सुनसरी । संखुवासभाको मादी नगरपालिका १ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेका छ जनाको दाहसंस्कार सुनसरीको इटहरीस्थित बूढी खोलामा गरिएको छ ।सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित छ जनाको इटहरीस्थित बूढी खोला घाटमा अन्त्येष्टि गरिएको मृतक तेजबहादुरका भतिज एमविक्रम कार्कीले जानकारी दिए ।
भतिज एमविक्रमका अनुसार बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम भएपछि बूढी खोला घाटमा अन्त्येष्टि गरिएको हो । शव अन्त्येष्टिका लागि तेजबहादुरका कान्छा छोरा रमेश कार्की दुबईबाट मंगलबार धरान आइपुगेका थिए ।मादी नगरपालिका १ उम्लिङको खोलागाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
यसैबीच, परिवारै सखाप बनाएको घटनाले मादी १ उम्लिङ खोलागाउँ शोकमा डुबेको छ । अहिलेसम्म हत्यारा पत्ता नलाग्दा गाउँको अवस्था सामान्य बन्न नसकेको स्थानीय रणबहादुर कार्कीले बताए ।घटना कसरी र किन गरिएको हो भन्ने बारेमा केही पनि नखुलेको उनले बताए । घटनाको वास्तविकता पत्ता नलागेसम्म गाउँ सामान्य अवस्थामा फर्कन नसक्ने स्थानीय कार्की बताउँछन् । उनीमात्रै होइन सिंगो खोलागाउँ त्रसित छ ।
घटना भएको तीन दिन वित्दा पनि हत्या प्रकरण रहस्यमै छ । स्थानीयका अनुसार हत्यामा संलग्नलाई तालिम प्राप्त कुकुरलेसमेत पत्ता लगाउन नसक्दा अझै रहस्यमय भएको छ । प्रहरीले घटनाका बारेमा कुनै नयाँ संकेत फेला पारेको छैन