इलाम । गत बर्ष बैशाख १ गते कन्याम लगभग शुन्य थियो । कोरोना कहर सुरु भएपछि सुनसान भएको कन्याम यस बर्ष भने भरिएको छ । नयाँ बर्षको पहिलो दिन कन्याममा पर्यटकहरुको चाप थामि नसक्नु छ । सडकको दायाँबायाँ गाडीहरु राखिएको गाडीहरुले बाटो जाम नै भएको थियो ।

कोरोना कहर पछिको नयाँ बर्षमा कन्याममा बनभोज खाने मात्रै होइन घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लाग्न थालेको छ । यहाँको आर्कषण नै चिया बगान हो । चिया बगान र वरपरका दृश्य हेर्न पर्यटक यहाँ आउने गरेका छ्न । देशका विभिन्न स्थानबाट नयाँ बर्षमा कन्याममा होलिडे मनाउन हजारौको संख्यामा पर्यटकहरु पुगे ।

विशेष गरि गर्मी छल्न ठूलो संख्यामा पर्यटक यहाँ पुग्छन्। उनीहरु त्यहाँ पुगेर नाँच्छन्, गाउँछन्, एकछिन भएपनि चियावारी र प्राकृतिक सौन्दर्यको भरपुर आनन्द लिन्छन् । चाराआली, बिर्तामोडदेखि करिब ४० किमि उत्तरमा पर्ने कन्याममा मेची राजमार्गको दायाँबायाँ हरियो गलैँचाको ओछ्यानजस्तै चियाबारी छन् ।

कुहिरोसँग लुकामारी गरिरहने, शीतल मौसम कन्यामको विशेषता हो । कन्याममा तराईका झापा, मोरङ,सुनसरी लगायतका पर्यटकको आगमनले कन्यामको वातावरण निकै रमाइलो थियो । कन्यामबाट फर्किदा छुर्पी, डल्ले खुर्शानी, ललिप चक्लेट, चिया आदि कोसेलीको रुपमा ल्याउन सकिन्छ ।



