Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

बिषादी अव्यवस्थित रुपमा प्रयोग भएको पाइएपछि कन्याम चिया बगानको बिषादी भण्डारण कक्षमा ताला

बिषादी अव्यवस्थित रुपमा प्रयोग भएको पाइएपछि कन्याम चिया बगानको बिषादी भण्डारण कक्षमा ताला

  • सन्देश सम्वाददाता
  • शनिबार, साउन २३ २०७८


बिषादी अव्यवस्थित रुपमा प्रयोग भएको पाइएपछि कन्याम चिया बगानको बिषादी भण्डारण कक्षमा ताला

इलाम । चिया क्षेत्रमा प्रतिबन्धित र मानवस्वास्थ्यको लागि घातक औषधीको प्रयोग बढ्दै गएपछि राष्ट्रिय चिया तथा कफि विकास बोर्डले अनुगमन थालेको छ । सूर्योदय नगरपालिका–७ मा रहेको कन्याम चिया बगान क्षेत्रमा हरेक वर्ष बिषादीको प्रयोग बढी हुँदा खानेपानीका मुहानमा पुग्ने र मानव स्वास्थ्यमा असर भएको गुनासो हुँदै आएपछि बोर्डका कार्यकारी निर्देशक डा बिष्णु भट्टराईको नेतृत्वमा जनप्रनिधि सहितको टोलीले कन्याम चिया बगानमा अनुगमन गरेको हो ।

चियाबगानमा विभिन्न रोग र संक्रमण घटाउने बहानामा मानव स्वास्थ्यका दृष्टिले निकै घातक मानिएका विषादीहरू किसान र व्यवसायीले खुलेआम प्रयोग भएपछि बोर्डले चासोका साथ हेरेको छ । विश्व स्वास्थ्य संगठनले सन् २००४ मा मानव स्वास्थ्यका लागि हानिकारक मानिने इथियन, मोनोक्रोटोफस, सुफोसजस्ता विषादी पूर्ण रूपमा प्रतिबन्ध लगाए पनि तिनै विषादीको प्रयोग बगानमा बढी प्रयोग हुनेगरेको छ । यस्ता विषादी नेपाल सरकारले नेपालमा रोक लगाए पनि भारतसँगको खुल्ला नाकाको प्रयोग गर्दै अवैध बाटोबाट भित्र्ने गरेको छ ।

अव्यवस्थित रुपमा बिषादीको प्रयोगले काम गर्ने मजदूरको स्वास्थ्यमा पनि गम्भिर असर देखिन थालेको गुनासो हुँदै आएको छ । सरकारले मोनोक्रोटोफम्स, इन्डोसल्फान, बीजीडी, अल्जिम, लिन्डेनजस्ता १५ प्रकारका घातक विषादी बिक्रीमा प्रतिबन्ध गरिसकेको छ । तर मजदुरले बिना कुनै सुरक्षात्मक उपाय विषादी प्रयोग गरिरहेका छन ।
बिषादी भण्डारण कक्ष सिल
कडा खालका बिषादीहरुको प्रयोग मजदूरको स्वास्थ्यमा समेत ध्यान नदिई प्रयोग हुँदै आएको कन्याम बगानको बिषादी भण्डारण कक्षमा अनुमगन टोलीले सिल गरेको छ । अर्गानिक चिया उत्पादनलाई प्राथमिकता दिँदै आएको अवस्थामा मात्रा नमिलाई उत्पादन बढाउने उदेश्यले बिषादीको प्रयोग भएकाले भण्डारण कक्षमा सिल गरिएको चिया विस्तार योजना फिक्कलका प्रमुख इन्द्र अधिकारीले बताए ।

कडा खालका बिषादीको प्रयोग गर्दा सरकारी निकायलाई पूर्व सुचना हुनुपर्ने नियम नभएपनि चिया बगान पक्षले समन्वय नगरेकाले बिषादी भण्डारण कक्ष सिल गरेको हो । अनुगमन टोलीले तीन दिनभित्र मापदण्ड विपरित बिषादी प्रयोग गर्नुपर्ने कारण सहित चिया विस्तार योजना र सूर्योदय नगरपालिकामा उपस्थित हुन बगान व्यवस्थापनलाई पत्र दिएको छ ।

