देउमाइ । इलाम जिल्लामा कफी खेतीको संभावना भएपनि प्रर्वद्धनको अभावमा फस्टाउन सकेको छौ । जिल्लाको देउमाइ नगरपालिका, इलाम नगरपालिका लगायतका क्षेत्रका किसानहरुले कफी खेती गरेपनि बजारीकरण गर्न नसक्दा लाभ लिन सकेका छैनन् ।
राष्ट्रिय चिया तथा कफि विकास बोर्ड चिया विस्तार आयोजना मंगलबारेको आयोजनामा भएको २ दिवसीय कफि खेती तथा प्रशोधन तालिमका सहभागीहरुले कफि खेती गरिएपनि बजार नहुँदा बाध्य भएर मास्नु परेको बताए । देउमाइ–४ का वडाध्यक्ष राजेन्द्र बास्तोलाले कफि खेतीको विस्तारसंगै बजारीकरण गर्नुका लागी पहल गर्नुपर्ने अहिलेको आवश्यक्ता रहेको बताए ।
त्यसै गरी वडा नं ३ का अध्यक्ष दावा तामाङले पश्चिम नेपालमा व्यवायीक रुपमा खेती गरिको कफिलाई पुर्वमा विस्तारको लागी सम्वन्धित निकायले किसानहरुलाई आवश्यक सहयोग गर्न सके इलाम जिल्ला चियाका लागी मात्र नभइ कफिका लागी समेत प्रशिद्ध हुने बताए ।
चिया तथा कफि विकास बोर्डका सदस्य भोजराज श्रेष्ठले इलामको हावापानी कफि खेतीको लागी देशभरमै उत्कृष्ट रहेकाले कफिको पकेट क्षेत्र बनाउनका लागी सवैले पहल गर्नुपर्ने बताए । उनले ८ सय मिटर माथीको क्षेत्रफलमा कफी खेती हुने भएकाले इलामको संभाव्यता राम्रो रहेको बताए । उनले इलाममा उत्पादन गरिएको कफि निर्यातका लागी सहयोग गर्ने प्रतिवद्धता दिए ।

चिया तथा कफि विकास बोर्डका कृषि अधिकृत इन्द्र अधिकारीले पुर्वमा इलाममात्र नभइ पाँचथर र ताप्लेजुङमा समेत कफिको प्रचुर संभावना देखिएकाले चियासंगै कफिमा समेत किसानहरु अघि बढनुपर्ने बताए । उनले देउमाइ क्षेत्र कफिका लागी इलाम जिल्लाको उत्कृष्ट क्षेत्र भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथी देउमाइ नगरपालिकाका प्रमुख सुर्य पोखरेलले स्थानिय कृषि क्षेत्रका लागी १ करोड भन्दा बढी रकम बिनियोजना गरिएकाले स्थानिय निकायसंग समन्वय गरेर कफि खेती विस्तार गर्न आग्रह गरे । उनले कृषिका सवै क्षेत्रका समान विकास गरिने भएकाले कफि खेतीलाई समेत प्रर्वद्धन गर्न बजेट बिनियोजन गरिने बताए ।
चिया विस्तार आयोजना प्रमुख फुलमाया आङबोको अध्यक्षतामा कार्यक्रमलाई आयोजनाका प्राविधिक खगेन्द्र बिष्टले स्वागत गरेका थिए । कार्यक्रममा देउमाइ र फाकफोकथुमका ३० भन्दा बढी कफि किसानहरुको सहभागीता रहेको छ ।