कालेबुङ– दशैं हिन्दूहरूको मुख्य चाड त हो नै, राजनीतिमा चासो राख्नेहरूका लागि सल्बलाउने र नयाँ पार्टी खोल्ने सिजन पनि हो।
यस वर्षको दशैंछेक कालेबुङका कमल भट्टराईले गोर्खा युनाइटेड लिबरेशन फ्रन्ट खोले। नयाँ पार्टी खोलेर उनले भने, ‘राजनीतिमा पुरानो परम्परा रहुन्जले जनताले दुःख पाउनेछन्। हिंसा, आगजनी र गुण्डागिरीको बाटोमा हिँडेर छुट्टै राज्य बनिँदैन। गोर्खाल्यान्ड त टेबलवर्क हो, नयाँ पद्धति र वौद्धिक रूपले नै मुद्दा पार लाग्नेछ।’
अघिल्लो वर्ष दशैं छेक नै सिलगढीका कृष्ण छेत्रीले नयाँ पार्टी खोले। गोर्खा जनकल्याण मञ्च गोजकम। पार्टी खोलेपछि छेत्रीले भनेका थिए, ‘दार्जीलिङमा जनमुद्दा छुट्टै राज्य बोकेर जुन जुन दल आए, सबैले जनताको सपनाको व्यापार गरे। प्रतिबद्ध रूपले जनताको सपनालाई सम्बोधन कसैले नगर्ने देखेपछि हामी अघि सरेका हौं।’
उनीभन्दा अघि परारको दशैं छेक अमर राईले नयाँ पार्टी खोले, प्रोग्रेसिभ पिपल्स पार्टी ९पिपिपी०। राईले भनेका थिए, ‘पहिले पहाडको विकास हुनुपऱ्यो, त्यसपछि मात्र मूल मुद्दामा पुग्न सकिन्छ। अभावमा राजनीति हुँदैन। हाम्रो पार्टीको मूल एजेन्डा हो पहाडको विकास।’
मजदुर संगठनबाट चिनिएका अमर राईको पहाडको विकास गर्ने पार्टी एकै वर्षमा हरायो। अस्तित्व संकट भोगिरहेको पिपिपीले न त जनमुद्दा अघि सार्न सक्यो, न त आफैं अघि सर्न सक्यो।
भर्खर १०५ दिनको बन्द सकियो, कुरा १६ अक्टोबरमा दिल्ली र नवान्नमा बैठकमा पुगिसकेको छ। ११ जनाको ज्यान गयो। धेरै घाइते छन्। सैयौं जेलमा छन्। यसबीच यी दुई पार्टी पिपिपी र गोजकम दुवै सिनमा थिएनन्।
‘दार्जीलिङ जिल्लालाई लिएर मात्र छुट्टै राज्य गोर्खाल्यान्ड गठन गर्नु सम्भव छैन। दार्जीलिङ, कालेबुङ, अलिपुरद्वार अनि जलपाइगढी मिलाएर गोर्खाल्यान्ड राज्य बनाउन हामी आन्दोलन गर्नेछौं, भन्ने कृष्ण छेत्रीले २५ सेप्टेम्बरका दिन पार्टी विघटन गरेका छन्।
‘दुईपल्ट आमरण अनशन बसें, पहाडभरि पोस्टरिङ गरें, हजारौंलाई भेटें तर कसैले पनि इमान्दार रूपले मलाई सहयोग नै गरेन,’ पार्टी विघटन गरेपछि कृष्ण छेत्रीले दुःख पोखे, ‘मैले पैसा खर्च गरेर मुद्दा बचाउन र आन्दोलन गर्न सकिनँ।’
कृष्ण छेत्रीसित नयाँ पार्टी खोलेको एक वर्षको अनुभव के होलारु छेत्रीलाई लाग्छ, जोसित पैसा छ, राजनीति उसैले गर्न सक्छ।
‘९० प्रतिशत मानिस, जति मलाई भेट्न आए सबैले पैसा मागे, १० प्रतिशत मानिस मात्र मनैले गोर्खाल्यान्डप्रति समर्पित पाएँ,’ छेत्रीको अनुभव रहेछ, ‘पहाडमा जो पनि राजनीति गरिरहेका छन्, मुद्दा र जाति बेच्नेहरू हुन्। बंगालसित जो बिक्छ, ऊ नै पहाडमा टिक्छ। गोर्खाल्यान्डप्रति इमान्दार कोही नेता छैनन्, जनता पनि पैसाकै पछि मात्र छन्।’
उनलाई पहाडमा गोर्खाल्यान्डको आन्दोलन गर्न पैसा हुनुपर्ने अनुभव छ। भन्छन्, ‘डा हर्कबहादुर छेत्रीहरूसित कति पैसा छ, त्यतिन्जेल जनआन्दोलन पार्टी बाँच्छ। विनय, अनितहरू बेचिएकैले बाँचिरहेका छन्।’
पिपिपी खोलेर बसेका अमर राईलाई अहिले राजनीति गर्ने सही समय हो भन्ने लाग्दैन। उनको दलको पञ्जीकरण प्रकिया चलिरहेको छ। ‘यो प्रक्रिया सकिएपछि तिहारपछि दललाई सक्रिय गर्नेछौँ,’ राई भन्छन्, ‘तिहारपछि दलको बैठक हुनेछ।
’गोर्खाल्यान्डको पछिल्लो आन्दोलन अवसानतिर गइसकेको छ। विनय तामाङहरू जिटिएतिरै फर्किएका छन्। विमल जङ्गलमा छन्। जनता १०५ दिने बन्दले पीडित छन्। आर्थिक समाज भत्किसकेको छ, तरै पनि पिपिपी मौनरु
अमर राई ‘मौनता पनि गतिलो राजनीति हो’ भन्छन्। तिहारपछि उनको मौनता तोडिने हो किरु
ठिक दशैंको छेकमा लगभग गोरामुमोकै झण्डामार्का झण्डा बोकेर आएका कमल भट्टराई भन्छन्, ‘अब राजनीति पहाडमा गरेर हुँदैन, दिल्लीमा गर्नुपर्छ। जनतालाई दुःख दिएर, झण्डा बोकाएर होइन पूरै दस्तावेजसित दिल्लीमा वौद्धिकतासित आन्दोलन गर्नुपर्छ।’
उनकै चरित्रका सिद्धान्तसित आएका कृष्ण छेत्रीले पार्टी विघटन गरे। पिपिपी पनि दृश्यमा छैन। यसपालि गल्फ गोर्खा युनाइटेड लिबरेसन फ्रन्ट यसरी आएको छ कि यसको कतै चर्चा छैन। न त यो दल नै प्रभावशाली रूपले आएको छ, न त क्षमताशील नेतृत्व नै यस दलमा देखिन्छ। यस्तोमा कमल भट्टराईहरूको दशैं फेसन पार्टी टिक्लान् त ।
नेपाल लाइभ