Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाममा कांग्रेस : युवाको काँधमा नेतृत्व‚ अवसरसँगै चुनौती

इलाममा कांग्रेस : युवाको काँधमा नेतृत्व‚ अवसरसँगै चुनौती

  • नमीन ढकाल
  • बुधबार, मंसिर १५ २०७८


इलाममा कांग्रेस : युवाको काँधमा नेतृत्व‚ अवसरसँगै चुनौती

इलाम । पछिल्लो समय नेपाली कांग्रेसको नेतृत्वमा युवाहरुको सहभागिता बढ्न थालेको छ । १४ औ महाधिवेशनको वडा तह देखि केही जिल्लासम्मको निर्वाचन सम्पन्न भइसक्दा यसअघिका महाधिवेशनको तुलनामा युवाहरुको सहभागिता बढि देखिएको हो । १३ औ महाधिवेशन अघि नेपाली कांग्रेसमा जेठो पुस्ताको नेतृत्व हुने गर्दथ्यो ।

गाउँ विकास समिति तहका उम्मेदवारहरु एकाध बाहेक ५० बर्ष आसपासका हुन्थे । तर अहिले १४ औ महाधिवेनमा आइपुग्दा ट्रेन्ड परिर्वतन भएर युवा पुस्ताको सहभागिता अनिवार्य जस्तै देखिएको छ । पार्टीको जिल्ला तहसम्मका निर्वाचनमा चुनिएका उदीयमान युवा प्रतिनिधित्वले नयाँ आशा जगाएको नेपाली कांग्रेस इलामका निवर्तमान सभापति हिमालय कर्मचार्य बताउँछन् ।

‘तुलनात्मक रुपमा १४ औ महाधिवेशनमा युवाहरुको सक्रियता बढ्दो देखिन्छ । पार्टीको नेतृत्वमा युवाहरुको आकांक्ष देखिनु कांग्रेसको लागि फाइदाजनक नै छ । क्रियाशिल सदस्यलाई हेर्दा पनि युवाहरुको कांग्रेसमा आर्कषण राम्रो छ ।’ उनले भने ‘ तर चुनौती पनि छ कम अनुभवका कारण पार्टीलाई गतिशिल बनाउनका लागि केही नयाँ भिजन चाहि चाहिन्छ । पुराना र नयाँको सहकार्यबाट कांग्रेसले बलियो पार्टी बन्छ भन्ने विश्वास छ ।’

१३ औ महाधिवेशनबाट निर्वाचित सभापति कर्मचार्यले सभापतिमा उम्मेदवारी दिएनन् । उनीसंगै राज्यमन्त्री समेत भइसकेको पुर्व सभापति केशव थापाले समेत उम्मेदवारी दिएनन् । यस पटक उनीहरुको समर्थन युवा पुस्ताका डम्बर खड्कालाई थियो । इलाम कांग्रेस नेतृत्वमा डम्बर खड्का र भेषराज आचार्य बिच प्रतिस्पर्धा बन्यो ।

१३ औ महाधिवेशनमा समेत सभापतिको उम्मेदवार रहेका खड्का पहिलो चरणको निर्वाचनबाट पराजित भएका थिए । त्यसअघि उनी जिल्ला कोषाध्यक्ष रहेका थिए । तर ५ बर्षपछि १४ औ महाधिवेशनमा निवर्तमान सभापति हिमालय कर्मचार्य र पुर्व सभापति केशव थापाको सर्मथनमा उनी सभापति बने ।

नेतृत्व चयन हुने वित्तिकै खड्काले १ करोडको लागतमा नेपाली कांग्रेसको पार्टी कार्यालय बनाउने उदघोष गरेका छन् । जसले कांग्रेसको राजनितिमा युवा पुस्ताको आर्कषणलाई समेत बढावा दिन सक्ने देखिन्छ । खड्का निर्वाचन ताका नै पार्टी कार्यालय निर्माण, भातृ एवम शुभेच्छुक संस्थाको अधिवेशन समयमा नै गराउने लगायतका एजेन्डा लिएर मैदानमा होमिएका थिए ।

हालसम्म जिल्ला तहकै नेतृत्व हेर्दा युवापुस्ताको हस्तक्षेप बढ्दो देखिएको छ । रोचक त के भने, भर्खरै विद्यार्थी राजनीतिमा पाइला टेक्दै गरेको पुस्ताहरु नेतृत्वमा आउँदा कांग्रेसका हस्ती भनिएकाहरू भने पराजित भइरहेका छन् ।
काठमाडौंको शंकरदेव क्याम्पस नेविसंघ इकाई सभापति हुँदै पार्टी राजनीतिमा आएका ३२ वर्षीय निश्कल राईले आफ्नो बाबु समानका उम्मेदवारलाई दोब्बर मतान्तरले पराजित गर्दै प्रदेशसभा इलाम क्षेत्र नं १ (ख) मा सभापति जिते । उनले १६१ मत पाउँदा निकटतम प्रतिद्धन्द्धी श्यामबहादुर कार्कीले ८३ मत मात्रै पाएका थिए ।

निश्कलसंगै युवा पुस्ताका शुभक श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । निश्कल यसअघि इलाम क्षेत्र नं. १ क्षेत्रीय समितिका सहसचिव थिए । विद्याथी राजनिति पृष्ठभुमीबाट आएका जिल्ला सहसचिव देवेन्द्र सुवेदी समेत ३५ बर्ष हाराहारीका छन् । उनी गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट सन्दकपुर गाउँपालिका अध्यक्षमा समेत प्रतिस्पर्धा गरेका थिए ।

नेपाल विद्यार्थी संघका निर्वतमान सभापति एवम माङ्सेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गो इलाम क्षेत्र नं २ को सभापति बने । इलाम क्षेत्र नं १ मा रोङ गाउँपालिकाका अध्यक्ष शम्शेर राईले निर्वतमान सभापति दुर्गा बराल सहित यसअघिका महाधिवेशनमा नेतृत्वको उम्मेदवारहरुलाई हराउँदै क्षेत्रिय सभापति बने ।

सूर्योदय नगरपालिका–१ की वडा सदस्य मैया लिम्बु नेपाल कांग्रेस नेतृत्वमा इलाम क्षेत्र नं १ (क) बाट बिजयी बनिन् । उनी सभापति बन्ने एक्लो महिला समेत हुन् । २ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ४ प्रदेशसभा निर्वाचन क्षेत्र र १० पालिका रहेको इलाममा मैया बाहेक १४ औ महाधिवेशनमा सभापति बन्ने अरु महिला छैनन् । पालिका तहमा समेत धेरै युवाहरुको प्रतिनिधित्व छ । यस पटकको निर्वाचन अरु बर्षको भन्दा फरक देखियो ।

जिल्ला र प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा यसअघि सभापति नभएका नयाँ युवा पुस्ताले निर्वाचनमा बिजय हासिल गरे । प्रदेश सभा इलाम क्षेत्र नं २ (क) का सभापति गोपाल चौहान र क्षेत्र नं २ (ख) का सभापति खगेन्द्र लिम्बु समेत नयाँ पुस्ता नै हुन् । लामो समयदेखि वडादेखि केन्द्रसम्म एउटै नेतृत्वले पकड जमाएको आरोप खेपिरहेको कांग्रेसमा पार्टीप्रति युवा आकर्षण बढेपछि नयाँ ऊर्जा पनि थपिएको छ । यसले भविष्यमा कांग्रेसको नाममा राजनीति गर्न चाहने पुस्ताका लागि मैदान फराकिलो हुने विश्वास कांग्रेस नेतृत्वले लिएको छ ।

यही गतिमा युवाको प्रतिनिधित्व बढ्यो भने पार्टीको ऐतिहासिक विरासतमा ठूलो टेवा पुग्नेछ । अहिलेको अवस्थामा नेपाली कांग्रेसको क्रियाशिल सदस्यताको हिसाबमा ४० प्रतिशत १६ देखि ४० बर्षभित्रका छन् । पछिल्लो समय युवा पुस्ताहरुको सहभागिताले पार्टीले नयाँ खाका कोर्न सहयोग पुग्ने जिल्ला सचिव निरोज खड्गी बताउँछन् ।

‘ कांग्रेसमा हामी जस्ता युवाहरु पनि छौ । ६० भन्दा माथिका अग्रजहरु पनि चुनाव जितेर आउनुभएको छ । फरकफरक पुस्ताको सहभागिताबाट पार्टी बलियो बनेर जान्छ ।’ खड्गीले भने ‘ २ फरक पुस्ता मिलेर गति लिन केही समय लाग्ला तर पार्टी सक्रिय रुपमा अघि बढ्नेमा दुई मत हुन्न् ।’ अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रिय सदस्य रहेका निरोज खड्गी लगातार दोश्रो कार्यकाल सचिव पद दोहो¥याएका छन् । जिल्लामा केही आशलाग्दा युवा नेताहरु पराजित भएपनि नयाँ पुस्ताले अवसर पाएका छन् ।
अब कांग्रेस बुढोहरुको पार्टी रहेन्
नेपाली कांग्रेसका निर्वतमान कोषाध्यक्ष विष्णु कार्कीले कांग्रेसमा युवा पुस्ताको सहभागितालाई अरुले भन्दा फरक दृष्टिकोणले हेरेका छन् । उनी युवा सहभागितासंगै कांग्रेसलाई अरुले हेर्ने दृष्टिकोण बदलिएको धारणा राख्छन् ‘ कांग्रेस बुढो पार्टी ७० बर्ष बुढो पार्टी युवा छैनन भन्नेलाई गतिलो जवाफ दिएको छ । ’ उनले भने ‘इलामकै हकमा १७ बर्ष देखि ८७ बर्षसम्मका प्रतिनिधि छन् भनेपछि काँग्रेस सवै वर्गको समिश्रण हो भन्ने सन्देश जनमानसमा दिन सकेका छौ ।’

युवा पुस्ताको सहभागितासंगै कांग्रेसभित्रको अन्तरद्धन्द्धले युवा पुस्ताहरुमा गुट उपगुटको भावना सृजना हुँदा गरिमा कायम राख्न चुनौती देखिएकोमा कार्की शसंकित छन् ‘ काँग्रेसमा समग्रमा हेर्दा झन्डै ४० प्रतिशत युवाहरु छन् उनीहरु भोलीको पार्टीको भविष्य हुन् । तर कतिपय ठाउँमा युवा पुस्तालाई राजनितिलाई सैद्धान्तिक बहस गर्न नसकेको अवस्थामा प्रशिक्षण गराउन नसकेको अवस्थामा साख जोगाउन चुनौती छ ।’ उनी भन्छन् ‘ अहिलेको युवाले भरिएको कांग्रेस प्रशिक्षित र संगठित भन्ने अर्थ राख्छ । उनीहरुलाई प्रशिक्षित गर्ने हो भने कांग्रसको समाजवाद र आर्दश सिद्धान्त अनुसार परिचालित गराउन सक्ने हो पार्टीको भविष्य एकदमै राम्रो छ ।’

उनी अझै पनि धेरै क्षमतावान युवा पुस्ताहरु कांग्रेसको संरचना भन्दा बाहिर रहेकाले उनीहरुलाई समेटेर जानुपर्ने कार्की तर्क राख्छन् ‘युवाहरु सहभागिता बढिरहँदा धेरै युवा पलायन भएका छन् । कतिपय सक्षम युवाहरु कांग्रेसको संरचना बाट बाहिरिएका छन उनीहरुलाई समेटेर संगै लिएर जाने वातावरण बनाउने हो भने विपिको सपना अनुसारको कांग्रेस बन्छ किसानले सोचे अनुसारको कांग्रेस बन्छ । तर त्यसका लागि गुट र उपगुट भन्दा माथि उठ्नुपर्छ । कांग्रेस बन्नुभन्दा पहिला दाईको कांग्रेस दिदिहरुको कांग्रेस फल्नो खेमाको कांग्रेस भन्न छाडेर अघि बढेमात्र सक्षम पार्टी बन्न सक्छ । विपि, गणेशमान, गिरिजा प्रसादले परिकल्पना गरेको कांग्रेस बन्न सक्छ ।’

युवाहरुको सहभागिता बढेसंगै अहिले कांग्रेसको केन्द्रमा समेत नेतृत्व परिर्वतनको चर्चा सुरु भएको छ । तल्लो तहमा युवा पुस्ताहरुको प्रतिनिधित्व भएसंगै केन्द्रमा समेत नयाँ नेतृत्व चयनका लागि नेताहरुको दौडधुप छ । महाधिवेशन प्रतिनिधि र कार्य समितिमा युवा पुस्ताहरुको सहभागिता पछि केन्द्रको नेतृत्व चयन समेत रोचक बन्ने कांग्रेसका नेताहरुको बुझाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार