इलाम । इलामको पशुपतिनगरबाट चित्रेहुँदै एक डेढ घन्टाको पैदलयात्राको मज्जा लिँदै पुग्न सकिन्छ नेपाल भारत सिमानाको मानेभन्ज्याङ। इलामका उत्तरी भेगहरू जोगमाई, जौवारी, गोर्खेलगायत मावुका माथिल्ला क्षेत्रहरूको समेत प्रमुख किनमेलको केन्द्र बनेको छ यो भारत प्रशासित बजार जहाँ असीको प्रारम्भिक दशकमा नै सीमा अतिक्रमणको घटनाले नेपाली आम मन दुखेथ्यो र पञ्चायतविरुद्व नेपालको इतर राजनीतिको पारो उत्कर्षमा पुगेथ्यो।
भारत निर्मित सडकले मानेभन्ज्याङहुँदै सीमाक्षेत्रको छाती चिर्दै सन्दकपुरसम्मको गन्तव्य उहिल्यै कोरेको हो। अलिक माथि रहेको बस्ती टाढैबाट देखिने चित्रे गुम्बाको नामले चिनिन्छ। चित्रेहुँदै सीमाको बस्ती मेघ्मा भेटिन्छ जहाँ केही वर्षपहिले दार्जिलिङमा हत्या गरिएका गोर्खालीगका नेता मदन तामाङको भौतिक उपस्थिति नभए पनि ठूलो कोलोनी र उनले ओगटेका जमीनहरू मार्फत उनी चर्चामै छन् अद्यापि। यसैले पनि मेघ्मा र मदन पर्यायवाची लाग्छन् यहाँ।

मेघ्मा अर्थात् बादलकी आमा। अधिकांश समय मेघाच्छादित रहने भएरै यो नाम जुराइएको रे। मेघ्मा छोडेर अगाडि बढ्दा अलिक खोंचमा लमतन्न सुतेको देखिन्छ तुम्लिङबजार। सुरम्य इलामको दुर्गम गाविस साविक जोगमाई ३ मा अवस्थित तुम्लिङबजार सन्दकपुर जाने पर्यटकहरूको राम्रो बिसौनी मानिन्छ। दुई हजार नौ सय ७० मिटरको उचाइमा रहेको सानो झुरुप्प परेको पहाडी बस्ती हो तुम्लिङ।
तुम्लिङबाट आधा घन्टा उकालिएपछि फाटक पर्छ सिमामा। खुलेको मौसममा हातैले भेटेझैं लाग्ने सन्दकपुर तथा भारतको सिंहलीला नेसनल पार्क एवं दार्जिलिङ र सिक्किमसम्मका प्राकृतिक सुन्दरतालाई आँखा र क्यामरामा सजाउन लालायित देखिन्छन् यहाँ पुग्नेहरू। जमुना गाविसको जौवारी अर्को सीमा बस्ती हो फाटकमाथि, जहाँ शेर्पाहरूको आधिक्य रहेको छ। यहाँका बस्तीहरूको नामैबाट भौगोलिक परिवेश बुझिन्छ।

अलिक होचो तर समथर भूभागमा रहेको छ गैरीवास, त्यसपछिको सानो बजार कैयाकट्टा अनि बाटैमा रहेको धमिलोपानीको पोखरी सम्झाउने कालपोखरी। कालपोखरीबाट माथि लागेपछि चौंरीगाई प्रजाति भेटिन्छन् ठाउँठाउँमा। चिराइतो, बिखुमा जस्ता अनेकौं वनौषधि र जडीबुटीको लागि प्रसिद्ध यो जैविक क्षेत्रको माथि रहेको छ बिखेभन्ज्याङ। बिखेभन्ज्याङको उच्चाटलाग्दो घुम्ती छिचोलेपछि तीन हजार ६ सय ३६ मिटर उचाइको सन्दकपुर पुगिन्छ।

कञ्चनजंघा, कुम्भकर्णलगायत साना ठूला शिखरहरू नजिकै देखिने यो ठाउँमा मौसम खुल्दाको चौतर्फी दृश्य लोभलाग्दो हुन्छ। सूर्योदय अगाडि चारैदिशामा देखिने रत्तिम लालिमा झनै मादक लाग्छ कमनीय प्रकृतिका उपासकहरूलाई। यसैले त, क्यावात सन्दकपुर १ प्राय दुई तले र टिनको छाना भएका आकर्षक घरहरू छन् यो पूर्वोत्तर क्षेत्रमा। काठैकाठले निर्मित घरको भित्री भागमा कलात्मक कालीगढी देख्न पाइन्छ। धेरैजसो चिसो रहने यी उच्च पहाडी भूभागमा देखिने काष्ठकला सौन्दर्यका साक्षी र वातावरण मैत्री चेतनाका दृष्टान्तसमेत बनेका छन्।

