इलाम । इलाम सूर्योदय नगरपालिका–१० कि युवन्तिका तामाङ सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् । विभिन्न साहसिक खेल र बाइक राइडिङकी सौखिन २८ बर्षीया तामाङले आगामी अप्रिल महिनामा सगरमाथा आरोहण गर्ने भएकी हुन् ।
इलाइट हिमालय एक्सपीट ट्रेकमार्फत आरोहण अभ्यास गरिरहेकी उनी हालै मात्र सगरमाथाको लोबुचे पिकसम्मको ६ हजार १ सय १९ मिटरको उचाइको आरोहण गरेर फर्किएकी छन् । कृषि पेशामा आबद्ध प्रकाश तामाङ र मधु तामाङकी एक्ली छोरी युवन्तिका वाइक राइडिङमा अब्बल छिन् ।
सगरमाथा आरोहण खर्चिलो हुने भएकाले उनी यतिबेला खर्च जुटाउने कसरतमा छिन् । उनी भन्छिन्,‘जिल्लाबाट पहिलो महिला आरोही बनेर सगरमाथाको शिखरमा पुगेर राष्ट्रिय झन्डा फहराउने हिम्मत लिएको छु । सपना पूरा गर्छु भन्ने आशा छ । यसका लागि सबैको सहयोगको अपेक्षा गरेको छु ।’
पहिलो पटक सगरमाथा आरोहण गर्ने नेपालीहरुलाई सामान्यत ३५ लाखको हाराहारीमा खर्च हुने गर्छ । स्थानीय युवाहरुले उनका लागि खर्च जुटाउने अभियान शुरु गरेका छन् ।