Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

काँकडभिट्टा नाकाबाट अभिभावकलाई अगुवा बनाएर बालबालिका ‘तस्करी’

काँकडभिट्टा नाकाबाट अभिभावकलाई अगुवा बनाएर बालबालिका ‘तस्करी’

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असोज १ २०७८


काँकडभिट्टा नाकाबाट अभिभावकलाई अगुवा बनाएर बालबालिका ‘तस्करी’

काँकडभिट्टा । मुस्ताङको थासाङ गाउँपालिका ५ कुञ्जीका इन्द्रबहादुर विककी आठ वर्षीया छोरी नजिकैको ताल्बुङ आधारभूत विद्यालयमा ३ कक्षामा पढ्दै थिइन् । कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि पढाइ रोकियो । त्यही बेला काठमाडौंबाट सोनाम लामा नाम गरेका व्यक्ति उनको घर पुगे । लामाले विकसँग अनौठो प्रस्ताव गरे, ‘भारतको सिलिगुडीमा एउटा संस्था छ, त्यो संस्थाले छोरीलाई १२ कक्षासम्म होस्टेलमा राखेर निःशुल्क पढाइदिन्छ ।’

सुरुमा त इन्द्रबहादुरले पत्याएनन् । तर, गाउँका अन्य अभिभावक पनि आफ्ना बालबालिकालाई पढ्न भारत पठाउन मञ्जुर भएको सुनेपछि उनलाई पनि हो कि जस्तो लाग्यो । गाउँका अन्य १३ बालबालिकासँगै छोरी पुर्‍याउन उनी आफैं सिलिगुडी जाने भए । पूर्वी नाकामा मंगलबार प्रहरीले रोकेपछि इन्द्रबहादुर छाँगाबाट खसेझैं भए । पढाइको बहानामा अबोध छोरीको तस्करी हुन लागेको कुरा बल्ल उनले बुझे ।

पढाइदिने बहानामा भारत तस्करी गर्न लागिएका एकै गाउँका १४ बालबालिकालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नाकाबाटै घर फर्काएको छ । भारतको सिलिगुडीमा रहेको भनिएको टाँसी हिमालयन इन्टरनेसनल स्कुलमा पढाउन भनेर ती बालबालिका तस्करी हुन लागेका थिए । सिलिगुडीमा यस किसिमको कुनै स्कुल नरहेको प्रहरीले जनाएको छ ।

आठवर्षे छोरालाई पुर्‍याउन काँकडभिट्टा आइपुगेकी निर्मला विकले सिलिगुडीको स्कुलले १२ कक्षासम्म निःशुल्क पढाइदिने भनेपछि छोरोका पढाइ छुटाएर भारत हिँडेको बताइन् । ‘१२ कक्षासम्म छोराले निःशुल्क पढ्न पाउने भयो भनेर राजीखुसी नै छोरो पढाउन लिएर हिँडेकी हुँ’, उनले भनिन् । घर फर्काइएका बालबालिका ६ देखि १२ वर्षसम्मका छन् । बालबालिकामध्ये ८ जना बालिका छन् ।

कता हिँडेको भनी राखिएको जिज्ञासामा ६ वर्षका एक बालकले तोतेबोलीमा भने, ‘दादा दिदीहरू जता जाँदै छन् तेतै ।’बालबालिका तस्करीका लागि गाउँपालिकाले नै सिफारिस गरेको पाइएको छ । थासाङ-५ का वडाध्यक्ष सोमल हिराचनले बालबालिकालाई पठनपाठनका लागि भारतको सिलिगुडी लैजान लागिएकाले आवश्यक प्रक्रिया मिलाइदिन अनुरोध गरेर सिफारिस गरेका छन् ।

जनप्रतिनिधिसमेत गिरोहसँग मिलेको प्रहरीको अनुमान छ । लामाले अभिभावकको सहमतिमै बालबालिकालाई भारत लैजान लागिएको जनाए । उनले भने, ‘गाउँपालिकाले पनि बालबालिका भारत लैजान अनुमति दिएको छ ।’इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनिल दाहालले पढाइको बहानामा भारत लान लागिएका बालबालिका गम्भीर जोखिममा पर्ने भएकाले घर फर्काइएको जनाए ।

बालबालिका तस्करीमा संलग्न सोनाम लामा लगायतलाई कारबाहीका लागि सिफारिससहित मुस्ताङका प्रजिअलाई पत्राचार गरिएको छ । इकान्तिपुरबाट

प्रतिक्रिया
सम्बन्धित समाचार