यस परिसरबाट गुज्रिने पर्यटकहरूलाई लजिङ र फुडिङको सेवा प्रदान गरिरहेछन् अधिकांश यस्ता घरहरूले। भारतको दार्जिलिङ तथा अन्य भेगबाट आएका पर्यटकहरू मानेभन्ज्याङ, चित्रे, मेघ्माको बाटो गरी तुम्लिङहुँदै सन्दकपुरको लक्ष्य पछ्याउँछन्। नेपालपट्टि इलामको साविक जमुनाको इङ ला हुँदै महिलाको व्यवस्थापन रहेको चोयाटार सामुदायिक वन क्षेत्रमा पुगी दुर्लभ हाब्रे अवलोकन गरी जौवारी हुँदै उकालो चढ्नेहरू पनि उल्लेख्य संख्यामा भेटिन्छन् आजभोलि।
यस्तै इलाम बजारबाट मावुहुँदै कालपोखरी निस्केर सन्दकपुरको गन्तव्य भेट्टाउन सकिन्छ अर्को वैकल्पिक पदयात्रा मार्ग ट्रेकिङ रुटबाट, गाउँपिच्छे खुलेका होमस्टेमा मितव्ययी तर आत्मीय आतिथ्य ग्रहण गर्दै अनि मौसमअनुसारका स्थानीय परिकारको स्वादमा रमाउँदै। भारतपट्टिको मानेभन्ज्याङदेखि भाडामा पाइने ल्यान्डरोभरहरूले सन्दकपुरसम्मको यात्रालाई धेरै सहज तुल्याएका छन्।

त्यसो त भारत र नेपालको सीमाका विस्फारित भूगोलका मनोरम दृश्यपान गर्दै यात्रिल बन्न चाहनेहरूको लागि गजबको पदयात्रा मार्ग हो यो भेग। आरामसँग पारिवारिक पदयात्रामा आउने विदेशीहरू मानेभन्ज्याङ, तुम्लिङ, कालपोखरीमा एक एक रात बिताई अक्सर चौथो दिनमा सन्दकपुर बास बस्न पुग्छन्। कात्तिकको अन्त्य हुँदा नहुँदै कठ्याग्रिने यो भेगबाट घमाइलो दिनमा चारैतिरका टाढाटाढासम्मका चित्ताकर्षक दृश्यहरू अघान्जेल हेर्ने मौका मिल्छ।
यो क्षेत्रबाट देखिने मनोरम हिमशिखर र दृश्यावलीको आधाभन्दा अधिक अंशको स्वामित्व नेपाली भूभागमा रहेको छ। यद्यपि भारतीय मार्गको प्रयोग गरी आउने पर्यटकको बाहुल्यले गर्दा यहाँको पर्यटकीय लाभ भारतकै पोल्टामा परिरहेको छ। नेपाल भारतबीचका अन्तरदेशीय सीमाका अनेकन कार्यक्रम र संगोष्ठीहरूमा नेपालका यावत् जैविक मार्गलाई संयुक्त पर्यटकीय प्याकेजमा सामेल गर्नेतर्फ हाम्रो ध्यान नपुगेर नै हो हाम्रा आकर्षक स्थलहरूमा विदेशी नजर पार्न नसकिएको।

भारतीय मार्गबाट आएका पर्यटकहरू सीमाभित्र नेपाली भूमिको बस्तीहरू टेक्दै वरपरका नागी र नौलो परिवेशको भरपूर आनन्द लिँदै बेफिक्री हिँडेको देखिन्छ। तर सीमापारिको भारतीय भूमिको बाटो टेकेर सन्दकपुर जाने नेपाली राहदानी लिएका विदेशीहरूको लागि भने भारतीय सीमा बलको क्याम्प तगारो बनी मेघ्मा, फाटक, गैरीबास, कालपोखरीदेखि उँभो सन्दकपुरसम्मै निगरानीमा खटिएको छ। धन्य भारतको ठुल्दाइ नीति र हाम्रो लाचार प्रशासन ।
म्मेघ्मा, तुम्लिङ, जौवारी आदि यी सीमावर्ती बस्तीहरू भौगोलिक रूपमा त नेपालमा नै पर्दछन् तर यहाँ व्यवहारगत र भावनात्मक रूपमा नेपाल भने विरलै देख्न पाइन्छ। फेदीमा रहेका नेपाली वस्तीहरूमा उत्पादित सागसब्जी र अन्य स्थानीय उत्पादनहरूले यहाँ ठाउँ पाएका छैनन्। यहाँ त चामल, दाल, नुन, तेल, इन्धन, लत्ताकपडामात्र होइन, सागपातसमेत पश्चिम बंगालको सिलगढीबाट ल्याइन्छ।