कन्याम चिया बगानमा कडा खालका बिषादी क्लोरोपाइरिफस, साइप्रेनेक्रिन, थायोनिथोग्राम अव्यवस्थित रुपमा प्रयोग हुँदै आएको छ । यी औषधिको प्रयोग गरेपछि २८ दिनसम्म चियाका बोटहरुमा रहने भएपनि चिया टिपाई १५ दिनको फरकमा हुँदै आएकाले मानव स्वास्थ्य प्रत्यक्ष असर देखिने चिया प्राविधिक बताउँछन् । चिया विकास निगम व्यवस्थापन पक्षले चियाका बोटमा देखिने चुसेर खाने किरा मार्न प्रयोग गरेको भनिएपनि यति कडा खालको औषधि प्रयोग गर्नु नपर्ने अध्ययनमा उल्लेख छ ।

अनियन्त्रित बिषादी प्रयोगले नसर्ने रोगको उच्च जोखिम
त्रिवेणी सांघाई समुहको स्वामित्वमा रहेको चिया बगानमा अत्याधिक मात्रामा विषादीको प्रयोग बढ्दै जाँदा माई नगरपालिका नसर्ने रोगको उच्च जोखिममा परेको नगर प्रमुख दिपककुमार थेवे बताउँछन् । ‘ साघाईले आवश्यकता भन्दा बढि बिषादी प्रयोग गर्नाले बगान आसपासका क्षेत्रका बासिन्दाहरुको क्यान्सरको उच्च जोखिममा छन् ।’ उनले भने ‘ बगान आसपास मृत्यु हुने ७० प्रतिशत कारण चिया बगानमा लगाइने गरेको प्रतिबन्धित औषधी नै हो । यसको नियमनको लागि पनि निजिकण गरिएको बगान स्थानीय सरकारलाई फिर्ता गर्नुपर्छ ।’

चियामा बढ्दो विषादी प्रयोगका कारण भारतसहितका अन्तराष्ट्रिय बजारमा नेपाली चियाको छवि समेत बिग्रन थालेको छ । हरेक बर्ष नेपालको चियामा प्रेस्टिाइडको मात्रा बढी भएको भन्दै अन्तराष्ट्रिय बजारबाट फर्कने गरेको छ ।
जीवनाशक विषादी ऐन २०७६ कार्यान्वयन फितलो
जीवनाशक विषादी ऐन २०७६ अनुसार विषादी तथा त्यस्तो बिषादीको सक्रिय तत्व समेत उत्पादन, संलेषण, निकासी पैठारी तथा व्यवसायिक प्रयोग, भण्डारण, विक्री वितरण, ओसारपसार गर्नुपरेका प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रमा पञ्जीकरण गर्नपर्ने उल्लेख छ । पञ्जीकरण नगरिएका बिषादीको प्रयोग र उत्पादन गरेमा ५ हजार देखि २ लाख रुपैया र एक महिना देखि एक बर्षसम्म कैदान गर्न सक्ने प्रावधान रहेको छ ।

तर, यस अघि रहेको कृषि विकास कार्यालय र अहिलेको कृषि ज्ञान केन्द्रले न कसैलाई पक्राउ नै गरेको छ, न कसैलाई कारबाही गर्न नै सकेको छ । विषादी बेच्नेलाई जरिवाना र सामान जफत गर्न सक्ने अधिकार छ । तर, जफत गरिएको सामानलाई कसरी नष्ट गर्ने भन्ने उल्लेख छैन ।

कन्याम चिया बगान अनुगमनमा बोर्डका निर्देशक भट्टराई, बोर्डका प्रवक्ता दिपक खनाल, चिया विस्तार योजना फिक्कलका प्रमुख इन्द्र अधिकारी, वडाध्यक्ष लेखनाथ खड्का, नगरपालिकाका कर्मचारी इश्वरी अधिकारी, पत्रकार सुजन तिमसिना, दिनेश महत, प्रेम अधिकारी, हर्कटे प्रहरीका प्रतिनिधि लगायत रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार