इलाम । ४० बर्ष भारतीय जेलमा वन्दी जीवन विताएर फर्किएका माई नगरपालिका–१० का दुर्गाप्रसाद तिम्सिनालाई मानव अधिकार मञ्च इलाम (हुर्फ) ले सहयोग गरेको छ । मानसिक रुपमा विक्षिप्त बनेका तिमसिनालाई मञ्चले पोसाक चप्पल र लड्डु प्रदान गरेको छ । साथै मानसिक समस्या भोग्दै आएका उनलाई मनोपरामर्श सेवाको लागि सहजीकरण समेत गरिने भएको मञ्चले जनाएको छ ।
मञ्चले मंगलबार उनको घरैमा पुगेर स्वास्थ्यअवस्थाबारे जानकारी लिदै उनलाई सहजीकरण गर्ने भएको जानकारी गराएको हो । मञ्चका उपाध्यक्ष वीर बहादुर खड्का र कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्मा सहितको टोली तिम्सिनाको घर पुगरे उनको स्वास्थ्य अवस्थाको समेत जानकारी लिएको छ ।
दुर्गाप्रसादको स्वास्थ्य अवस्था पहिलेको भन्दा निक्कै राम्रो भएको भाई धर्मनन्द तिम्सिनाले बताए । सुरुमा राती चार पटकसम्म बाहिर लैजानु पथ्र्यो, अहिले भने एक पटक मात्रै लैजानु परेको उनको भनाई छ । पहिले शरीर कामीरहन्थ्यो अहिले भने धेरै मानिस भयो भने मात्रै काम्ने गरेको परिवारले जनाएको छ ।
पालिकाको सहयोगमा सकेसम्म चाडै विराटनगरको नर्सिङ्ग होम अस्पताल लैजाने तयारी समेत भईरहेको भतिजो गोपाल तिम्सिनाले जानकारी दिए ।