अधिकांश नेपालीको नातासम्बन्ध बाँसबोटे, रिम्बिक, लिङ सेबुङ आदि पाश्र्ववर्ती भारतीय गाउँहरूसँग रहेको छ। धेरैले दार्जिलिङवासीझैं उताकै रासनकार्ड हात पारेका छन्। फलत मासिकरूपमा कोटामा मिल्ने चामल, दाल, नुन, तेल निशुल्क पाउँछन्। यी साना बजारहरूमा जताततै पाइने सादा ठूलो आकारको मम र बीचमा डबल पार्टिसनसहितको गोलो बाक्लो रोटीले तिब्बती खानाको झल्को दिन्छन्।
बोलीचाली र रहनसहन पनि दार्जिलिङवासीसँग काटीकुटी मिल्ने। धेरैका नानीहरू दार्जिलिङतिरै स्कुले एवं उच्च शिक्षा लिइरहेका छन्। हरेक वर्ष यो भेगका दुईचार घरपरिवार व्यापार विस्तारको क्रममा मानेभन्ज्याङ तथा दार्जिलिङ क्षेत्रमा स्थायीरूपमा बसाइँ जान्छन्। यी विशेषताहरू सीमा क्षेत्रका अन्य वस्तीहरूमा समेत पाइन्छन्। यसरी सुविधा र लाभका लागि भारतको दार्जिलिङ उन्मुख छन् सीमाक्षेत्रका नेपालीहरू।

विडम्बना के छ भने भारतपट्टिको क्षेत्र सिंहलीला नेसनल पार्कको रूपमा संरक्षित छ जहाँ जताततै हरियाली देख्न पाइन्छ, काठ दाउरा काट्न पूर्ण निषेध गरिएको छ। भारतीय सीमा बलको उपस्थिति र नियमित अनुगमनले सीमापारिको जैविक विविधता राम्रो फष्टाएको छ। यता नेपाली भूभाग भने जथाभावी रूखकटान, अनियन्त्रित चरिचरन र अन्य अवाञ्छित गतिविधिहरूले एकतमासको उजाड क्षेत्र बन्दै जाँदो छ दिनानुदिन।

हुलाक सेवा र प्रहरी चौकीबाहेक स्थानीय सरकारका निकायहरूको खासै उपस्थिति देखिँदैन यो करिडोरमा। इलाम सदरमुकामको प्रशासन र विकासे अड्डाहरूको नजरबाट ओझेल प्रायस् बनिसकेका यी उत्तरवर्ती भेगहरू उपेक्षित कुनोको रूपमा परित्यक्त छन् अझै राज्यको सेवासुविधाबाट। पर्यटकीय केन्द्र तुम्लिङले पानीको चर्को समस्या भोगिरहेको छ। जिल्लास्थित कुनै सरकारी तथा गैरसरकारी निकायको ध्यान तानिएको छैन यसको समाधानार्थ।
तुम्लिङजस्तै अन्य सीमावर्ती भेगहरूका पनि अनगिन्ती समस्या छन् आआफ्नै पेटारोभरि खाँदिएका। जौबारीस्थित आलु विकास परियोजना कुनै समय पूर्वको मात्र होइन, राष्ट्रिय गौरवकै कृषि उद्यम थियो तर यसका भग्नप्रायस् भवनहरू यो भेगको बढ्दो गरिबीका निरीह साक्षी बनिरहेछन् अहिले। गोठे संस्कृति झल्काउने र पर्यटनका नयाँ आधार बन्न सक्ने जमुना र जोगमाईका गाईगोठ र चरिचरन क्षेत्रहरू संरक्षणको पट्यारलाग्दो पर्खाइमा मासिँदै छन् क्रमश ।

विविध वन्यजन्तु र वनस्पति पाइने यो क्षेत्रको जैविक विविधता पनि बेवारिस बनिरहेको छ। यस्तो परिवेशमा रहेका बासिन्दाहरू भौगोलिक सीमांकनमा नेपाली भए पनि भावनात्मकरूपमा कसरी नेपालीपनको अनुभूति गर्न सक्छन् र । कारण यही हो कि सीमापारिको राजनैतिक एवं अन्य दैनिक गतिविधिबारे अपडेट रहन्छन् उनीहरू, जबकि नेपाली भूगोलमा घटेका घटनाहरू उनीहरूको चासो र चिन्तामा पर्दै पर्दैनन्।
यात्राको क्रममा भेटिएका मेघमाका शिक्षक तथा सामाजिक अगुवाको गुनासो थियो, नवावी रवाफमा आउँछन् प्रशासकहरू राजकीय भ्रमणझैं गरी र फर्कन्छन् मनमाफिक घुमफिर गरी, स्थानीय समस्यासँग बिल्कुलै अस्पृश्य बन्दै। सीमावासी नेपालीले स्थानीय प्रशासनबाट अति आवश्यक सुविधाहरूसमेत पाएका छैनन्। बरु पाएका छन् त केवल तिरष्कार र हेलाहोंचो।

त्यसैले त होला सीमाक्षेत्रका यी दुखि मनहरू सीमा मिचिँदा पनि प्रतिक्रियाविहीन जस्ता देखिएका। सीमा क्षेत्रका जंगे पिलरहरू उनीहरूकै आँखा अगाडि सारिँदा पनि मौन रहन्छन् उनीहरू किनकि उनीहरूलाई नेपाली भूगोलले मात्र बाँध्यो, नेपाली मनले होइन। भूमण्डलीकरणले आर्थिक सामाजिक हरेक क्षेत्रमा कब्जा जमाएको २१ औं सदीको यो समयमा भूगोलमा मात्र कहाँ कैद छ रहनसक्छ र राष्ट्रियता ।
खनियाले इलामकाे एक गैरसरकारी सस्थामा काम गरेका थिए ।