नयाँबजार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोधमा प्रचण्ड–माधव समुहको नेकपा अहिले आन्दोनलमा छ । इलाममा सहरमा मात्रै हैन गाउँगाउँमा प्रधानमन्त्रीको प्रतिगमनको विरुद्ध कार्यकर्ताहरु आन्दोलित रहँदै आएका छन् । सोही अनुरुप माईजोगमाईमा समेत नेकपा गोलबद्ध भएको छ ।
गणतन्त्र ,लोकतन्त्र तथा संविधान र जनअधिकार रक्षाको निम्ति भन्दै गाउँपालिका कमिटिले सोमबार बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । छिरिङ मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा क्षेत्रीय कमिटी अध्यक्ष टेकबहादुर राईको प्रमुख आतिथ्यता र जिल्ला सचिवालय सदस्य जितबहादुर राईको बिशेष आतिथ्यता रहेको थियो ।
गाउँपालिका इन्चार्ज कुविरमान राई, जिल्ला कमिटी सदस्य गञ्जु प्रधान, हुकुम थामी, युवा संघ संयोजक महेश तिवारी, सहसंयोजक विक्रम लिम्बु, अखिल नेपाल किसान संघ जिल्ला सदस्य राजु राई, इन्दिरा देवान लगायतको आतिथ्यता रहेको थियो । प्रविन राईले स्वागत गरेको कार्यक्रम गाउँपालिका कमिटी सचिव देवी शिवाकोटीले संचालन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी राईले प्रधानमन्त्रीको प्रतिगमनका बिरुद्ध कम्युनिष्ट कार्यकर्ताहरु एकजुट हुनुपर्ने बताए । उनले प्रधानमन्त्रीले संविधानमा नै नभएको संसद विघटनको कार्यले देशमा संकट निम्तिएको बताए । कार्यक्रमका विशेष अतिथी जीतबहादर राईले अबको लडाई प्रतिगमनकारी,दलाल,भ्रष्टाचारी र तिनिहरुसंग चरीत्र मिल्ने नालायक प्रतिगमनका मतियारहरु संग भएको बताए ।
कार्यक्रममा युवा संघका संयोजक तिवारीले जिल्लामा आफुहरु बहुमत रहेकाले युवा पुस्तालाई भ्रममा नपर्न अनुरोध गरे । उनले ओली समुहको कथित युवा संघमा नेतृत्वको अभाव भएर नै उमेर हद नाघेका ४३ वार्षिय अरुण बराललाई जिम्मेवारी प्रदान गरेको बताए । जिल्लाको ७१ सदस्य मध्ये १० जना मात्र ओली समुहसंग रहेको बताए ।
युवा संघका सहसंयोजक विक्रम लिम्बुले समसामयिक राजनिति र प्रतिगमनका विरुद्ध युवाको भुमिकाको बारेमा आफ्नो धारणा राखेका थिए । जिल्ला कमिटी सदस्य हुकुम थामीले निर्बाचन आयोग र सर्बोच्चको फैसला प्रचण्ड–माधव–झलनाथको आधिकारिक नेकपाको पक्षमा आउने बताए । प्रधानमन्त्रीको गैरसंवैधानिक कदमको विरुद्ध आन्दोलनका लागि गाउँपालिका स्तरिय संघर्ष समिति समेत घोषणा गरिएको छ ।