Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

रक्षक नै भक्षक भएपछि अदालत परिसरमै विमलाको हत्या

रक्षक नै भक्षक भएपछि अदालत परिसरमै विमलाको हत्या

  • सन्देश सम्वाददाता
  • मंगलबार, असार २९ २०७८


रक्षक नै भक्षक भएपछि अदालत परिसरमै विमलाको हत्या

इलाम । उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत कर्मचारीको हत्या प्रहरी असईले गरेको खुलासा भएको छ । उच्च अदालतका न्यायधिशका गार्ड रहेका प्रहरीका असई युवराज बानियाँले कार्यालय सहयोगी ४८ बर्षिया बिमला पराजुलीको हत्या गरेको प्रहरीले जनाएको छ । मूख्य न्यायधिशकै क्वाटरमा बानियाँले हत्या गरेको स्वीकारेको इलामका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए ।

धनकुटा होलीखर्क– ५ घर भई २ वर्षदेखि मूख्य न्यायधिशको गार्डमा कार्यरत ३५ वर्षीय प्रहरी असई बानियाँ र मृतक पराजुली बीच लामो समयदेखि सम्बन्ध रहेको र आर्थिक लेनदेनको विषयमा झगडा हुँदा हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी श्रेष्ठले बताए । तर, शव अर्धनग्न अवस्थामा घोप्टो भेटिएकाले बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय इलाममा घटना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एसपी श्रेष्ठले भने, ‘उनले बलात्कार स्वीकारेका छैनन् तर त्यस विषयमा पनि अनुसन्धान गर्छौं ।’ आइतबार साँझ क्वाटरमा हत्या गरेर हिँडेका बानियाँले राती आएर क्वाटर बाहिर शव फ्याकेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

मृतक पराजुलीको मोबाइल र ब्याग कार्यालय भित्रै भटिएको थियो । प्रहरीका अनुसार फोन र ब्याग कार्यालयमै राखेर अदालत परिसरमै रहेको करेसाबारीमा सब्जी टिप्न गएकी पराजुलीले नै फोन गरेर बानियाँलाई अदालत बोलाएकी थिइन् । अदालतभन्दा बाहिरै परिवारसँग डेरा गरेर बस्ने बानियाँ पराजुलीको फोनपछि अदालतको पछिल्लो भागबाट पर्खाल हुँदै भित्र (अदालत) आएका थिए ।

‘मूख्य न्यायधिश बिदामा रहेको र क्वाटरको तालाचाबी बानियाँसँगै रहेकाले त्यसपछि दुवै जना क्वाटरभित्र गएपछि घटना भएको देखिन्छ ।’ एसपी श्रेष्ठले भने । क्वाटरभित्र मृतक पराजुलीले बलात्कारको मुद्धा लगाउँछु भनेर निस्कन लागेपछि बानियाँले हत्या गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीको नियन्त्रणमा रहेका बानियाँले घाँटी थिचेर हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

मृतक पराजुलीको कानको टप क्वाटरको ढोकामा राखिएको म्याटमा भेटिएको र उनले लगाएको दुई तोलाको सिक्रीसमेत बानियाँको निवासबाट बरामद गरेको प्रहरीले जनाएको छ । सुरक्षा घेराभित्र कार्यालय पोशाकमै अदालतकी कर्मचारीको शव अर्धनग्न अवस्थामा भेटिएपछि प्रहरीले तत्काल गम्भीरताका साथ अनुसन्धानलाई अघि बढाएको थियो । प्रदेश कार्यालयबाट डग स्याकिङ्ग टोलीले डग ट्रयाकिङ्ग समेत गरेर सोमबार नै बानियाँलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार