इलाम । इलाममा एक साताको लागि निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले २९ बुँदे सुचना जारी गर्दै आगामी असार १४ गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जनाए । जिल्लामा संक्रमण केही सामान्य भएपनि संक्रमित हुने क्रम जारी रहेकाले निषेधाज्ञा थप गरिएको जनाइएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी असार ७ गते मध्यरातीबाट असार १४ गते मध्यराती १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।
जनस्तरबाट नै निषेधाज्ञा पूर्ण रूपले पालन गरिएको र जनस्वास्थ्यलाई ध्यान केन्द्रित गर्दै निषेधाज्ञा थप गरिएको बताइएको छ । सो निषेधाज्ञा आउँदो १४ गते राति १२ बजेसम्मका लागि लागु गरिने छ । यातायातका साधन, सेमिनार, जुलुसलगायत बन्द रहेको जनाइएको छ ।



