Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

वाग्मतीका ११ सांसद्‌ले रोजे नेकपा (एस)

वाग्मतीका ११ सांसद्‌ले रोजे नेकपा (एस)

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र १५ २०७८


वाग्मतीका ११ सांसद्‌ले रोजे नेकपा (एस)

मकवानपुर : वाग्मती प्रदेशका ११ सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरुले पार्टी विभाजनसँगै मंगलबार औपचारिक रुपमा वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका हुन् ।

सांसदहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र कुसुम कुमार कार्की छन् । सांसद बसुन्धरा हुमागाईंका अनुसार अझै केही सांसदहरु थपिने छन् । ‘हामी पहिलो चरणमा जम्मा भएका साथीहरुले सनाखत गरेका हौं । अझै साथीहरु थपिनुहुनेछ,’ हुमागाईंले भनिन् ।

उनले नवगठित पार्टीमा वाग्मती प्रदेशका २१ जना सांसदहरु रहेको दाबी गरिन् । प्रदेशका सामाजिक विकास मन्त्री समेत रहेका कृष्ण शर्मा खनालले पनि सनाखत गर्ने सांसद हुमागाईंले बताइन् । खनाल अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार गठन भएकै दिन मन्त्री बनेका थिए । उनी कार्यालय पुगेका छैनन् ।

‘म नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीको कार्यकर्ता हुँ । मन्त्रालयको काम भएर केही समय अड्किएको हुँ । निर्वाचन आयोगको कार्यालय पुगेर सनाखत गर्छु । आजै गर्छु,’ मन्त्री खनालले भने । १२ जना सांसदहरुले नयाँ दल रोजेसँगै शाक्य नेतृत्वको प्रदेश सरकार गठन भएको करिब दुई हप्तामै अल्पमतमा परेको छ । शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै उनले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार