इलाम । मकालु बेस क्याम्प भ्रमण गर्न गएका इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ श्रीअन्तुका होमस्टे व्यवसायी धरणी घिमिरेको निधन भएको छ। होमस्टे एसोसिएसन १ नम्बर प्रदेशका उपाध्यक्ष तथा अन्तु स्थित मेची माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका घिमिरेको मकालु गाउँपालिका–२ याङ्लेखर्कमै निधन भएको हो।
मकालु बेश क्याम्प घुम्न गएका घिमिरेको निमोनियाका कारण मृत्यु भएकोजिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए। याङ्लेखर्कमा पुगेपछि घिमिरेलाई स्वास्थ्य समस्या देखिको थियो। स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि बोकेर सदरमुकाम ल्याउँदै गर्दा गत मंगलबार उनको बाटैमा मृत्यु भएको आफन्तले जानकारी दिए।
गत असोज २८ मा मृतक घिमिरेसहित उनका जेठा दाजु एकराज, माइला दाजु रुद्र, छिमेकी मिलन ढकाल, मारेङको विराटनगर महानगरपालिका–४ का उज्वल घिमिरे, सुनसरीका सौजन घिमिरे र संखुवासभाको चैनपुर नगरपालिका–६ का श्याम राउत मकालु आधार शिविर घुम्न गएका थिए। घटनाबारे मृतकका दाजुले बिहीबार मात्रै प्रहरीलाई जानकारी गराएका थिए। घटनास्थल सदरमुकाम खाँदबारी बाट ५ दिनको पैदलमा पर्दछ।
धरणीका माइला दाजु तथा होमस्टे व्यवसायी रुद्र घिमिरेका अनुसार मकालु हिमालको ४ हजार २ सय मिटर उचाईको टाडोसा बेसक्याम्प भन्दा केही माथि ४ हजार ६ सय १० मिटर उचाईमा पुगेपछि धरणी बिरामी परेका थिए। गत असोज ३१ गते बिरामी परेर बेहोस भएपछि उनलाई त्यहाँबाट फर्काएर टाडोसा हुँदै याङ्माले बेसक्याम्प ल्याइँदै थियो।
तर, ३ हजार ५ सय मिटरमा रहेको याङ्माले बेसक्याम्प पुर्याउनुअघि नै अझ गम्भीर भएपछि उनलाई उपचारका लागि काठमाडौंबाट हेलिकप्टर मगाइएको थियो । ४२ घण्टासम्म पर्खिंदा पनि मौसमका कारण हेलिकप्टर आउन नसकेपछि कात्तिक १ गते दिउँसो करिब साढे १२ बजे धरणीको निधन भएको रुद्रले बताए ।‘ तर, कुनैपनि माध्यमबाट सम्पर्क हुन नसकेका कारण घरमा समेत यो घटनाको खबर पुर्याउन पाइएन,’ त्यहाँबाट फर्केर संखुवासभाको नुम बजार आइपुगेका रुद्रले भने, ‘फोन सम्पर्क हुने ठाउँमा हिजोमात्रै आइपुगेर सबैतिर खबर गर्यौं।’
बिरामी लिन पुग्न नसकेपनि शव बोकाउन हेलिकप्टर मगाउँदासमेत पुग्न नसकेको उनले बताए। ‘नुम बजारसम्म शव ल्याउन स्थानीयलाई २ लाख रुपैयाँमा जिम्मा दिएपछि २ घण्टाभन्दा बढी बोक्न सकेनन्,’ रुद्रले सुनाए, ‘हाम्रो परम्पराअनुसार स्थानीय बरुण नदीमा शव जलाउन प्रयास गर्दा सम्भव नभएपछि स्थानीय समुदायकै परम्पराअनुसार सद्गत गरेर नुमसम्म आइपुगेका छौं।’
इलामको सूर्योदय नगरपालिकाका ४ सहित ७ युवा बेस क्याम्प भ्रमण गर्न गत असोज २५ मा हिँडेका थिए। उनीहरू अन्तुबाट धरान हुँदै २७ गते नुम बजार पुगेका थिए। मकालु बेसक्याम्प पुगेपछि धरणीको अक्सिजन लेभल घटेको थियो।
‘स्थानीय जानकारका अनुसार भाइलाई एक्विट निमोनियाँ भएको थाहा भयो,’ रुद्रले भने, ‘उनलाई अस्पताल पुर्याउन निकै प्रयास गरेपनि सबै प्रयास बिफल बनिदिए।’ संखुवासभाको मकालु आधार शिविरमा गत बर्ष खाँदबारी नगरपालिका–१ का २४ वर्षीय विवेक श्रेष्ठको लेक लागेर मृत्यु भएको थियो।