Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयमा नेकपा एकिकृत समाजवादीको पार्टी कार्यालय स्थापना

सूर्योदयमा नेकपा एकिकृत समाजवादीको पार्टी कार्यालय स्थापना

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज २ २०७८


सूर्योदयमा नेकपा एकिकृत समाजवादीको पार्टी कार्यालय स्थापना

फिक्कल । इलामको सूर्योदय नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) सूर्योदय नगरपालिकाको पार्टी कार्यालय उद्धघाटन गरिएको छ । नेकपा एकिकृत समाजवादीका नेता एवम बागमती प्रदेशका संसदीय दलका नेता राजेन्द्र पाण्डेले फिक्कलमा रहेको पार्टी कार्यालयको उद्धघाटन गरे । नगरपालिकाका प्रमुख तथा नेकपा एसका नेता रण बहादुर राईको अध्यक्षता रहेको कार्यक्रममा नेता पाण्डेले पानसमा दियो बालेर कार्यलयको सांकेतिक उद्धघाटन गरेका थिए ।

निर्धारित समय भन्दा करिब ३ घन्टा ढिला सुरु भएको कार्यक्रममा हजारौको संख्यामा कार्यकर्ताहरुले विभिन्न नारा लगाउँदै फिक्कल बजार परिक्रमा गरेका थिए । उनीहरुले नेकपा एकिकृत समाजवादी जिन्दावाद, दक्षिणपन्थी मुर्दावाद, खड्ग ओली मुर्दावाद, कम्युनिष्ट–कम्युनिष्ट एक हौँ जस्ता नारा लगाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले केपी ओलीले कम्युनिष्ट एकता नचाहेको बताए । उनले आफ्नो स्वार्थपुर्तिका लागि मात्र ओलीले माओवादीसँग एकताको नाटक गरेको आरोप लगाउँदै पाण्डेले २ तिहाईको कम्युनिष्ट पार्टीको एकता नचाहेका ओलीले एमालेको समेत एकता नचाहेको आरोप लगाए ।

एमाले र माओवादी गठबन्धन नगरेको भए २०७४ सालमा संसदीय निर्वाचनमा एमाले एक्लैले ५० सिट मात्रै जित्ने अवस्था रहेको उनले बताए । नेता पाण्डेले नवौ महाधिवेशनबाट निर्वाचित ओलीले सोही विधान मिचेर मनोमानी र व्यक्तिगत ढंगले पार्टी चलाउन थालेपछि नेकपा फुटमा पुगेको जिकिर गरे । उनले भ्रष्टचार शुन्य सहनशिलता अपनाएको भनिएको ओलीको नेतृत्व रहँदा नेपाल दक्षिण एसियाकै सवैभन्दा भ्रष्टचारयुक्त मुलुक बनेको बताए ।

राजा महेन्द्रले २०१७ मा चालेको कदम जस्तै ओलीले संसद विघटन गरेर संविधान समाप्त गर्ने कार्य गरेको भन्दै माधव नेपालले पार्टी विभाजन नभई विद्रोह गरेको बताए । उनले मदन भण्डारी फाउन्डेसनका नाममा केपी ओलीले एमाले कब्जा गरेको आरोप लगाए । पुर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई इङिगत गर्दै पाण्डेले कानुनका जानकारले संविधान माथिको हस्तक्षेपलाई समर्थन गर्नु गलत भएको बताए । ‘ मेरा एक जना संगै पढेका साथी थिए कानुन धेरै जानेका थिए तर यो पटक चिप्लिएछन् । ’ उनले भने ‘ प्रधानमन्त्रीले आवेगमा आएर संसद विघटन गर्न पाउँदैन भन्ने उपनेताको नाम लिनै मन लागेन हाम्रै जोडबलमा सभामुख चाहि भएका थिए ।’

प्रदेश सांसद खिनु लङ्वा लिम्बुले खड्ग ओलीको अहङ्कार नै पार्टी विभाजनको कारक बनेको आरोप लगाइन् । ओलीले आफ्नो रवैया देखाएर पार्टी कब्जा गर्न खोजेको बताउँदै लिम्बुले पार्टी अध्यक्षको निरंकुश प्रवृत्तिकै कारण एमाले खरानी भएको जिकिर गरिन् ।

