इलाम । इलामका जंगलमा अतिसङ्कटापन्न सुचिमा परेका गिद्ध पाइने भएपनि संरक्षणको नहुँदा संकटमा परेका छन् । गिद्धको बासस्थान रहेका जंगल फडानी र जंगली जनावर मार्न बिषको प्रयोग भएको सिनो गिद्धले खाँदा लोपउन्मुख गिद्ध संकटमा परेको हो ।
हुल बाँधेर उड्ने गिद्ध मर्नुको कारण हिस्रक जंगलि जनावरको आतंक रोक्न औषधिसँगै राखिएको सिनो मुख्य बनेको छ । चेतनाको अभावमा जंगलि जनावर चितुवा, बदेल र स्याल मार्न पशुको सिनोमा औषधि लगाएर जंगल छेउमा राख्ने गरेकाले त्यहि सिनो गिद्धले खाँदा जटायुको बफानै मर्ने गरेको हो ।
भारततिर संरक्षण क्षेत्र रहेको इलामको सीमा क्षेत्रमा नेपाली वन मासिएर गएसँगै गिद्ध बेलाबखत मात्रै देखिने गरेको छ । विश्वमा संकटापन्न अवस्थामा रहेको गिद्ध संरक्षणका लागि सरकारी पहल नहुँदा कसरी संरक्षण गर्ने योजना बनाउन नसकिएको सन्दकपूर गाउँपालिका अध्यक्ष उदय राईले बताए ।
१० वर्ष अघिसम्म प्रशस्त मात्रमा भेटिने गिद्ध पछिल्ला दिनमा मानविय गतिविधिबाटै लोप हुने अवस्थामा पुगेको हो । लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको बासस्थान रहेको क्षेत्रमै गिद्धको बासस्थान प्रशस्त भेटिएपनि अहिले कमै मात्र गिद्धको बथान भेटिन्छ ।
जंगल फडानीले बासस्थान नासिनु, प्रतिबन्धित औषधि डाइक्लोफेनेकको पशुहरुमा अझै प्रयोग हुनु र गिद्धको महत्वबारे स्थानीयस्तरमा जनचेतना नहुँदा बासस्थानसँगै गिद्ध मासिँदै गएको हो । इलामको सन्दकपुर, माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको २ हजार ५ सय मिटर माथि गिद्धको बासस्थान छ ।
लोपउन्मुख गिद्धको बासस्थान, खानपान र संरक्षण बारे अहिलेसम्म कुनै कार्यक्रम इलाममा भएका छैनन् । नेपालमा सानो खैरो, डंगर, लामो ठँुडे, सुन गिद्ध र सेतो गिद्ध पाइने गरेपनि इलाममा पाइने गिद्ध कुन प्रजातीको बारे अध्ययन भएको छैन ।
प्रकृतिको कुचिकारको उपमा पाएको गिद्ध संरक्षणका लागि राष्ट्रिय निकुञ्ज नभएको जिल्लामा जिल्ला वन कार्यालयलाई संरक्षणको जिम्मा दिएपनि बार्षिक कार्यक्रम वन कार्यालयमा छैन । नेपालमा पछिल्लो १० वर्षमा गिद्धको संख्या अत्याधिक कम भएको संरक्षणविद्को अध्ययनमा उल्लेख छ ।