इलाम । इलाम सदरमुकाममा खानेपानी आपूर्ती गर्न निर्माणाधिन इलाम साना सहरी खानेपानी आयोजनाको अनुगमन गरिएको छ । सन्दकपूर गाउँपालिका भित्र रहेका खोलाहरुको मुहान क्षेत्रको रहेको इलाम साना सहरी खानेपानी आयोजनाको जिल्ला समन्वय प्रमुख गणेश बरालको नेतृत्वमा अनुगमन गरिएको हो ।
खानेपानी आयोजनाको हालसम्म भएको निर्माणको अवस्था र कामको प्रगतिबारे अनुगमन गरिएको हो । सन्दकपूर गाउँपालिका भित्र पर्ने आयोजनाको मुहान क्षेत्र रहेको मेवा, गिताङ, राँते खोला क्षेत्रको कामको अनुगमन गरिएको हो । अनुगमन टोलीमा सन्दकपूर गाउँपालिका अध्यक्ष उदय राई, प्रमुख जिल्ला अधिकारी ध्रुब बहादूर खड्का, नेपाल प्रहरी इलामका प्रमुख एसएसबी नविन कुमार राई, नेकपा एमालेका नेता भक्त केसी, कृष्ण श्रेष्ठ, नेपाली काग्रेसको खगेन्द्र देवानको उपस्थिति रहेको थियो ।
त्यस्तै इलाम साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष केदार थापा अध्यक्ष सचिव तिलक ठकुरी, कोषाध्यक्ष प्रभाश सर्मा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुजन तिमसिना सन्दकपूर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गिरिराज खनाल, आयोजनाका व्यवस्थापक मेगराज धिमाल,आयोजनाका साइड इञ्जिनियर कपिलदेव यादव, विद्यार्थी नेता मान बहादूर गुरुङ्गको अनुगमन टोलीमा सहभागिता रहेको थियो । टोलीलाई खानेपानी आयोजनाको निर्माण पक्षले कामको प्रगति ७२ प्रतिशत पुगेका जानकारी गराएको थियो । अनुगमनमा इलाम नगरपालिका खानेपानी योजना प्रमुख मेघनाथ ढुङ्गानाको पनि उपस्थिति रहेको थियो ।

अनुगमन टोलीसँग सन्दकपूर गाउँपालिका अध्यक्ष उदय राई निर्माणको काम चाँडो सक्न आग्रह गरेका थिए । वर्षात शुरु भएपछि निर्माणको काममा असर पर्ने भएकाले आफ्नो गाउँपालिका भित्र गर्नुपर्ने काम सक्न उनले आग्रह गरेका थिए । आयोजनाका साइड इञ्जिनियर कपिलदेव यादवका अनुसार निर्माणको काममा कतै अवरोध नआए आगामि दशैँसम्ममा उपभोक्ताका धारामा पानी खसालिनेछ ।
‘इलाम बजार तेश्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको रमण कन्ट्रक्सन कम्पनीले ५७ करोड ९५ लाख ७ हजार रुपैयाँमा ठेक्का लिएको छ । खानेपानी आयोजना सञ्चालनका लागि २५ प्रतिशत नगर विकास कोषबाट १४ करोड ४८ लाख ७६ हजार ७ सय ५० रुपैयाँ ऋण लिएको छ । २० वर्षमा साँवा र ब्याज भुक्तानी गर्नेगरी ५ प्रतिशत व्याजदरमा कोषबाट ऋण लिएको हो । त्यस्तै उपभोक्ताबाट लागत सहभागिताको ५ प्रतिशत २ करोड ८९ लाख ७५ हजार ३ सय ५० हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष ०७७÷७८ सम्ममा सम्पन्न गरिसक्नुपर्ने आयोजनाका लागि एसीयाली विकास बैंक (एडीबी) ले ७० प्रतिशत अनुदान उपलब्ध गराएको छ ।

यो आयोजना एडिबीको आर्थिक सहयोगमा इलाममा अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो । खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चार वटा खोलाको मुहानबाट पानी ल्याउने तयारी छ । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड ४१ लिटर पानी आउने अनुगमन टोलीलाई जानकारी गराइयो ।
साना सहरी आयोजनाले हेरेको र अहिले पानी आपूर्ति भइरहेको खानेपानी आयोजनाको मुहान एउटै हो । साना सहरीले सदरमुकामबाट करिब ३२ किलोमिटरको सन्दकपुर गाउँपालिकाको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०–१० र इलाम नगरपालिका २ सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति डिजाईन तयार भएको छ ।
आयोजनाको सुरुको वर्ष दुई हजार सात सय ९८ घरधुरको २१ हजार चार सय ३३ उपभोक्तालाई २४ सै घण्टा पानी पुग्नेछ । २० वर्षपछि यही आयोजनाको खानेपानी उपभोग गर्ने उपभोक्ताको संख्या ३० हजार तीन सय २५ पुग्ने अनुमान छ ।

दुईवर्षे निर्माण अवधि रहेको खानेपानी आयोजना ०७७ चैत १७ भित्र पूरा गर्ने लक्ष्य भएपनि कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन भएपछि निर्माणमा समस्या भएको थियो । यही गतिमा काम भए २०७८ अशोजसम्ममा आयोजना सम्पन्न हुने निर्माण कम्पनी रमन–जेआइइटिसी जेभीका इन्जिनियर तथा आयोजनाका व्यवस्थापक मेघराज धिमालले बताए । आयोजनाका लागि नेपाल सरकारले ७० प्रतिशत, सहरी विकास कोषबाट २५ प्रतिशत ऋण र बाँकी पाँच प्रतिशत उपभोक्ताले व्यहोर्नेछन् ।
आयोजनामा एक लाख ४९ हजार पाँच मिटर पाइप लाइन रहनेछ । आयोजनाले अहिलेसम्म अधिकासं पाइपलाइन जडान गरिसकेको छ । कोरोना भाइरसले निर्माणको कामलाई ८ महिना असर पारेपनि आयोजनाको निर्माणको काम द्रुत गतिमा भएको उपभोक्ता समितिका अध्यक्ष केदार थापाले बताए । उपभोक्ता समितिले आयोजना क्षेत्र भित्र पर्ने स्थानीय तह र स्थानीयबासीलाई राम्रोसँग समन्वय गरेकाले निर्माणको कामले गति लिएको आयोजनाका व्यवस्थापक मेघराज धिमालले बताए ।