इलाम । कोरोना महामारीका कारण पूर्वी इलामको सूर्योदय नगरपालिका–१० फिक्कलबाट प्रसारण भइरहेको रेडियो बुद्धवाणी ९५.७ मेगाहर्ज अनिश्चित कालका लागि बन्द भएको छ । संक्रमणबाट एफएमका चारजनामा एकै पटक संक्रमण देखिएपछि एफएम बन्द गर्नु परेको रेडियो सञ्चालक समितिले आइतबार बिज्ञप्ति निकालेर जानकारी दिएको छ ।
एफएमका समाचार संयोजक मनोज अधिकारी, समाचार बाचक बिवेक घिमिरे र प्राबिधिक रविन गुरुङ्गको एन्टिजेन परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । रेडियो प्रबन्ध निर्देशक दिनेश महत यसअघि नै संक्रमित भएर होम आइसोलेसनमा रहेका छन् । बिषम परिस्थितीमा पनि आम नागरिकहरुमा नियमित सुचना प्रबाह गरिरहेको अवस्थामा कर्मचारीमा संक्रमण देखिएपछि रेडियो बन्द गर्न बाध्य भएको सञ्चालक समितिले जनाएको छ ।
बुद्धवाणीका चार जनामा कोरोना संक्रमण देखिएसंगै इलाममा दोस्रो लहरको कोरोनाबाट संक्रमित हुने पत्रकारको संख्या १२ पुगेको छ । यसैक्रममा पत्रकार महासंघ इलाम शाखाले प्रेस बिज्ञप्ति जारी गर्दै कोभिडकै कारण बिज्ञापन बजार अत्यन्त न्यून हुँदा पत्रपत्रिका, रेडियो र अनलाइन सञ्चार माध्यमको प्रकाशन÷प्रशारणमा गम्भिर असर पुगिरहेको जनाएको छ ।
महासंघका अध्यक्ष बिप्लव भटटराई र सचिब भिम चापागाईद्धारा जारी बिज्ञप्तिमा जिल्लामा रहेर पत्रकारिता गरिरहेका पत्रकारले कोरोनाकै कारण बिस्थापित हुनुपर्ने अवस्था सृजना भएको जनाएको छ । यस्तो जटिल परिस्थितीमा फ्रण्टलाइनमा क्रियाशिल पत्रकारलाई कोभिड बिरुद्धको खोप, स्वास्थ्य सामाग्री, पिसिआर तथा एन्टिजेन परिक्षण उपलब्ध गराउन महासंघले बिज्ञप्ति मार्फत सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
यस्तै महामारीका कारण धरासायी बनेका सञ्चार माध्यमलाई सहुलियत प्रदान गर्न तीनै तहका सरकारसंग आग्रह गर्दै, संक्रमित पत्रकारलाई निःशुल्क र सहज उपचारको प्रबन्ध गर्न पनि महासंघ इलाम शाखाले बिज्ञप्ति मार्फत माग गरेको छ ।