इलाम । खेती प्रणाली परम्परागत नै रहे पनि यसमा प्रयोग हुने जनशक्ति घटाउन जिल्लाका किसान प्रविधितिर आकर्षित हुँदैछन् ।
खेतीपातीमा काम गर्ने कामदारको चरम अभाव भएपछि किसानले प्रविधि प्रयोग गर्न थालेका हुन् । चिया टिप्ने, खेतबारी खनजोत गर्ने, घाँस–पराल टुक्र्याउनेलगायत काममा अहिले किसानले मेशिन प्रयोग गर्न थालेका छन् । वैदेशिक रोजगारीले गाउँ युवाविहीन हुन थालेपछि कृषिको काममा प्रविधि भित्रिएको हो ।
जिल्लाका किसान हरियो चियापत्ति टिप्न ‘प्लकिङ’ र चियाको बोट काट्न ‘पुन्डिङ’ मेशिन प्रयोग गरिरहेका छन् । थोरै खर्चमा धेरै काम हुने भएपछि किसानले यस्ता मेशिन प्रयोग गर्न थालेका हुन् । ‘प्लकिङले घण्टामा झण्डै अढाई सय किलो हरियोपत्ति टिप्छ’–सूर्याेदय नगरपालिकाका किसान अनिश राईले भने–‘कामदार लगायो भने त्यति खर्चमा मेशिनले गर्न ेजति कामै हुँदैन ।’ मेशिनलाई घण्टामा आधा लिटर तेल लाग्छ । मेशिनले एक पटक टिपेपछि अर्काे पटक टिप्दा पत्तिमा गुणस्तर आउने किसान बताउँछन् । राई भन्छन्–‘पहिलो पटक चाहिं त्यत्ति गुणस्तर आउँदैन । सानो–ठूलो सबै पत्ति टिप्नुपर्ने हुन्छ । दोस्रो पटकदेखि बोटको सतह मिलेपछि गुणस्तरको पत्ति संकलन हुन्छ ।’ उनले चियाबारीमा काम गर्ने कामदार पाउन छाडेकाले मेशिनले चिया टिप्नु परेको बताए ।
जिल्लाका किसानले खेतबारी जोत्न पनि पावर ट्रिलर प्रयोग गरिरहेका छन् । पहाडमा गोरुलाई बारी जोत्न प्रयोग गरिन्थ्यो । तर, गोरु पाल्ने क्रम घट्दै गएपछि किसान पावर ट्रिलरमा आकर्षित भएका हुन् । ‘गाउँमा बारी जोत्ने गोरु पाइँदैन । पाइए पनि छोइनसक्नु महँगो पर्छ’–सोयाङका किसान लीला सुवेदीले भने–‘पावर ट्रिलरले जोत्दा धेरै छिटो र सस्तो पर्छ ।’
उनले अचेल गाउँमा सबैले यही मेशिन प्रयोग गर्न थालेको बताए । यसले बारी राम्ररी जोतिने गरेको, डल्ला पनि सँगै फुट्ने भएकाले सस्तो पर्ने गरेको छ । यसले घण्टामा करीब ३ रोपनीसम्म जोत्न सक्छ । लाली गुराँस कृषि सहकारीमार्फत गाउँ पुगेको पावर ट्रिलर प्रयोग गरेवापत किसानले घण्टाको अढाई सय रुपैयाँ तिर्नुपर्छ । तर, गोरुले दिनभर जोतेको हजार रुपैयाँसम्म । पावर ट्रिलरले जति गोरुले जोत्न पनि नसक्ने किसान बताउँछन् ।
कामदार अभावले धेरै लगानी र श्रममा खेती लगाउनुपर्ने तर उत्पादन थोरै हुने भएपछि किसान चिन्तित थिए । कतिपय किसानले खेतबारी मासेर अम्लिसो, अलैंचीलगायत अन्य बिरुवा समेत लगाउन थालेका थिए । चिया टिप्ने, बारी जोत्ने, धान रोप्ने र नगदेबाली लगाउने बेलामा किसानलाई धेरै जनशक्ति आवश्यक पर्छ । ‘खेताला पाइँदैन, अर्म–पर्म गरेर पनि साध्य नै छैन । खेती लगाउन र बाली उठाउन नै सधैं धौ–धौ पर्न थालिसक्यो’–शान्तिडाँडाका किसान लक्ष्मी सापकोटाले भने । जिल्लाका सूर्याेदय नगरपालिका, सोयाङ, साँखेजुङ, चुलाचुली, साकफारा र बरबोटेलगायत गाउँका किसानले कामदार अभाव भएपछि आफैं लगानी गरेर पावर र मिनी ट्रिलर खरिद गरेका छन् । पावर ट्रिलरबाट किसानलाई सजिलो भएको र रोजगारीको अवसर पनि भएको सूर्योदय नगरपालिका–१ स्थित आठघरे कृषि सहकारी संस्थाले जनाएको छ । तरकारी खेतीमा लागेका किसानलाई पनि प्रविधिले सहयोग भएको संस्थाका व्यवस्थापक मित्रकुमार राईले बताए । शुरुमा एउटा पावर ट्रिलर लगेको यो सहकारीले खनजोतमा किसानलाई छरितो भएकाले पुनः दुईटा माग गरेको छ ।
जिल्ला कृषि विकास कार्यालयले विगतभन्दा अहिले कृषिले पनि ३० प्रतिशत अनुदानमा किसानलाई पावर ट्रिलर उपलब्ध गराउने गरेको जनाएको छ । कार्यालयका प्राविधिक सहायक केशर मगरातीले यसमा किसानको आकर्षण धेरै रहेको बताए । कम्पनी र त्यसमा लाग्ने इन्धनअनुसार फरक–फरक मूल्य रहेको पावर ट्रिलर पेट्रोल र हावा प्रयोग हुनेलाई ८० देखि ८५ हजार रुपैयाँ पर्छ । पेट्रोल प्रयोग हुने र पानीबाट चल्नेलाई ७५ देखि ८० हजार । बाली विकास निर्देशनालय र कृषि इन्जिनियरिङ निर्देशनालयले अनुदानमा उपलब्ध गराउने यो मेशिनका लागि अहिले पनि १० निवेदन आएको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष ०७१÷०७२ मा कार्यालयले कृषक समूह, कृषि सहकारी र व्यक्तिगत रूपमा ४३ पावर ट्रिलर वितरण गरेको छ । यो आर्थिक वर्ष अगाडि नै जिल्लामा १६ पावर ट्रिलर प्रयोग भएको प्राविधिक सहायक मगरातीले जानकारी दिए । मगरातीका अनुसार लक्ष्मीपुर–४ स्थित सूर्यमुखी बहुउद्देश्यीय सहकारी संस्था, इन्द्रेणी कृषक समूह बाँझो, फुङनाम कृषि सहकारी साकफारालगायत संस्थाका किसानले पावर ट्रिलर प्रयोग गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अहिले दिनहुँ करीब ४० जनाले राहदानीका लागि निवेदन दिने गरेका छन् । यीमध्ये करिब ९९ प्रतिशत वैदेशिक रोजगारीमा जाने गरेकाले पनि जिल्लामा कामदार अभाव भएको हो ।
पछिल्लो समय किसानले घाँस टुक्र्याउने मेशिन पनि घर–घरमै राख्न थालेका छन् । केही वर्षअघिसम्म ठूला गाई फार्म्तिर मात्र देखिने यस्ता मेशिन अहिले किसानले घरमै राखेका हुन् । जङ्गलबाट काटेर ल्याएको घाँस टुक्रयाएर बस्तुभाउलाई खुवाउँदा थोरै घाँस खपत हुने र नाश पनि नहुने किसानको अनुभव छ । सूर्याेदय नगरपालिकाको आठघरे गाउँका रमेश गड्तौलाले यो मेशिन ल्याएपछि काम गर्न सहज भएको बताए । ‘घाँस टुक्र्याएर खुवाउँदा थोरैले धेरै बस्तुलाई पुग्छ ।’