फिक्कल । इलामको पशुपतिनगर भन्सार कार्यालयले ७२ वटा गोरु १ लाख ४७ हजार मा मात्र लिलामी गरेको छ । साउन ३१ गते सूर्योदय नगरपालिका–२ चित्रेबाट इलाका प्रहरी कार्यालय पशुपतिनगरले बरामद गरी भन्सार दाखिला गरेका ७२ वटा गोरु कार्यालयले सोही दिन १ लाख ४७ हजार ६ सय रुपैयामा मात्र लिलामी गरेको हो ।
भन्सार कार्यालयका नायव सुब्बा उद्धव गौतमका अनुसार भन्सार ऐन २०६४ अनुसार जिवजन्तुको भन्सार दाखिला भएकै दिन सूचना निकाली त्यसै दिन लिलामी गर्नु पर्ने प्रक्रिया रहेको छ । सोही अनुसार कम मुल्याङ्कनमा भन्सार दाखिला भएकाले थोरै मुल्यमा गोरुको लिलामी गरिएको हो ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरले बेवारिसे अवस्थाका भनी प्रतिवेदनमा उल्लेख गरे पनि ती गोरु माई नगरपालिका–५ का पूर्ण बहादुर तामाङले निकासीका लागि लगेका थिए । कार्यालयमा प्रकाशन गरिएको सूचनामा ७ हजारका दरले ७२ वटा गोरुको मुल्याङ्कन ५ लाख ४० हजार गरिएको छ ।
गोरु दाखिला गरेको दिन साउन ३१ गते सूचना प्रकाशन गर्दा गोरु निकासी गर्ने पूर्ण बहादुर तामाङले १ लाख ४७ हजार ६ सय, माई नगरपालिका–५ कै भिम बहादुर तामाङले ४४ हजार र सूर्योदय नगरपालिका १४ का मदन कुमार समालले १ लाख ४४ हजार ७२ रुपैया मात्रको दावी गर्दे लिलामीका लागि निवेदन पेश गरेका थिए । तर २५÷२५ वटा गरी दुई पटक गोरु निकासी गर्नका लागि पूर्ण बहादुर तामाङले साउन ३० गते नै भन्सार काटेको रेर्कड कार्यालयमा छ ।
जो ब्यक्तिले गोरु निकासी गर्दै थिए गोरु पक्राउ परेर भन्सारले लिलामी गर्दा पनि उनै ब्यक्तिलाई दिई रहदा शंका उत्पन्न भएको छ । कार्यालयले भने छोटो समय भएकाले तीन वटा निवेदन मध्ये बढी रकम भएकालाई दिईएको जनाएको छ । एक पटक गोरु निकासी गर्दा निकासीकर्ताले १ सय १३ रुपैयाको भन्सार काट्नु पर्छ । भन्सार काटेपछि पशुपतिनगर नाकाबाट सहजै गोरु भारत निकासी हुने गरेको छ । भन्सार काटेपछि निश्चित समयमा गोरु निकासी गर्नु पर्ने गौतमले बताए । झापा हुँदै ल्याइएका गोरु पशुपतिनगर नाकाबाट भारत निकासी हुने गरेको पाईएको छ ।