फिक्कल । भारतीय सिमा सुरक्षा बल एसएसबीको विरुद्ध सिमा रक्षामा उत्रिने हिलेबासीको योगदानको पुर्व प्रधानमन्त्री एवम इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य झलनाथ खनालले तारिफ गरेका छन् । खनालले एक विज्ञप्ती जारी गर्दै देशभक्तिको भावनाले ओतप्रोत पशुपतिनगर हिले क्षेत्रका बासिन्दाहरुको प्रतिकारको सर्मथन गरेका हुन् ।
विज्ञप्तीमा भनिएको छ ‘ यो घट्ना घट्ने बित्तिकै देशभक्तिको भावनाले ओतप्रोत पशुपतिनगर हिलेका दाजुभाई दिदिबहिनिहरुले तत्कालै घटना स्थलमा उत्रिएर प्रतिकार समेत गर्नुभएको छ । उक्त प्रतिकार पछि भारतीय सिमा सुरक्षा बल (एस.एस.बि)का जवानहरु पछि हट्न बाध्य भएका छन् । हिलेका देशभक्त जनताको बीरतापूर्ण प्रतिरोधलाई म दृढ सर्मथन गर्दछु र वहाँहरुको देशभक्तिपूर्ण प्रतिरोधलाई सलाम गर्दछु ।’
दशगजा क्षेत्रमा पिलर गाड्न खोज्ने एसएसबीले स्वीकार्यो गल्ती
खनालले नेपालको भुमीमा आई एकपक्षिय रुपमा सिमा पिल्लर सार्न खोजिएकोे घटनाबाट स्तब्ध भएको जनाएका छन् । उनले भारतीय पक्षलाई नेपालको सार्बभौमिकता,भौगोलिक अखण्डता,स्वाभीमानलाई सम्मान गर्न समेत आग्रह गरेका छन् । खनालले आफ्नो मुलुकको सम्पूर्ण भू–भाग सुरक्षा गर्दै नागरिकको सुरक्षाको लागि सीमा क्षेत्रमा नियमित रुपमा नियमन गर्न समेत नेपाल सरकार र स्थानिय प्रशासनलाई आग्रह गरेका छन् ।
