Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

ओली पक्षद्वारा इलाममा संसदीय दलको कार्यकता भेला

ओली पक्षद्वारा इलाममा संसदीय दलको कार्यकता भेला

  • सन्देश सम्वाददाता
  • शनिबार, पौस १८ २०७७


ओली पक्षद्वारा इलाममा संसदीय दलको कार्यकता भेला

इलाम । नेकपा इलाम नगरपालिका पार्टी संसदिय दल तथा कार्यकर्ताहरुको संयुक्त भेला भव्यताकासाथ आज इलाम नगरपालिकाको कार्यालयको सभाहलमा सम्पन्न भएको छ । ओली पक्षका कार्यकर्ताहरुको उपस्थिती रहेको कार्यक्रम नेकपा केन्द्रीय सदस्य एवं नगर प्रमुख, संसदिय दलका नेता महेश बस्नेतको अध्यक्षता र केन्द्रीय सदस्य, पार्टी जिल्ला अध्यक्ष एवं प्रदेश सरकारका भुमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री  रामबहादुर मगरको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्यहरु गणेशप्रसाद बराल, पदम भण्डारी र नरेन्द्रनाथ भट्टराईले मन्तव्य राखेका थिए ।

पार्टी जिल्ला कमिटीका पदाधिकारी, सदस्यहरु, पार्टी जिल्ला सल्लाहकारहरु, नगर उपप्रमुख सुशिला नेम्वाङ, वडाध्यक्ष, कार्यपालिका सदस्य र सदस्यसहितका जनप्रतिनिधिहरु, पार्टी क्षेत्रीय समन्वय कमिटी, नगर कमिटीका नेता कार्यकर्तासहित सयौंको सङ्ख्यामा उपस्थिति रहेको कार्यक्रमको सञ्चालन पार्टीको नगर कमिटी सचिव क। नरेन्द्र खड्काले सञ्चालन गरेका थिए । कार्यक्रममा नगरका प्रमुख सचेतक नारद लम्सालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
‘पार्टी बिभाजनको पक्षमा हामी छैनौ’ भन्दै एकताको पक्षमा माई नगरको नेकपा संसदीय दल
शुक्रबार माई नगरपालिकामा समेत नेकपा संसदीय दलको वैठक बसेको छ । बैठकले माई नगर भित्रका सबै नेकपाका तर्फबाट निर्बाचित जनप्रतिनिधि बिभाजित नभएको घोषणा गरेका छन । नेकपा माई नगरपालिका संसदीय दलका नेता तथा नगर प्रमुख दिपक कुमार थेवेको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उप–प्रमुख चित्रकला बराइलीको प्रमुख भएको भेलामा संसदीय दलका सम्पुर्ण सदस्यहरुले पार्टीको केन्द्रमा जे जस्तो भए पनि माई नगरपालिका नेकपा संसदीय दलका कोहि पनि बिचलित नहुने र सबै एक ढिक्का भएर पार्टी एकताको पक्षमा सहयोग गर्दै अगाडि बढ्ने प्रतिवद्धता गरेका छन् ।

संसदिय दलका नेता थेवेले ‘भाइ फुटे गवार लुटे’ हुन नदिन माई नगरपालिका संसदीय दलका सदस्यहरूलाई एक भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए। नेता थेवेले माई नगरपालिकालाई अझै पनि कम्युनिष्टहरूको लाल किल्ला बनाउन सबै कम्युनिष्टहरू एक हुनुको बिकल्प नरहेको धारणा राखे ।

भेलाले नेकपा माई नगरकमिटीलाई पनि एक हुन आग्रह गरेको छ । बैठकमा संसदिय दलका उपनेता बिष्णुमाया आचार्य, जिल्ला समन्वय समितिका सदस्य रत्न बहादुर अधिकारी लगायतको सहभागिता रहेको थियो । बैठकको निष्कर्षमा सबै सदस्यहरुले एक ढिक्का भएर चुनौतिको सामना गर्दै पार्टीलाई एक बनाउन लागि पर्ने प्रतिवद्दता गरेका थिए ।

संसदीय दलको बैठक सकिए लगत्तै शुक्रबार नै पार्टीको बैठक बसी २०७७ पुष २० गते वृहत कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । वृहत् भेलामा १ नम्बर प्रदेश भुमिसुधार, कृषि तथा सहकारी राज्य मन्त्री तथा  नेकपाका केन्द्रिय सदस्य राम राना, गणेश बराल, महेश बस्नेत धिरेन्द्र शर्मा रमण लगायत केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने ईलामका  नेताहरुलाई निमन्त्रणा गर्ने निर्णय भएको अखिल ईलामका सदस्य गोपाल आचार्यले जानकारी दिए । रमण बाहेकका अन्य आमन्त्रण गर्ने निर्णय भएका केन्द्रिय सदस्यहरु प्रधानमन्त्री ओली पक्षका केन्द्रिय सदस्य हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार