इलाम । इलाममा जारी दोश्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबलको सेमीफाइनल समिकरण पुरा भएको छ । समुह चरणको अन्तिम दिनको खेल सम्पन्न भएसंगै सेमीफाइनल भिड्ने टिम पक्का भएको हो । शनिबार हुने पहिलो सेमिफाइनलमा समूह ए को विजेता त्रिभुवन आर्मी र समूह बी को उप विजेता नेपाल पुलिसबीच प्रतिस्पर्धा हुने छ ।
दोस्रो सेमिफाइनलमा समूह बी को विजेता एपिएफ र समूह ए को उप विजेता विमान ट्रेडर्स विर्तामोड बीच प्रतिस्पर्धा हुने छ । आजको खेलमा पराजित भएपछि डिफेन्डिङ च्याम्पियन गण्डकी समुह चरणबाटै बाहिरिएको छ ।
इलामको ठुलो टुडिखेलमा जारी प्रतियोगिताको शुक्रबारको दोश्रो खेल विभागीय टोली त्रिभुवन आर्मीसंग ३–१ को सेटमा पराजित भएपछि गण्डकीको यात्रा समुह चरणबाटै समाप्त भएको हो । जीतसंगै आर्मी समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ । आर्मीले गण्डकीलाई २५–१५, २५–१८, २१–२५ र २५–१९ ले पराजित गर्न सफल रहयो । सुरुवाती दुवै सेटमा सहज जित निकालेको आर्मीले तेश्रो सेट गुमाउन पुग्यो । चौथो सेटमा उत्कृष्ट खेल देखाउँदै आर्मी बिजय बनेको हो ।
आर्मी रहेको समुह ए बाट विमान ट्रेडर्स विर्तामोड उपबिजेताको रुपमा सेमीफाइनल पुग्यो । गौरादह खेलकुद विकास समिति खेलमा सहभागि नभई वाकओभर दिएपछि विमान समुह उपविजेता बनेको हो । ३ खेलमा नै विजयी भएको आर्मी ७ अंकका साथ समुह बिजेता बन्यो । समान खेलबाट २ मा जित र १ हार निकालेको विमान ७ अंकका साथ दोश्रो स्थानमा रहयो ।
गण्डकी प्रदेश ३ अंकका साथ तेस्रो स्थानमा रहँदै बाहिरियो । गौरादह १ अंकका साथ पुछारमा रहँदै बाहिरिएको छ । समूह ‘बी’ मा एपिएफ २ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्यो । पुलिस ४ अंकका साथ दोस्रो स्थानमा रहँदै समूह उप विजेता बन्यो । दमक अंक विहिन हुन पुग्यो । फाइनल आइतबार हुने छ । फागुन ४ देखि बाट जारी प्रतियोगितामा ३ विभागीय सहित ७ टोलीको सहभागिता छ ।
लिग कम नकआउटका आधारमा संचालित प्रतियोगितामा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, विमान ट्रेडर्स, गौरादह नगर खेलकुद बिकास समिति र गण्डकी प्रदेश छन् । समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र दमक नगर भलिबल क्लब छन् । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछन् ।