इलाम । नेपाली चियाको ट्रेडमार्क पाउने उद्योगको संख्या २४ पुगेको छ । गत बर्ष १२ उद्योग र विक्रेताले ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालयज’ नामक ट्रेडमार्क यस बर्ष थप १२ जनाले पाएका छन् । इलाम, पाँचथर र मोरङका चिया उद्योग र विक्रेतालाई ट्रेडमार्क दिइएको हो । राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका कार्यकारी निर्देशक डा बिष्णु प्रसाद भट्टराई र सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले संयुक्त रुपमा ट्रेडमाक हस्तान्तरण गरे ।
अर्गानिक प्रमाणीकरण भएका तीनजुरे चिया उद्योग, नेपाल स्मल टी , लक्ष्मी टी इन्डष्ट्रिज, आरुबोटे टी स्टेट, अर्गानिक नेपाली टी इन्डष्ट्रिज, ग्रीनहिल अर्थोडक्स चिया प्रसोधन उद्योग, माङमालुङ टी स्टेट , ग्रीन भ्याली टी प्रालि, मातृभूमी टी स्टेट, इलाम टी हाउस , कञ्चनजंघा टी स्टेट र ब्रर्दश अर्थोडक्स टीले एकै पटक टे«डमार्क पाएका हुन् ।
गत बर्ष सूर्योदय नगरपालिकामा तत्कालिन कृषिमन्त्री घनश्याम भुसालको उपस्थितीमा पहिलो पटक चियाको लोगो हस्तान्तरण गरिएको थियो । बोर्डले २ बर्ष अघि चियाको ट्रेडमार्क कार्यान्वयनमा ल्याएको थियो । यस पटक इलामका १० , पाँचथर १ र मोरङको १ उद्योगले ट्रेडमार्क पाएका छन् ।
ट्रेडमार्क प्रयोग गर्न चियाको अन्तिम उत्पादकले राष्ट्रिय चिया तथा कफी विकास बोर्डले तोकेको मापदण्ड पूरा गरी बोर्डमा आवेदन गर्नुपर्छ । तोकिएको मापदण्ड शतप्रतिशत पूरा गरेका उद्योगले मात्रै ट्रेडमार्क पाउँछन् । बोर्डले हरेक वर्ष चिया उत्पादकका लागि ट्रेडमार्क प्रयोग गर्नेबारे आवेदन खुलाउँछ । र, अघिल्लो वर्ष पाएको ट्रेडमार्क हरेक वर्ष नवीकरण गराउनुपर्ने प्रावधान छ । ट्रेडमार्क कार्यान्वयनका लागि ‘नेपाल अर्थाेडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४’ बनेको छ ।
नेपाली चियाको अन्तिम उत्पादकले ट्रेडमार्क प्रयोग गर्न पाउनेछ । प्याकेजर वा उत्पादकले चियामा तोकिएको गुणस्तर पुगेपछि बोर्डमा निवदेन दिनुपर्ने र बोर्डले आवश्यक परे स्थलगत अवलोकनसमेत गरेपछि मात्रै ट्रेडमार्क प्रयोग गर्न दिने व्यवस्था निर्देशिकामा छ । प्रकृति जोगाउने, मानिसलाई आदर गर्ने, स्वच्छ तथा सबैले देख्नेगरी उत्पादन गर्न सक्ने र गुणस्तरमा ध्यान दिएको हुनुपर्ने गरी ४ सर्त निर्देशिकामा व्यवस्था छ । माटोको परीक्षण, लगाइएका श्रमिकको अधिकार कार्यान्वयनमा पनि निर्देशिकाले उल्लेख गरेको छ ।
ट्रेडमार्क हस्तान्तरण कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा बिष्णु प्रसाद भट्टराईले चियालाई अर्गानिक प्रमाणीकरण गरी बिश्व बजारमा नेपाली चियाको बजार बिस्तारमा टे«डमार्क कोसेढुंगा सावित भएको बताए । उनले अर्गानिक चिया उत्पादनमा समस्या भए पछि बोर्डले सहयोग गर्ने बताए । भट्टराईले इलामका केहि चिया बगानमा नेपालमै प्रतिबन्ध लगाईएको बिषादी प्रयोग गरिएको पाईएकाले तत्काल अनुगमन गरी कारवाही गरिने बताए ।
उनले अर्गानिकमा जान समय लाग्ने भएकाले किसानलाई अर्गानिक चिया उत्पादनमा लाग्ने समयको लागि अनुदान, सहुलीयत ऋणको ब्यवस्था गरिने बताए । उनले चीनसंग चिया व्यपारको लागि प्रक्रिया अघि बढेको बताए । ‘नेपाली चिया चीन निर्यात गर्न जी टु जी सम्झौताका लागि ड्राफट तयार भइसकेको छ केही समय भित्र नै यो कार्यान्वयन गरिनेछ ।’ उनले भने
सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले कोरोनाको लामो संक्रमण पछि साना चिया उद्योग संकटमा परेको चिन्ता व्यक्त गरे । उनले चिया क्षेत्रमा स्थिरता ल्याउनका लागि हरियोपत्तीको न्युनतम समर्थन मुल्य ४० रुपैया तोकिएको भएपनि ठुला उद्योगले कार्यान्वयनमा नल्याउँदा समस्या देखिएको बताए । चिया उद्योगी उदय चापाँगाईले चिया क्षेत्रमा सरकारी क्षेत्र र उद्योगीहरुको दिशा फरक हुँदा धरासायी बनेको बताए ।
उनले चिया क्षेत्रमा सरकारी क्षेत्रको समेत चासो कम भएको गुनासो गरे ‘ बैंकहरुबाट ४० खर्ब बराबरको लगानी छ तर चिया क्षेत्रमा त्यसको १० प्रतिशत समेत लगानी छैन् । ’ उनले भने ‘ चिया क्षेत्रमा मात्र सहुलियत ब्याजदरमा ऋण प्रवाह हुने हो भने नेपालको व्यपार घाटा कम गर्न चिया क्षेत्र उपयोगी हुनेथियो ।’ उनले अझै पनि नेपालको चिया दार्जिलिङको लोगोमा बिश्व बजारमा बिक्री भइरहनु दुःखद भएको बताए ।
राष्ट्रिय चिया तथा कफी बिकास बोर्डले २०२० मे बाट नेपाली चियाको दिगो निर्यात अभिबृद्धि आयोजना संचालनमा ल्याएको छ । परियाेजना २०२३ अप्रिल सम्म सँचालन हुनेछ । परियोजनाकाे बारेमा जानकारी दिँदै संयोजक बिनय शर्माले चियालाई अर्गानिक गर्न किसानलाई सघाउदै उद्योगी र बजारणीकरणमा परियोजनाले जोड्ने काम गर्ने बताए । उनले परियाेजनाकाे लागि किसानका बगानमै पुगेर काम थालिने जानकारी दिए ।