Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

दशगजा क्षेत्रमा पिलर गाड्न खोज्ने एसएसबीले स्वीकार्‍यो गल्ती

दशगजा क्षेत्रमा पिलर गाड्न खोज्ने एसएसबीले स्वीकार्‍यो गल्ती

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस २० २०७७


दशगजा क्षेत्रमा पिलर गाड्न खोज्ने एसएसबीले स्वीकार्‍यो गल्ती

फिक्कल । पूर्वी सिमावर्ती क्षेत्र सूर्योदय नगरपालिकाको हिलेमा पिलर गाड्न खोज्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गल्ती स्वीकारेको छ। दुवै पक्षका सुरक्षा निकायका प्रमुखबीचको छलफलमा बिनासूचना दशगजा क्षेत्रमा पिलर गाड्नु गल्ती भएको स्वीकारेको पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट (बिओपी) का सशस्त्र प्रहरी निरीक्षक नवीन खतिवडाले बताए।

एसएसबीले आगामी दिनमा एक पक्षीय रुपमा बिनासूचना गतिविधि नदोहोर्‍याउने प्रतिवद्धता जाहेर गरेको उनले बताए ।  ‘हिले क्षेत्रमा भरखरै दुवै पक्षका सुरक्षा निकायका प्रतिनिधिबीचको छलफलमा आफ्नोतर्फबाट गल्ती भएको एसएसबीले स्वीकार गरेका छन्। अब उपरान्त गल्ती नदोहोरिने प्रतिवद्धता गरेका छन्,’ खतिवडाले भने, ‘ अब संयुक्त गस्ती र बैठक गर्दै आगामी आउने समस्याबारे छलफल गरेर अघि बढ्ने भएका छौं।’

छलफलका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देउकुमार लिम्बूको नेतृत्वमा १२ जना र सशस्त्र इन्स्पेक्टर खतिवडाको नेतृत्वमा १४ जनाको टोली हिले गएको थियो। एसएसबीको तर्फबाट असिस्टेन सब इन्स्पेक्टर दिबाङ्कर विश्वासको कमाण्डमा खटिएको टोलीसँग नेपाली सुरक्षा टोलीले संयुक्त सीमा निरीक्षण समेत गरेको छ।

भारतीय पक्षबाट सिमा पिलर नम्बर ७१र११ देखि ७२र२५ बीचको दशगजा भूभागमा तैनाथ ८ नम्बर बटालियन मातहतको एसएसबीले मिसिङ पिलर रहेको भन्दै अतिक्रमण गरेको थियो। एसएसबीको बिओपीमा नयाँ नेतृत्व चयन हुने बित्तिकै सिमा विवाद निस्कने गरेको छ। गत वर्ष हिले क्षेत्रकै नेपाली भूभागमा एसएसबीले नाली खनेपछि विवाद भएको थियो।

इलामको रोङ गाउँपालिकाको तिरिङदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको ५२ दशमलब ५ किलोमिटर क्षेत्रका बिभिन्न स्थानमा सीमा विवाद रहेको छ। छब्बीसे, हिले पुलखोला, सन्दकपुर लगायतका क्षेत्रमा भारतीय पक्षले नेपाली भूमी अतिक्रमण गरेको छ। पछिल्लो समय नेपालतर्फ शसस्त्र प्रहरीको ६ वटा बिओपी स्थापना भएपछि अतिक्रमणमा कमी आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार