सुलुबुङ । इलामको बरबोटेदेखि पर्यटीय क्षेत्र सन्दकपूर जोड्ने बरबोटे सुम्बेक सुलुबुङ्ग माबु सन्दकपूर सडकको उपभोक्ता र प्रदेश सासंद खिनु लङ्वा लिम्बुसँग अन्तरक्रिया सम्पन्न भएको छ । बरबोटे सन्दकपूर सडक खण्डको सन्दकपूर गाउँपालिका ३ र ४ को तालगाउँ चिया उद्योगदेखि सुलुबुङ माबुकोे खण्डको कालोपत्रे गर्न ठेक्का संझौता भएपछि उपभोक्तासँग प्रदेश सासंदसँग अन्तरक्रिया भएको हो ।

प्रदेश सासंद लिम्बुको प्रस्तावमा प्रदेश एक सरकारले सन्दकपूर ३ को तालगाउँदेखि सन्दकपूर ४ को माबुसम्म कालोपत्रे गर्ने कामको ठेक्का संझौता भएको थियो । ठेक्का संझौता पछि कामको गुणस्तरीयता र निर्माण पक्षमा देखिने समस्याका बारेमा प्रदेश सांसदसँग स्थानीयबासीको छलफल सम्पन्न भएको सन्दकपूर ३ का वडासदस्य हरि लुङ्गेलीले बताए ।
सानिमाई चिया उत्पादक सहकारी संस्थाको उद्योगमा भएको अन्तरक्रियामा नेपाली काग्रेसको सन्दकपूर ३ को सभापति खेम लुम्रे, माओवादी केन्द्रको सचिव सिपि गड्तौला, सानिमाई चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष गोविन्द खतिवडाले सडक निर्माणको काम लागि ठेक्का संझौता भई सरकारी र निर्माण पक्षबिच सर्भे शुरु भएकाले समयमै गुणस्तरीय काम हुनुपर्नेमा जोड दिए ।

अन्तरक्रियामा श्री दुग्ध उत्पादक सहकारी संस्थाका तालगाउँका व्यवस्थापक निधिकान्त खतिवडा, समाजसेवी हरिकृष्ण खतिवडा, किबि व्यवसायी तारामणि खतिवडा, नेकपा एकिकृत समाजवादीका जिल्ला सदस्य सोम साउदेन, खडानन्द खतिवाडा र तेजकुमार लुङ्गेलीले २०५२ सालमा ट्रयाक खनिएको सडक प्रदेश सासंदको पहलमा कालोपत्रे थालनी हुँदा जनता खुशि भएको बताए । सडक निर्माणको काम समयमै भए स्थानीय क्षेत्रमा उत्पादन हुने कृषि उपज र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनीहरुको भनाइ थियो । सडक खण्डको सन्दकपूर ३ सुलुबुङ क्षेत्रमा गुणस्तरीय निर्माण र आईपर्ने समस्या समाधानका लागि उपभोक्ताहरुको दुई वटा अनुगमन तथा समस्या समाधान समिति निर्माण गर्नुपर्नेमा अन्तरक्रिमा सहमति भएको छ ।

सन्दकपूर गाउँपालिका वडा नम्बर ३ का वडासदस्य तथा न्यायीक समिति सदस्य हरि लुङ्गेलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सासंद खिनु लङ्वा लिम्बुले सडक निर्माणका लागि प्रदेश एक सरकारले बहुबर्षे ठेक्का संझौता गरेकाले निर्माणको क्रममा भुक्तानीको समस्या हुन नदिने र गुणस्तरीय कामका लागि स्थानीय जनताको अनुगमन नियमित हुनुपर्ने बताइन् । सडक कालोपत्रेपछि स्थानीय क्षेत्रमा उत्पादन भएको कृषि उपज बजारसम्म पु¥याउन र प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपूरमा हजारौँ पर्यटक आवतजावत गरि पर्यटकका माध्यमबाट आयआर्जनमा वृद्धि हुने लङ्वाको भनाइ थियो । संविधान दिवसको अवसरमा मतदाता र जनतासँग अन्तरक्रिया गर्न पाउँदा खुशि लागेको र संविधानको रक्षाका लागि जनताको प्रतिनिधि भएको हिसाबले निरन्तरण आफ्नो भुमिका बढाउने उनले बताइन् ।

इलाम बजार सलुबुङ माबु सन्दकपूर सडकको पहिलो खण्ड सन्दकपूर ३ को तालगाउँदेखि सन्दकपूर ४ को माबुसम्मको साढे १२ किलोमिटर सडक कालोपत्रे गर्ने काम शुरु हुन लागेपछि जनता खुशि भएका छन् । सो सडक खण्डको दोस्रो खण्डको ठेक्का संझौता भई अहिले ३० प्रतिशत काम सम्पन्न भइसकेको छ । दोस्रो खण्ड अन्तरगत सन्दकपूर ४ को गुम्बाडाँडादेखि दोबाटेसम्म सडक निर्माणको काम हुँदै आएको हो ।