ग नामाकरण गरिएको थियो । तराईको गर्मी छल्दै पैदल यात्राबाट नेपाल र भारतका सीमावर्ती क्षेत्र मेची नदी, भारतीय सहर अवलोकन र नेपाल भित्रका प्राकृतिक सुन्दरतामा रमाउँदै पदमार्गबाट धार्मिकस्थल पाथीभरा क्षेत्रको हाँसपोखरी पुगिनेछ ।
लेप्चा भाषामा करसोङ्को अर्थ बहुमल्य फुल सुनाखरी बुझिन्छ । डाँडैडाँडा यात्रा गर्न सकिने २९ किलोमिटर लामो पदमार्गको अहिले १६ किलोमिटर निर्माण सम्पन्न भइसकेको रोङ गाउँपालिका प्रवक्ता मणिकुमार स्याङ्बोले बताए । संघीय सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमको १५ लाख, प्रदेश सरकारको १५ लाख र रोङ गाउँपालिकाको १५ लाख गरि ४५ लाखमा पदमार्गको पहिलो खण्ड निर्माण सकिएको छ ।
मेची नगरपालिकाको निन्दा सिरानबाट मेची नदी हुँदै रोङ गाउँपालिका–५ बाट रोङ–३ को हाँसपोखरीसम्म जोडिने पदमार्गको डिपिआर गरि काम थालिएको थियो ।
करसोङ (सुनाखरी) पदमार्ग रोङ–३ बाट रोङ–५, रोङ–६ हुँदै मेची नदी र निन्दा सिरान मेची नगरपालिकासम्म पुग्न सकिनेछ । २९ कि.मी लामो पदमागको प्रथम चरणमा १६ किलोमिटर सकिएको हो ।
पदमार्गको यात्रा क्रममा हाँसपोखरी,चिन्डेपानी,गुगल डाँडा,देउराली डाँडा, दैले, लामा डाँडा, झण्डी डाँडा पर्यटकीय क्षेत्रको पुगिनेछ । त्यस्तै सत्तालसेन टाकुरा, गुरुधुम डाँडा, भिमसेन ढुङ्गा, मेची सिद्धि दोभान, इन्द्रेणी झरना, सलकपुर र चिसापानी पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिनेछ । गाउँपालिकाले यी क्षेत्रमा क्रमागत रुपमा पूर्वाधार विकास गर्दै लाने योजना बनाएको छ ।
पदयात्राको आकर्षण
पदयात्राबाट क्रममा पर्यटकहरुले प्राकृतिक सुन्दरतासँगै सुर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिनेछ । सुर्याेदय र सुर्यास्त झण्डीडाँडाबाट अवलोकन गर्न सकिन्छ । नेपाल भारत सीमा क्षेत्र नजिकै रहेको सलकपूरमा कृषि पर्यापर्यटनमा पर्यटक रमाउन सक्नेछन् । सलकपूरमा सिजनमा स्वादिलो सुन्तला र एभोकार्डो चाख्न पाउनेछन् । यहाँ केराबाट बनाइएको परिकार पनि चाख्न पाइनेछ ।
पदमार्ग यात्राका क्रममा वनस्पती विज्ञानको अवलोकनको अवसर समेत पाइनेछ । लोप हुन लागेका सुनाखरीको अवलोकनका लागि अहिले यो पदमार्गमा विद्यार्थीको आकर्षण बढेको छ । पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र कन्याम, सानी पाथीभरा क्षेत्रको अवलोकनका लागि पर्यटकले गर्न पाउनेछन् । प्राकृतिक सुन्दरतासँगै सेरेना जातको माहूरीको महको स्वादमा पनि रमाउन सकिनेछ ।
खान र बस्नका लागि घरबास
पदमार्गको यात्राका क्रममा पर्यटकलाई खान र बस्नका लागि होमस्टेको व्यवस्था गरिएको छ । पर्यटकको सेवाका लागि मझुवा, चिसापान, जौवारी, रम्भ्याङ, सलकपुर र पाटापुरमा होमस्टे संचालन रहेका छन् । जस्केलो सामुदायिक होमस्टे समूहमा अहिले १८ घरमा घरबास कार्यक्रम संचालन रहेको छ ।
अहिले यो समुहबाट २५ घरमा होमस्टे संचालनमा रहेका छन् । होमस्टे प्रवद्धनको काम कारितास नेपालको आर्थिक सहयोगमा हुँदै आएको गाउँपालिका प्रवक्ता मणिकुमार स्याङ्बोले बताए । कारितास नेपालसँगै पर्यटन कार्यालय झापा र रोङ गाउँपालिकाले समेत होमस्टे प्रवद्र्धन गर्दै गरेका छन् ।
पर्यटक तान्न प्रचारप्रसार
१६ किलोमिटर पदमार्ग निर्माण गरिएपछि इलाम र झापाका पत्रकारहरुलाई पदैलयात्रा गराई प्रचारप्रसारको काम गरिएको छ । झापाबाट नजिकै रहेको पदमार्गमा बढीभन्दा बढी आन्तरिक पर्यटक पदमार्ग मार्फत भ्रमण गराउन गाउँपालिकाले प्रचारात्मक कार्यक्रम गर्दै आएको छ ।
नेपाल र भारतका पर्यटक बढीमा मात्रा पुग्ने सलकपूरमा यसअघि सुन्तला महोत्सवको आयोजना गरिएको छ । स्थानीय परिकार मार्फत पर्यटक तान्न पुष १० र ११ मा फुड फेस्टीबल सम्पन्न भएको छ । पदयात्राको प्रचारका लागि २०७८ माघ महिनामा साइकिलिङ् रेसको आयोजना गर्ने र पदयात्राको औपचारिक उद्धाटन गर्ने योजना रहेको गाउँपालिका प्रवक्ता मणिकुमार स्याङ्बोले बताए ।
भारतीय पर्यटक घुमाउने योजना : पर्यटन कार्यालय
कोरोना महामारीपछि ग्रामीण पर्यटनमा आन्तरिक पर्यटकको आकर्षण बढेकाले करसोङ् पदमार्ग राम्रो गन्तव्य भएको पर्यटन कार्यालयका निरोज कट्टेलले बताए । ‘झापाबाट नजिक रहेको पदमार्ग र पर्यटकीयस्थलको भ्रमणका लागि भारतीय पर्यटकहरुलाई आकर्षण गर्ने काम गर्नेछ’ कट्टेलले भने–‘काँकरभिट्टाबाट छोटो दुरीमा र सस्तो मुल्यमा प्राकृतिक सुन्दरता, ग्रामिण रहनसहन, अर्गानिक खानपान र मनोरञ्जन लिन सकिने भएकाले यो पदमार्गको संभावना राम्रो छ ।’
सुन्तला पर्यटनबाट सलकपूरको प्रचार भारतमा अधिक भएकाले पर्यटन पूर्वाधार निर्माणका लागि पहल गर्ने उनले बताए । ‘अहिले हामी प्रवद्र्धन र प्रचारका काममा समुदायलाई सघाउँछौँ, कट्टेलले भने–‘खान र बस्नका लागि होमस्टेको प्रवद्र्धन गर्न हाम्रको पोहिलो काम हुनेछ ।’
सुनाखरी पदमार्गको प्रवद्र्धनका लागि पर्यटन कार्यालयले मन्त्रालय सँग पनि समन्वय गरिरहेको कार्यालयका राम आचार्यले बताए । भारतीय भुमि, हिमश्रङ्खलाको दृश्यावलोकन, सुर्योदय र सुर्यास्तसँगै प्राकृतिक सुन्दरतासँग रमाउन सकिने भएकाले सुनाखरी (अर्किड) पदमार्गको सफल हुने आचार्यले बताए ।







