सन्दकपूर । इलामको सन्दकपूर गाउँपालिका भित्र प्रदेश सरकार र संघीय सरकारबाट निर्माणाधिन योजनाहरुको अनुगमन गरिएको छ । प्रदेश सासंद खिनु लङ्वा लिम्बुको नेतृत्वमा सन्दकपूर गाउँपालिका भित्रका सडक, खेलमैदान लगायतका योजनाहरुको अनुगमन भएको हो ।
जस अन्तरगत प्रदेश नम्बर एक सरकारबाट निर्माण हुँदै गरेको सुम्बेक, सुलुबुङ,जमुना सिस्ने हुँदै जौबारी भारतीय सीमा जोड्ने पर्यटन सडक, शंखे गोलाइ, टोड्के झरना, याङ्ममा सुलुबुङ सडक, गजधर रंगशाला र रेड पाण्डा प्रजनन केन्द्र टप्पु क्षेत्रको अनुगमन गरिएको हो । त्यस्तै सन्दकपूर गाउँपालिकाको केन्द्र रहेको देउराली बजार रेडपाण्डा प्रजनन् केन्द्र जोड्ने निर्माणाधिन सडकको अनुगमन गरिएको थियो ।
अनुगमन टोलीमा जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, सन्दकपूर गाउँपालिका अध्यक्ष उदय राई, उपाध्यक्ष शोभा पराजुली, वडा नम्बर एकका अध्यक्ष नन्द राई, जिल्ला समन्वय अधिकारी हरि दाहाल, सन्दकपूर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राई लगायतको सहभागिता रहेको थियो ।