नेकपा एकिकृत समाजवादीका अध्यक्ष भक्त केसीले मनमोहन अधिकारीको जस्तो जनप्रिय कामको अपेक्षा गरेको सुम्पिएको नेतृत्व केपी ओलीले खरानी बनाएको बताए । उनले २ तिहाईको जिम्मा दिएको सरकारले ओलीको दम्भका कारण टिक्न नसकेको आरोप लगाए । ‘ २०७२ सालको संविधानपछि मनमोहनको जस्तो कामको अपेक्षा राखेर २ तिहाईको जिम्मा दियौ त्यो साथीले ३ बर्ष पनि टिकाएन् । संविधानलाई अनादर गर्दै संसद विघटन गरेर कमल थापा, राजेन्द्र महतोहरुसंग घाटी जोड्न पुग्यो ।’

सूर्योदयबाट सुरु भएको समाजवादीको झिल्को जिल्लाभर फैलिएर पहिलो पार्टी हुनेमा आफु विश्वस्त रहेको केसीले बताए । उनले १ महिनाभित्र वडा र टोलमा कार्यालय खोल्ने निर्णय समेत पार्टीबाट भएको जानकारी दिए । जिल्ला विकास समितिका पुर्वसभापति लालबहादुर सुब्बाले केपी ओलीको अहंकारी प्रवृति विरुद्ध समाजवादी आन्दोलन सुरु गरिएको बताए । उनले कम्युनिष्ट पार्टी विरुद्ध आफुहरुको आन्दोलन नभएको बताए ।

सुब्बाले पार्टी भित्रको आन्तरिक किचलोका कारण संसद विघटन गर्ने प्रावधान संविधानमा नलेखिएको बताए । उनले केपी ओलीको व्यक्तिगत प्रवृतिका कारण २ तिहाईको मत पाएको पार्टी विभाजनको सिकार भएको आरोप लगाए ‘ ओलीले पार्टी र मन्त्रीमण्डलमा छलफल नै नगरि पार्टी विघटन गरेको कुरा गाउँगाउँमा बस्ने नागरिकहरुले समेत राम्ररी बुझेका छन् ।’ सुब्बाले भने ‘ माधव नेपालले पार्टी फुटाउन चाहेको हैन् संविधान विपरित ओलीबाट जुन काम भयो त्यसैले पार्टी फुटाउने मुख्य केपी ओली हो ।’

नेकपा समाजवादीकी जिल्ला उपाध्यक्ष चित्रकला बराइलीले केपी ओली केशरजंग पथमा हिडेको आरोप लगाइन् । उनले केशरजंग रायमाझी दक्षिणपन्थी धारमा लागेर पार्टी कमजोर बनाउँदा पुष्पलाल श्रेष्ठले एकिकृत गरेको स्मरण गर्दै केपी ओलीको व्यक्तिगत घमण्डका कारण ९ औ महाधिवेशनको निर्णय उल्टयाएर व्यक्तिवादी प्रवृति हावी गराएको बताइन् ।

उनले सूर्य चिन्हलाई दिएको मत पार्टी फुटाएर दुरुपयोग गरेको भन्ने आरोपका खण्डन गदैै भनिन् ‘ २÷२ पटक ओलीले प्रतिनिधिसभा विघटन गर्न पार्टीको कुन तहसंग छलफल गरे अहिले उनकै दम्भका कारण प्रदेशमा एमालेले नेतृत्व गुमाउँदै गएको छ । गएर सोध्नुस पार्टी विभाजन र संसद विघटनका लागि कुन पंक्तिसंग छलफल भएको छ ।’ बराइलीले भनिन् ‘ सतिसाल भएर अघि बढौ मतलाई विचलन हुन दिँदैनौ सूर्यमा मत जे मन लाग्यो त्यहि गर्न दिनुभएको थिएन् हामी त्यसको उचित कदर गर्नेछौ ।’

नेकपा एकिकृत समाजवादीका सचिवालय सदस्य टेकबहादुर राईले २०७१ असारमा भएको ९ औ महाधिवेशनमा झलनाथ खनालले परिकल्पना गरेको सुखी नेपाली समृद्ध नेपालको नारालाई केपी ओलीले दुरुपयोग गरेको आरोप लगाए । उनले ओली नेतृत्वमा आएपछि पार्टीलाई दक्षिणपन्थी भास तर्फ धकेलेको आरोप लगाए । उनले दक्षिण एसियाकै सवैभन्दा भ्रष्ट मुलुक केपी ओलीको पालमा भएको बताए । राईले जनता विरोधी काम गरेको ओलीले दक्षिणपन्थी भासमा मुलुकलाई धकेल्दै २ तिहाईको सरकार समेत ढालेको आरोप लगाए । उनले अधिकार प्राप्त गर्न आवश्यक संविधान केपी ओलीले अवमुल्यन गर्दै मुलुकलाई उल्टो गतिमा दौडाएको बताए ।

राष्ट्रिय युवा संघका उपमहासचिव सन्जिप राईले अहिले पार्टी विभाजन नभई विद्रोह गरिएको बताए । उनले झलनाथ खनालको नेतृत्व कहिले पनि प्रतिगमनसँग घुडा नटेको उल्लेख गर्दै केपी ओली जस्ता दक्षिणपन्थीहरु पराजित भएर जाने बताए । उनले इलाम रत्न बान्तवा, बम वान्तवा जस्ता क्रान्तिकारीहरुको जिल्ला भएपनि उनीहरुको बलिदानबाट बनेको नेकपा पार्टीलाई सनकको भरमा ओलीले विभाजन गर्नु गलत भएको बताए । राईले विघटनको कारक तत्व केपी ओलीकै कारण अहिले सडकमा आउन बाध्य भएको जिकिर गरे ।

पार्टीको सूर्योदय नगर इन्चार्ज तारा नेपालले संगठन विस्तारको काम धमाधम भइरहेको बताउँदै चाँडै वडा–वडासम्मको कमिटि गठन हुने बताए । स्वागत मन्तब्य राख्ने क्रममा बोल्दै उनले, केपी ओलीको तानाशाहा प्रवृत्ति पार्टीमा हावी भएसंगै समाजवादीको यात्रा शुरु भएको बताए ।

नेपाली कांग्रेस तथा राष्ट्रिय प्रजातन्त्र पार्टीमा लामो समय बिताएका कार्यकर्ताहरु एकिकृत समाजवादीमा प्रवेस गरेका छन् । उनिहरुलाई कार्यक्रमका अध्यक्ष,प्रमुख अतिथि तथा विशेष अतिथिले खादा लगाएर सम्मान गर्दै पार्टी प्रवेश गराएका थिए । नवप्रवेसी चन्द्र बहादुर तामाङ्गले स्थानिय सरकारले गरेको कामबाट आफु सन्तुष्ट भएको र विकासप्रेमि नगरप्रमुखको टिमलाई सहयोग गर्न समाजवादीको नयाँ यात्रा आरम्भ गरेको बताए ।

कार्यक्रमका अध्यक्ष सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले सबै वडामा कमिटि लगभग बनिसकेकाले पार्टी मजबुत बन्दै जाने बताए । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफुहरुलाई दास बनाउने काम गरेकाले विद्रोह गरिएको राईले बताए । उनले भने ‘यो प्रतिगमन विरुद्धको लडाई हो । निरंकुशता र अत्याचार विरुद्धको आन्दोलन हो । सबै मिलेर सामना गरौँ ।’

नेकपा एकिकृत समाजवादी बाट मात्र अब मुलुकको आमुल परिवर्तन सम्भब रहेको दाबी गर्दै राईले नगरवासीको पूर्णतय साथ र सहयोग रहने विश्वास व्यक्त गरे । सूर्योदयबाट शुरु गरेर जिल्लामै पहिलो पार्टी बनाउने भन्दै राईले अन्य कुनै दलले विकास र समृद्धिको आँट गर्न नसक्ने चेतावनी दिए । नगरबासीको घरघरमा पुगेर समाजवादी के हो भन्ने बारे तत्काल जानकारी गराइने उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार