Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

दुर्गाप्रसादलाई विराटनगर लगियो

दुर्गाप्रसादलाई विराटनगर लगियो

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र २ २०७८


दुर्गाप्रसादलाई विराटनगर लगियो

इलाम । ४० बर्ष भारतीय जेल जिवन बिताएर फर्किएका माई नगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनालाई विराटनगर लगिएको छ । माई नगरपालिको समन्वयमा मानब अधिकार मञ्च नेपालले उद्धार गरि बुधबार बिराटनगर स्थित मानब सेवा आश्रम लगिएको हो ।

दुर्गाप्रसादको स्वास्थ्य अबस्था जटिल बन्दै गएकोले बिराटनगर स्थित मानब सेवा आश्रममा केही दिन राखि मनोबिमर्श चिकित्सक मार्फत समेत उपचार गरिने मानव अधिकार मञ्चका निर्देशक देवेन्द्र बिश्वकर्माले जानकारी दिए । केही दिनको उपचारमा पनि स्वास्थ्यमा सुधार नभए काठमाडौं लगेर थप उपचार गरिने उनले जनाए ।

पछिल्लो समय प्रभावकारी उपचार नपाएपछि दुर्गाप्रसाद मानसिक रुपमा विक्षिप्त बनेका थिए । परिवारसँगै लुम्बक बस्दै आएका उनी परिवार र समाजमा घुलमिल हुन समस्या भइरहेको अवस्थामा स्वास्थ्यमा थप जटिलता देखिएको छ । उनी तिब्र मानसिक बिरामी झै देखिएका छन् ।

नालीको फोहोर पानी उठाउँदै पिउने, आफ्नै सुत्ने कोठामा पिसाब गर्ने, घरका अन्य सदस्यलाई कुट्न झम्टिने, घरमा थाह नदिई टाढा–टाढासम्म घुम्ने लगायतका अनौठो कार्य गर्न थालेको भतिज गोपाल तिम्सिनाले बताए । मानसिक रुपमा विक्षिप्त बनेका उनी गत आइबार घरबाट हराएका थिए । करिब ८ घन्टापछि प्रहरीको सहयोगमा उनलाई मेची राजमार्गको जौवारीमा फेला पारिएको थियो ।

दुर्गाप्रसादको उपचार, खाना र यातायात खर्च बापत थप ५० हजार माई नगरपालिले प्रदान गरेको नगर प्रमुख दिपक थेवेले बताए । यस अघि गत बैशाखमा माई नगरपालिकाले उपचार र यातायात खर्च बापत ६७ हजार रुपैयाँ प्रदान गरेको थियो । उनलाई गत बैशाखमा विराटनगरस्थित विराट मेडिकल कलेजमा १७ दिन उपचार गरी घर ल्याइएको थियो । थप उपचारपछि दुर्गाप्रसादको अवस्थामा सुधार आउने अपेक्षा राखिएको गोपालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार