Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

यौनजन्य हिंसासहित मानवअधिकार उल्लंघनका घटनामा बृद्धि

यौनजन्य हिंसासहित मानवअधिकार उल्लंघनका घटनामा बृद्धि

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस ६ २०७७


यौनजन्य हिंसासहित मानवअधिकार उल्लंघनका घटनामा बृद्धि

झापा । बितेको ११ महिनामा झापामा मानवअधिकार उल्लंघनका घटनासँगै यौनजन्य हिंसाका घटनामा बृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) झापाले आइतबार अर्जुनधारामा प्रस्तुत गरेको ‘नेपाल मानवअधिकार वर्ष पुस्तक-२०२१’ प्रकाशन पूर्व वार्षिक समिक्षा कार्यक्रममा प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ ।

शिक्षित व्यक्तिहरुको बसोबास मानिने झापामा यौनजन्य हिंसा र मानवअधिकार उल्लंघनका घटनामा बृद्धि हुनु लज्जास्पद भएको भन्दै कार्यक्रममा सहभागीहरुले दुःख व्यक्त गरे । इन्सेकको प्रतिवेदनअनुसार सुगम जिल्लाको रुपमा परिचित झापामा बालिकाहरुमाथि हुने यौनजन्य हिंसासहित विविध किसिमको घटनामा भने वर्षेनी बृद्धि हुँदै गएको पाइएको छ ।

इन्सेक जिल्ला प्रतिनिधि नरेश खातीले प्रस्तुत गरेको प्रतिवेदनमा २०७६ पुस १५ देखि २०७७ मंसिर मसान्तसम्म ११ महिनाको अवधिमा भएको जम्मा ९३ बलात्कारको घटनामा ७३ जना, २३ वटा बलात्कार प्रयासको घटनामध्ये ११ जना र १३ वटा यौन दुव्र्यवहारको घटनामध्ये सबै बालिका गरी ९७ जना बालिका पीडित भएका छन् ।

त्यसैगरी यौनजन्य हिंसासँगै जम्मा ६ वटा मानव बेचविखनको घटनामा ३ जना, १ शिशु हत्याको घटनामा १ जना गरी जम्मा १०१ जना बालिका पीडित भएका छन् । प्रस्तुत प्रतिवेदनअनुसार गतवर्ष भएको ९० बलात्कारको घटनामध्ये ५३ जना, १७ बलात्कार प्रयासको घटनामध्ये ९ जना, १० वटा मानव बेचविखनको घटनामध्ये २ जना, २ शिशु हत्याको घटनामध्ये १ जना र ४ जबरजस्ती यौन कार्यमा लगाएको घटनामध्ये ३ जनासहित जम्मा ६८ जना बालिका पीडित भएका छन् ।

प्रस्तुत प्रतिवेदनअनुसार यौनजन्य हिंसासँगै विभिन्न घटनामा बालिकाहरु पीडित हुने संख्यामा बृद्धि हुनु दुःखद भएको मानवअधिकार सञ्जाल झापाका अध्यक्ष विष्णु खरेलले बताए । मानसिकरुपमा अपरिपक्व हुनु र छिट्टै प्रलोभनमा फस्नुजस्ता कारणले बालिकाहरु पीडित हुने उनले दाबी गरे ।

अधिकांश निम्न र मध्यम वर्गका बालिकाहरु जोखिममा रहेको संकेत गर्दै उनले त्यसको नियन्त्रणको लागि उनीहरुलाई मानसिकरुपमा तयार गर्न बाल शिक्षाको आवश्यकता रहेको औँल्याए ।प्रस्तुत प्रतिवेदनमा जम्मा १२ प्रकारको १८५ घटनामा १९० जना पीडित भएको उल्लेख छ ।

जसअनुसार हत्याको ९, हत्या प्रयासको १५, जातीय विभेद घटनाको १, बहुविवाहको २०, गोली प्रहारको १, अप्राकृतिक मैथुनको २, पत्रकार कुटपिटको १ घटना भएको छ । गतवर्ष भएको १७५ घटनामा १८८ जना पीडित भएका छन् ।जसअनुसार हत्याको ८, कथित बोक्सी आरोप २, हत्या प्रयास २, बलात्कार ९०, बलात्कार प्रयास १७, बहुविवाह १९, मानव बेचविखन १०, हिरासतमा मृत्यु १, गिरफ्तारी १, शिशु हत्या २, भौतिक संरचना क्षति ५, अपहरण १, अप्राकृतिक मैथुन १, जबरजस्ती यौन कार्यमा लगाएको ४, गाली बेइज्जती ११ र अमानवीय व्यवहार १ रहेको छ ।

मानवअधिकार समूह बुद्धशान्तिकी अध्यक्ष देवकुमारी शेर्माको अध्यक्षता र जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोम पोर्तेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नगर उपप्रमुख कमला खतिवडा आचार्य, मानवअधिकार सञ्जाल झापाका अध्यक्ष खरेल, अधिवक्ता कोपिला बस्नेत, अर्जुनधारा नगर सामाजिक विकास समितिका संयोजक दिलिप गुरुङलगायतले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार