इलाम । राई जातीको लुङ्खिम थरीले बाेल्ने भाषाको आधारभुत पाठ्यसामग्री इलाममा सार्वजनिक गरिएको छ । भाषा आयोग संखमुल काठमाडौँको आर्थिक सहयोगमा भाषाविज्ञ डा तारामणि राई नेतृत्वको अध्ययन टोलीले तयार पारेको आधारभुत पाठ्यसामग्री सार्वजनिक गरिएको हो ।
इलामको सूर्योदय नगरपालिका वडा नम्बर ११ मा लुङ्खिम कक्षा संचालन सम्बन्धि अभिमुखिकरण गोष्ठिको अवसरमा लोपउन्मुख अवस्थामा पुगेको राई जातीको लुङ्खिम बोलिचालीको भाषा पाठ्यक्रम सार्वजनिक गरिएको थियो । भाषा आयोगका उप सचिव गेहनाथ गौतम, भाषाशास्त्री डा तारामणि राई, सूर्योदय नगरपालिका ११ का अध्यक्ष टेक बहादूर राईले लिङ्खिम थरीले बोल्ने भाषाको आधारभुत पाठ्यसामग्री इलाममा सार्वजनिक गरेका थिए ।

तीन महिना समय खर्चिएर निर्माण गरिएको आधारभुत पाठ्यक्रमबाट इलामको सूर्योदय ११ आहालेमा बसोबास गर्ने लिङ्खिम थरीका स्थानीय बासिन्दालाई ४५ दिने भाषा कक्षा पनि प्रदान गरिने भएको छ । अध्ययनमा लिङ्खिम थरिको भाषा बोल्न र लेख्न जान्ने परिवार एक मात्रै रहेकाले पाठ्यक्रम सार्वजनीक गरेसँगै भाषा कक्षा संचालन शुरु भएको भाषा आयोगका उप सचिव गेहनाथ गौतमले बताए ।

भोजपूरको लिङ्खिममा पुख्र्यौली बसोबास रहेको राई जातीको इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकामा बसोबास रहेको छ । भाषा कक्षा संचालन सम्बन्धि अभिमुखिकरण गोष्ठिमा बोल्दै भाषाशास्त्रि तथा विज्ञ डा तारामणि राईले नेपालको राज्य पुनःसंरचनासँगै संविधानमै भाषाहरुको संरक्षणको गर्ने प्रतिवद्धतासँगै अहिले लोपउन्मुख अवस्थामा रहेका भाषा बोल्ने वक्ताको विकासमा भाषा आयोगको कामले प्रगति भएको बताए ।

नेपालमा बोलीचालीमा रहेका धेरै भाषाहरु लोपउन्मुख अवस्थामा रहेकाले संवैधानीक व्यवस्था अनुसार भाषा आयोग स्थापनाले आदिवासी जनजातिको भाषाहरु संरक्षण र लिपिवद्ध गर्ने काम गरेको उनले बताए । कार्यक्रममा भाषा आयोगका उप–सचिव गेहनाथ गौतमले नेपालमा लोप हुन लागेका भाषाहरुको पहिचान गरि प्रथम चरणमा आधारभुत पाठ्यक्रम निर्माणको काम भइरहेको बताए । कार्यक्रममा सूर्योदय नगरपालिका ११ का वडाध्यक्ष टेक बहादूर राईले देश संघीय संरचनाको गएपछि राज्यका निकायले नेपालमा बासोबास गर्ने जातिको भाषा र सस्कृति संरक्षणको काम गर्नुले सबै जातिको पहिचान समाजमा स्थापित हुने बताए ।

कार्यक्रममा लिङ्खिम राई समाजका अध्यक्ष जंगबहादूर लुङ्खिम राई लोप हुन लागेको आफ्नो भाषा संरक्षणको काम गर्ने भाषा आयोगको कामको प्रशंसा गरे । कार्यक्रममा किराँत राई यायोख्खाका पूर्व अध्यक्ष चित्रविर राईले सबै जाती र समुदायको भाषा र सस्कृति संरक्षणमा राज्यले लगानी गर्नुपर्ने बताए । कार्यक्रममा सूर्योदय नगरपालिका इलामकी कार्यपालीका सदस्य ललिता नेपाल, केराबारी आधारभुत विद्यालयका प्रधानाध्यापक किशोर राईको पनि आतिथ्यता रहेको थियो ।