इलाम : इलाम जिल्लाको पश्चिमी क्षेत्र र पाँचथरसम्मका बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्ने ३४ किलोमिटर लामो फाल्गुनन्द राजमार्गको अवस्था नसुध्रिँदा यस क्षेत्रका बासिन्दा सधैं प्रभावित हुने गरेका छन् । कतिले अकालमा ज्यान गुमाउँछन् त उपभोग्य सामग्री ल्याउन र उत्पादित सामग्री बजार पुर्याउन नसक्दा दैनिक जीवनयापनमा नै समस्या हुने गरेको छ ।
सो सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएर काम सुरु भइसकेको छ । दमकदेखि चिसापानीसम्मको सडक कालोपत्र गर्न ठेक्का सम्झौता भए पनि भौगोलिक कठिनाइ–लगायतले काम अपेक्षा गरेअनुसार अघि बढेको छैन । दमकमाथिदेखि लारुम्बाको फेदीसम्म रतुवा तिरैतिर चुरे क्षेत्रमा हिउँदमा सवारीसाधन चले पनि बर्खायाममा मुस्किल छ ।
इलाम–पाँचथर सीमावर्ती क्षेत्रमा चल्ने सवारीसाधन बिर्तामोडबाट माईनगरपालिका हुँदै लारुम्बा भएर गुड्ने गरेका छन् । ‘तर खोलामा पुल नहुने र कतिपय स्थानमा पहिरो खस्ने भएकाले यो सडकमा नियमित सवारीसाधन चलाउन सकिँदैन,’ सवारी चालक पेरिस पराजुलीले भने । इलामको चिसापानीदेखि झापाको दमकसम्मको सडक तीन खण्डमा ठेक्का लगाएर कालोपत्र थालिएको हो । दुई लेनको सडक कालोपत्र सक्ने गरी काम थालिएको हो ।
झापा र इलामको सिमानादेखि मर्चेबुङसम्म ६ दशमलव २९ किलोमिटर सडक कालोपत्रको काम भइरहेको छ । उक्त खण्ड २२ करोड ५९ लाख ६४ हजार रुपैयाँमा काठमाडौंको महालक्ष्मी किरातेश्वर जेभीले ठेक्का पाएको हो । सडकको दोस्रो खण्ड लुम्बिनी गणपति जेभीले ठेक्का पाएको छ । १५ दशमलव २६ किलोमिटर सडक ५४ करोड ४४ लाख ८७ हजारमा ठेक्का सम्झौता भएको छ ।
तेस्रो खण्डको ठेक्का पनि लुम्बिनी गणपति जेभीले नै लिएको छ । ११ दशमलव ३० किलोमिटर सडक कालोपत्र गर्न ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का सम्झौता भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि काममा ढिलासुस्ती भएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
काम ढिलो हुनुमा स्थानीयले ठेकेदार कम्पनीमाथि दोष थोपर्दै आइरहेका छन् । तीनै खण्डमा सडक विस्तार, नाली, ड्रेनवाललगायतका पूर्वाधारका काम भएका छन् । उक्त सडक पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङको निर्वाचन क्षेत्रअन्तर्गत पर्दछ ।