Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाम चिया कमानको निजीकरण फिर्ता गर्न इलाम नगरपालिकाको माग

इलाम चिया कमानको निजीकरण फिर्ता गर्न इलाम नगरपालिकाको माग

  • मञ्जु तिमसिना
  • मंगलबार, मंसिर २३ २०७७


इलाम चिया कमानको निजीकरण फिर्ता गर्न इलाम नगरपालिकाको माग

इलाम । निजीकरण गरिएको नेपाली चियाको इतिहास बोकेको इलाम चिया बगान र कारखाना फिर्ताको माग भएको छ । मजदूरको जागिर खोसिएको र न्युनतम ज्याला समेत व्यवसायीले दिन नसकेकाले इलाम नगरपालिकाले सरकारसँग फिर्ता गरि आफै संचालन गर्ने योजना बनाएको छ ।
निजीकरणसँगै इलाम चिया बगान र कारखाना खण्डहर भएपछि इलाम नगरपालिकाले संघीय सरकारलाई फिर्ताको माग गरेको हो । बगानमा काम गर्ने मजदूरको जागिर खोसिएको र न्युनतम ज्याला समेत दिन नसकेकाले इलाम नगरपालिकाले सरकारसँग फिर्ता गर्न माग गरेको हो ।
नेपाली चियाको इतिहास बोकेको चिया बगान र कारखाना निजिकरणको फिर्तापछि आफै संचालन गर्ने नगरपालिकाको योजना रहेको नगर प्रमुख महेश बस्नेतले बताए ।
इलाम नगरपालिकाले पहिलो नगरसभादेखि सातौ नगरसभासम्म बिषेश प्रस्तावको रुपमा पास गरि संघीय सरकारसँग निरन्तर रुपमा निजीकरण फिर्ताको माग गर्दै आएको छ । राणा प्रधानमन्त्री जंगबाहादूर राणाले चिन भ्रमणका क्रममा उपाहार पाएको चियाको बिऊ उनका ज्वाइ गजराजसिंह थापामार्फत बिक्रिम सम्बत १९ सय २० मा इलाममा चिया रोपण भएको थियो ।
चिया रोपण शुरु गरेका इलामका बडाहाकिम गजरासिंह थापाले विक्रिम सम्बत् १९३५ मा कारखाना स्थापना गरि तयारी चियाको उत्पादन शुरु गरेका थिए । बिक्रम सम्बत् २०५७ सालमा चिया कारखाना र बगान निजीकरण भएपछि उद्योगमा रहेका मेसिन औजार अन्यत्र लगिएको थियो ।
इलाम सदरमुकाममा रहेको इलाम चिया बगान र कारखाना एक सय २५ एकड जमिनमा फैलिएको छ । ‘निजीकरण हुनु अघि एक सय ५० जना मजदूरले काम गरेको इलाम चिया कमानमा अहिले २५ जना मात्रै मजदूर छन्– नगर प्रमुख बस्नेतले भने–‘निजिकरणपछि मजदूरले रोजगारीबाट निस्कनुपर्ने र न्युनतम ज्याला नपाउने समस्या भएकाले संघीय सरकारसँग फिर्ता लिएर नगरपालिकाले चलाउने योजना बनाएको छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार