Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

‘वाम गठबन्धन नटुटाऔं, सरकारमा माओवादीसँगै मिलौं’

‘वाम गठबन्धन नटुटाऔं, सरकारमा माओवादीसँगै मिलौं’

  • सन्देश सम्बाददाता
  • बिहिबार, फाल्गुन २७ २०७७


‘वाम गठबन्धन नटुटाऔं, सरकारमा माओवादीसँगै मिलौं’

काठमाडौँ  । सत्तारूढ एमालेको माधव नेपाल समूहले वामपन्थी गठबन्धनकै नेतृत्वमा सरकार चल्नुपर्ने निष्कर्ष निकालेको छ । नेपाल समूहका राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले बुधबार सर्वोच्च अदालतको फैसलापछि नयाँ परिस्थिति सिर्जना भएकाले सकेसम्म वाम गठबन्धन टुटाउन नहुनेमा जोड दिएको हो ।

बैठकमा नेतारूले तत्काल वामपन्थी दलको एकता सम्भव नभए पनि सरकारबाट चाहिँ छुट्न नहुने मत प्रकट गरेका थिए । एमाले वरिष्ठ नेता नेपालले वामपन्थी घोषणापत्र जारी गरेर त्यसको बलमा प्राप्त जनमतलाई जोगाएर जानुपर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ‘हामीले वाम घोषणापत्रका आधारमा मत पाएका हौं, त्यसलाई कायम राखेर जानुपर्छ, अन्यथा ढंगले अघि बढ्नु हुँदैन,’ नेपाललाई उद्धृत गर्दै ती नेताले भने । अर्का वरिष्ठ नेता झलनाथ खनालको धारणा पनि नेपालकै जस्तो थियो । खनालले त बुधबार प्रतिनिधिसभा बैठकपछि सार्वजनिक रूपमै एमालेको सरकारलाई अब दुई वर्षसम्म टिकाउन लाग्ने बताएका थिए । त्यसका लागि वाम गठबन्धन कायम राख्नुपर्ने उनको धारणा थियो ।

केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठकपछि नेता रघुजी पन्तले सरकारको विषयमा अहिलेको गठबन्धन टुटाउन नहुने धारणा अधिकांशको रहेको जानकारी दिए । ‘सरकार वामपन्थीहरूको हुनुपर्छ, त्यसैले यो परिस्थिति निर्माण गर्नेतर्फ लाग्नुपर्छ,’ बैठकपछि पन्तले भने, ‘तत्काल पार्टी एकता सम्भव होला कि नहोला तर वामपन्थीकै सरकार आवश्यक छ ।’ अन्य वामपन्थी दलहरूसँगसमेत एकता गरी अघि बढ्नका लागि पनि अहिलेको गठबन्धन कायम राख्नुपर्ने नेपाल समूहका नेताहरूको धारणा छ । सर्वोच्च अदालतको फैसलापछि सांसदहरू एमाले र माओवादी केन्द्रमा विभाजन भएकाले केपी ओली नेतृत्वको सरकार संकटमा परेको छ ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिँदा वा संसद्मा अविश्वासको प्रस्ताव आउँदा एमाले नेतृत्वको सरकार टिकाउन समस्या हुन्छ । त्यसैले सकेसम्म माओवादी केन्द्रसँगको सहकार्यलाई जोगाउँदै जानुपर्नेमा नेपाल समूहको जोड छ । नेपाल समूह नेकपामा तत्कालीन माओवादी केन्द्र धारसँग मिलेर अघि बढेको थियो । संसद् विघटन गर्ने ओलीको कदमविरुद्ध सडक संघर्षसमेत गरेको यो समूह सर्वोच्च अदालतको फैसलापछि ओलीसँगै मिलेर जानुपर्ने अवस्थामा पुगेको छ । त्यसैले नयाँ परिवेशमा विगतको एमालेको शक्तिलाई कायम राख्दै त्यसका लागि सबैले आ–आफ्नो ढंगबाट अधिकतम योगदान गर्नुपर्ने नेताहरूले बताएका छन् । ओली समूहले पार्टी एकता नै गलत थियो भन्ने ढंगले चर्चा गरिरहेका बेला नेपाल समूहका नेताहरूले भने त्यसलाई अस्वीकार गरेका छन् ।

‘पार्टी एकता सही थियो र अब पनि त्यही दिशामा जानुपर्छ भन्ने हाम्रो धारणा छ,’ केन्द्रीय सदस्य ठाकुर गैरेले भने, ‘फेरि पनि एकताको सम्भावना रहेकाले अहिलेको गठबन्धनलाई सकेसम्म कायम राख्दै अघि बढ्नुपर्छ भन्ने अधिकांशको धारणा छ, शीर्ष नेताहरूले पनि यही दिशामा कुरा राख्नुभएको छ ।’

५० भन्दा बढी केन्द्रीय सदस्य उपस्थित अनौपचारिक बैठकमा बोल्ने अधिकांशले सर्वोच्च अदालतको फैसलापछि ओली समूहले देखाएको उच्छृंखलताप्रति आपत्ति जनाएका थिए । पार्टी कार्यालयहरू कब्जा गर्ने, हतारमा छलफल नगरी कमिटीभन्दा बाहिरका अनधिकृत मानिस प्रयोग गरी कार्यालयका बोर्डहरू परिवर्तन गर्नेलगायतका घटना भएको भन्दै उनीहरूले आपत्ति जनाएका थिए । बुधबार मात्र धनगढीस्थित पार्टी कार्यालयमा ओली र नेपाल समूहका कार्यकर्ताबीच झडप भएको थियो । ‘पार्टी एकतापूर्वको अवस्था भएपछि २०७५ जेठ ३ अघि जुन कमिटी थिए, तल्लो तहसम्म तिनै कमिटी वैधानिक हुन् तर तिनलाई क्रियाशील नगराई जबर्जस्ती ढंगले एउटा समूहले समानान्तर गतिविधि गरिरहेको छ, यो कुरा हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं भनेर नेतृत्वलाई ध्यानाकर्षण गराएका छौं,’ केन्द्रीय सदस्य नीरज आचार्यले भने, ‘त्यस्तो गर्ने हो भने केन्द्रदेखि तल्लो तहसम्म हामी पनि आ–आफ्नो कार्यालय खडा गरेर समानान्तर गतिविधिमा जानुपर्ने हुन्छ । यो कुरा नेतृत्वले बुझ्नुपर्छ भनेका छौं ।’

ओली समूहले साविकको नेकपा हुँदा कायम रहेका कमिटीका आफू पक्षका नेताहरूलाई वैधानिक रूपमा क्रियाशील गराउने प्रयास गरेको आशंका नेपाल समूहको छ । विशेषगरी धनगढीमा ओली समूहमा जोडिन आइपुगेका माओवादी केन्द्रतर्फका नेता लेखराज भट्ट कि एमालेका भीम रावल इन्चार्ज भन्ने विषयलाई लिएर दुई पक्षबीच झडप भएको थियो ।

केन्द्रीय सदस्यहरूले तत्काल अब एमालेका कमिटीहरूको बैठक बोलाएर पार्टीलाई नयाँ दिशामा लैजान ओलीले भूमिका खेल्नुपर्ने बताएका थिए । पार्टी अध्यक्ष ओली भएकाले ठोस ढंगले छलफल गर्न र पार्टीलाई मिलाएर लैजान पनि नेपाल समूहले आग्रह गरेको छ । एमाले ब्युँतिएपछि ओलीले नेपाल समूहका नेताहरूसँग छलफल गरेका छैनन् । बैठकमा वरिष्ठ नेता नेपालले आफूसँग कुनै छलफल र संवादमा आउन नचाहेको केन्द्रीय नेताहरूलाई जानकारी गराएका थिए ।

ओलीले नेपाल समूहलाई संवादमा बोलाउनुको सट्टा सरकार संकटमा पर्ने सम्भावनालाई ख्याल गरेर जसपासँगको संवादलाई तीव्र बनाएका छन् । नेपाल समूहले विगतमा भएका तिक्त कुराहरूलाई बिर्सेर नयाँ ढंगले अघि बढ्नुपर्ने निष्कर्ष पनि निकालेको छ । त्यहीअनुसार तल्लो तहसम्मै नेता–कार्यकर्ता मिलेर अघि बढ्ने र तिक्त हुने व्यवहारहरू अब गर्न नहुने मत पनि नेताहरूले राखेका छन् । त्यसका लागि तत्काल केन्द्रीय कमिटी, स्थायी कमिटीलगायत बैठक बोलाएर त्यसमार्फत एउटा सर्कुलर जारी गर्नुपर्नेमा उनीहरूको जोड छ । अहिले विभिन्न स्थानमा कार्यकर्ताहरूबीच मनमुटाब रहेको, जसका कारण जनमतसमेत विभाजित भएकाले त्यसलाई विश्वासमा राख्नका लागि पनि केन्द्रबाट संयुक्त अपिल आवश्यक परेको नेपाल समूहको भनाइ छ । अहिले एमालेको अध्यक्ष र महासचिव दुवै ओली समूहमा छन् । अध्यक्ष र महासचिवले मिलेर औपचारिक बैठक बोलाउने व्यवस्था एमालेको विधानमा छ । कान्तिपूरबाट

प्रतिक्रिया
सम्बन्धित समाचार