Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

नेपालकै होचो भु–भाग केचनादेखि ताप्लेजुङ्गको कंचनजंघा जोड्ने मार्ग निर्माणको थालनी

नेपालकै होचो भु–भाग केचनादेखि ताप्लेजुङ्गको कंचनजंघा जोड्ने मार्ग निर्माणको थालनी

  • सुजन तिमल्सिना
  • सोमबार, जेष्ठ ३ २०७८


नेपालकै होचो भु–भाग केचनादेखि ताप्लेजुङ्गको कंचनजंघा जोड्ने मार्ग निर्माणको थालनी

इलाम । नेपालको होचो भु–भाग केचनादेखि कंचनजंघासम्म जोड्ने सडक आयोजनाको काम शुरु भएको छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्रमा आन्तरिक बाह्य पर्यटक पु¥याउने उदेश्यका साथ सडक योजनाको काम शुरु भएपछि स्थानीय बासिन्दा पनि खुशि भएका छन् ।
नेपालकै होचो क्षेत्र केचनाबाट ताप्लेजुङको कंचनजंघा बेसक्याम्पसम्म जोड्ने सडक निर्माणको काम चालु आर्थिक वर्षबाट शुरु भएको हो । इलामका संघीय सांसद तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सुवास नेम्बाङ, झापाकी संघीय सासंद पवित्रा निरौला खरेल, पाँचथरका संघीय सांसद तथा भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्बाङ र पूर्व पर्यटन मन्त्री योगेश भट्टराईको प्रस्तावमा सरकारले केचना कंचनजंघा सडक आयोजना स्वीकृत गरि निर्माणको काम शुरु गरेको छ ।


नेपाल भारत सीमा क्षेत्रमा पर्ने पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने र पर्यटन व्यवसायबाट देशको अर्थव्यवस्थामा सुधार गर्ने योजनाका साथ सडक योजना अघि सारीएको हो । झापाको कचनकवलदेखि, इलामको दानाबारी, बेलासे गोलाखर्कहुँदै सो सडक सन्दकपूर गाउँपालिकाको गोरुवाले जोडिनेछ ।
गोरुवालेबाट पाँचथरको भैसे च्याङ्थापू, कालिखोला तिम्मुङ पोखरी हुँदै ताप्लेजुङको कंचनजंघा बेसक्याम्प सडक जोडिने छ । सडकको २ प्याकेजमा डिटेल सर्भेको काम भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङले बताए । मन्त्री नेम्बाङ भन्छन्–‘सडकको इलाम खण्डमा अहिले काम भइरहेको छ र डिटेल सर्भेको काम सकिएपछि हामी आगामि वर्षको बजेटबाट निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउँछौँ ।


अहिले सडक आयोजनाको इलाम खण्डमा पुरै ट्रयाक खनिसकिएको र पाँचथर खण्डमा ट्रयाक खन्ने काम भइरहेको छ । सडकको अनुगमन मुल्याङकन र ठेक्का व्यवस्थापनको काम सडक डिभिजन इलामले पाएको छ । आयोजनाको इलामको माई नगरपालिकाको बेलासेदेखि इलाम नगरपालिकाको गोलाखर्क भञ्ज्याङसम्मको सडक कालोपत्रेका लागि ठेक्का व्यवस्थापनको काम भइसकेको सडक डिभिजन इलामका प्रमुख अविमान मुल्मीले बताए ।
बेलासे गोलाखर्क भञ्ज्याङ सडक खण्ड कालोपत्रेका लागि चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ विनियोजन भएको छ । सो खण्ड कालोपत्रेका लागि सरकारले ५४ करोड रुपैयाँको श्रोत सुनिश्चित गरि ठेक्का लगाउन स्वीकृति दिएको हो । सडक डिभिजन प्रमुख अविमान मुल्मी भन्छन्–‘चालु आर्थिक वर्षमा ठेक्का व्यवस्थापनको काम सकिएर बेलासे गोलाखर्क खण्डको काम अघि बढ्छ ।’
राष्ट्रिय गौरवको रुपमा रहेको सडक आयोजना निर्माण भएपछि उच्च हिमाली क्षेत्रका पर्यटकीय क्षेत्रमा सहजै पर्यटक पुग्नेछन् । सडक पुगेपछि उजाड लेकाली क्षेत्रमा पर्यटकीय गतिविधि बढ्दा रोजगारीका अवसर र आर्थिक विकासमा सहयोग पुग्ने सरकारी विश्वास छ ।

अधिकासं पर्यटकीय गन्तव्यसँग जोडिने सडक आयोजना निर्माणपछि लेकाली क्षेत्रका बासिन्दामा पनि खुशियाली छाएको छ । भारतपट्टि पर्यटन पूर्वाधार निर्माणको काम भइसकेको सीमा क्षेत्रमा नेपालपट्टिबाट पनि पूर्वाधार निर्माण भएपछि नेपाल भएर पनि तेस्रो मुलकका पर्यटक पुग्न सक्नेछन् । दुई लेनको सडक प्राथमिकताका साथ अघि बढाउन संघीय सासदहरुले सरकारलाई आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार