इलाम, । हंल्का टारजस्तो जमिन । गोरु नारेर सम्याइएको मैदान । राणा शासनका बेला सेनाले कवज गर्ने स्थान इलाम सदरमुकामको ‘ठूलो टुँडिखेल’ । सरकारी औपचारिक कार्यक्रमभन्दा अरू गतिविधि खासै नहुने यस मैदानमा कुनै बेला ‘जनता’ र राणाहरूको ‘सरकारी’ टोलीबीच रात छिप्पिंदासम्म फुटबलको प्रतिस्पर्धा हुन्थ्यो ।
फुटबलप्रति लगाव भएका राणा प्रशासकहरूले सुरु गरेको फुटबल खेलले यस बेलासम्म आइपुग्दा धेरै फड्को मारिसकेको छ । त्यतिबेला सरकारी टिम र स्थानीय बासिन्दाको टिमबीचको फुटबल प्रतिस्पर्धाको रोचक प्रसंग छ । खेलको कुनै निश्चित समयावधि थिएन । अहिलेजस्तो ९० मिनेट अनि अतिरिक्त समय गर्दै नयाँ नियमअनुसार खेल हुँदैनथ्यो अग्रजहरुले सुनाएको इलामको फुटबलको बारेमा इतिहासविद युद्धप्रसाद बैद्य सम्झन्छन ‘फुटबलमा पोख्त इलामेली खेलाडीले खेल सुरु हुनेबित्तिकैदेखि गोल गर्थे । सरकारी टिमले हार्नु हुँदैनथ्यो ऊबेला ! अनि जतिबेलासम्म उनीहरूका खेलाडीले गोल गरेर जित्दैनथे, त्यसबेलासम्म खेल जारी रहन्थ्यो । रात पर्दा पनि खेल रोकिंदैनथ्यो । त्यसबेला भारतको कोलकाताबाट ल्याइएका ‘पेट्रोलमेक्स’ बालेर राति पनि खेल जारी रहन्थ्यो । राणा टोलीका तर्फबाट गोल भएपछि खेल सकिएको घोषणा हुन्थ्यो ।
यसो हुन नसकेर खेल ज्यादै लम्बिएपछि ‘जनता’ टिमका खेलाडीले उनीहरूलाई जानीजानी गोल गर्न दिनुपथ्र्यो अनिमात्र खेल सकिन्थ्यो । राणा टिम विजयी बनेपछि त्यसबेलाको पटांगिनीमा लगेर पराजित टिमका खेलाडीलाईसमेत भोजमा सहभागी गराइन्थ्यो ।’
यसरी वि.सं. १९९० ताका सुरु भएको फुटबल खेल इलामका लागि पछिल्लो समय एउटा पर्व जत्तिकै बनेको छ । त्यसपछि इलाममा धेरै ठूला प्रतियोगिता हुन थालेका हुन् । तत्कालीन बडाहाकिम महावीर शमशेरका नाममा स्थापित महावीर सिल्ड, कमल सिल्ड, ज्ञानीराम सिल्ड हुँदै भूकम्पपीडित कप फुटबल प्रतियोगितासम्म भएको इतिहास छ । पछिल्लो समय माईभ्याली गोल्डकप पूर्वकै प्रतिष्ठित प्रतियोगिताका रूपमा स्थापित छ ।

देश–विदेशमा छाउँदै
फुटबलमा मरिहत्ते गर्ने अग्रजहरूकै योगदानका कारण इलामले राष्ट्रिय÷अन्तर्राष्ट्रिय रूपमा चर्चित प्रतिभाशाली खेलाडी जन्माएको छ । यतिबेलाका चर्चित फुटबलर नवयुग श्रेष्ठ र छिरिङ गुरुङ्ग इलामकै हुन् । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ कुनै बेलाका चर्चित स्ट्राइकर हुन् । उनले महेन्द्ररत्न बहुमुखी क्याम्पसको टिमबाट कप्तानी गर्दै धेरै प्रतियोगिता खेलेका थिए । यसैगरी एन्फाका महासचिव धीरेन्द्र प्रधान, जीवन श्रेष्ठ, मंगेश बस्नेत, सुवास राई, दर्शन भक्तराज, लोकबन्धु गुरुङ, विनोद श्रेष्ठजस्ता प्रतिभाशाली खेलाडी इलामबाटै फुटबलमा दक्ष बनेका हुन् ।
‘राणाहरूको योगदानले फुटबल भित्रिएको इतिहास छ,’ माईभ्याली फुटबल क्लबका अध्यक्ष धीरेन चेम्जोङ भन्छन्, ‘अब त फुटबल इलामको एउटा संस्कृति र पर्वकै रूपमा विकसित भइसकेको छ । इलाममा मात्र होइन, नेपाली फुटबलमा पूर्वाञ्चल अग्रपंक्तिमा छ । पूर्वले नेपाली फुटबल धानेको छ भने पनि फरक पर्दैन ।’ हाल माल्दिभ्सको क्लबमा आबद्ध गोलकिपर किरण चेम्जोङ, सुजल श्रेष्ठ र बुद्ध चेम्जोङ्ग धनकुटाका हुन । पाँचथरमा ११ जनाले खेल्न मिल्ने मैदान पनि छैन तर यहाँका गणेश लावतीले राष्ट्रिय टिममा स्थान बनाइसकेका छन् ।
प्रवेश कट्बाल, योगेश गुरुङ, देवेन्द्र तामाङ, अनन्त तामाङ, विशाल राई बी, कर्ण लिम्बु, रञ्जित धिमाल झापाका हुन् । कीर्तिमानी गोलकर्ता हरि खड्का पनि झापाकै हुन् । दक्षिण एसियाली खेलकुदमा नेपालले जितेका तीनै स्वर्णपदकका हिरो राजुकाजी शाक्य धरानका हुन् । राजुकाजीले २ पटक खेलाडीका रुपमा र १ पटक प्रशिक्षकको रुपमा नेपाललाई स्वर्ण दिलाएका थिए ।
पुर्वमा प्रतियोगिताको लहर
विराटनगरको महेन्द्र गोल्डकपको इतिहास त पञ्चायतको सुरुआतसँगै जोडिएको छ । २०३८ साल देखी सुरु भएको महेन्द्र गोल्डकप २०६९ पछि आएर विराट गोल्डकपमा रूपान्तरण भयो । हरेक वर्षजस्तो पूर्वमा ठूला प्रतियोगिता थपिएका छन् । पूर्वका हरेकजसो जिल्लामा ठूला प्रतियोगिता आयोजना भइरहेका छन् । झापा, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, उदयपुर, धनकुटालगायत जिल्लामा हुने यस्ता प्रतियोगितामा देशका ए डिभिजनका टिमहरु सहभागी भइरहेका छन ।
चर्चित टिमहरूको सहभागितामा सामान्यतया दसैंपछि हुने ठूला प्रतियोगिता आयोजनासँगै पूर्वाञ्चल फुटबलमय बन्छ । गाउँ, जिल्ला र क्षेत्रीयस्तरका खेल प्रशस्तै हुन्छन् । झापामा मात्रै गत बर्ष ए डिभिजनका टिमहरु सहभागी रहेका सताक्षी गोल्डकप, सुरुङ्गा गोल्डकप, शरणामती गोल्डकप र झापा गोल्डकप आयोजना भए । इलामको माईभ्याली, धरानको बूढासुब्बा, विराटनगरको विराट, धनकुटाको सहिद भीमनारायण, पाँचथरको फाल्गुनन्द, उदयपुरको उदयपुर गोल्डकप पूर्वका प्रतिष्ठित प्रतियोगितामा पर्छन् । पूर्वमा हुने हरेकजसो फुटबल प्रतियोगितालाई व्यवस्थित गर्न चार दशकयता सक्रिय हुँदै आएका पुर्व राष्ट्रिय खेलाडी दिलीप राईका अनुसार यस क्षेत्रमा फुटबल क्रेज अचम्मलाग्दो छ । ‘यस क्षेत्रमा प्रतिभाशाली खेलाडी त छँदैछन्,’ उनी भन्छन्, ‘प्रतियोगिता आयोजना गर्न सघाउने अनि दर्शकका रूपमा उपस्थित भएर हौस्याउने पनि फुटबल विकासका महत्वपूर्ण पक्ष हुन्
।’ पूर्वमा फुटबल लोकप्रिय हुनुमा स्थानीय टोल, वडादेखि गोल्डकपसम्मै नियमित प्रतियोगिता र त्यसमा राखिने आकर्षक पुरस्कार नै हो । विजेताले कम्तीमा १ लाख रुपैयाँ पाउने प्रतियोगिता पूर्वमा वार्षिक दुई दर्जन बढी हुन्छन् । २०७२ बाट सुरु भएको झापा गोल्डकप दोश्रो संस्करण २०७३ मा आइपुग्दा मोफसलकै सबैभन्दा ठूलो पुरस्कार राशी (विजेतालाई ७ लाख) को प्रतियोगिता बन्यो ।
यस्ता प्रतियोगिता आयोजनाले स्थानीय खेलाडीलाई प्रतिभा देखाउने अवसर दिएको छ भने मोटो पुरस्कारले व्यावसायिक बन्न सहयोग गरेको छ । खेलाडीले फुटबलकै कमाइले घर बनाउन सक्ने पनि भएका छन् । ‘म्याच फि’ को लोभमा राष्ट्रिय टिमका खेलाडीहरू पनि रातारात खेल्न पूर्व आइपुग्ने गर्छन् । अझ सीमापारि दार्जिलिङ, कस्र्याङ, सिक्किम, सिलिगुडी र असमका प्रतियोगितामा खेलेको कमाइ त लोभलाग्दो हुने गर्छ ।
पुरस्कार र प्रायोजन
सामान्यतया खेलको विजेता र उपविजेतालाई आकर्षक पुरस्कार दिने चलन छ । तर विराट गोल्डकपमा भने प्रतियोगितामा सहभागी हुने सबै टिमलाई प्रोत्साहन गर्ने प्रयास थालिएको छ । दोस्रो संस्करण २०७० साल देखीे यो प्रतियोगितामा पराजित हुने सबै टिमलाई पनि प्रोत्साहन स्वरूप नगदको व्यवस्था गरिएको आयोजक समिति अध्यक्ष राजेन्द्र राउतले बताए । उनका अनुसार पहिलो चरणमा हार्ने सबै टिमले ३०–३० हजार, क्वाटरफाइनलमा पराजित हुने टिमलाई ५० हजार र सेमिफाइनलमा पराजित हुने दुवै टिमलाई एक लाख रुपैयाँका दरले प्रोत्साहनस्वरूप रकम दिइएको थियो ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल, उत्कृष्ट खेलाडी, टिम म्यानेजर, डिफेन्स, गोलकिपर, मिडफिल्ड, फरवार्ड र फेयर प्ले टिमलाई पनि विशेष पुरस्कारको व्यवस्था स्थानीयदेखि ठूला हरेक प्रतियोगितामा गरिन्छ । खेलाडी तथा टिमलाई दिइने विभिन्न पुरस्कारका लागि स्थानीय खेलप्रेमी, समाजसेवी र औद्योगिक प्रतिष्ठानहरूले सहयोग गर्ने गरेका छन् ।
पूर्वमा हुने प्रतियोगितालाई सघाउन प्रायोजकका रूपमा औद्योगिक प्रतिष्ठानहरू पनि आकर्षित हुन थालेका छन् । धरानको बूढासुब्बा, इलामको माइभ्याली लगायत अन्य कतिपय प्रतियोगितामा गोर्खा ब्रुअरीले प्रायोजन गर्दै आएको छ । विराटगरकै उत्पादन रमपम चाउचाउ झापा गोल्डकप, दुहबी गोल्डकप, उदयपुर गोल्डकप लगायतका धेरै प्रतियोगितासँग जोडिएको छ ।रमपम उत्पादक एसियन थाइफुड्सले झापा ११ फुटबल क्लबलाई पनि तीन वर्षका लागि प्रायोजन गरेको छ । टिमका लागि चाहिने सबै सहयोग यो अवधिमा कम्पनीले गर्नेछ ।
औद्योगिक प्रतिष्ठानमात्र होइन फुटबल भनेपछि हुरुक्कै हुने खेलप्रेमीले पनि प्रतियोगितामा सघाउँदै आएका छन् । देश–विदेशमा रहेका फुटबल आयोजना हुने स्थानका बासिन्दाले पनि सक्दो सहयोग जुटाउने गरेका छन् । बूढासुब्बा गोल्डकपका लागि हङकङ, बेलायतलगायत देशमा रहेका धरानेहरूले सहयोग जुटाएर पठाउँछन् भने इलामको माईभ्याली गोल्डकपलाई मलेसिया, बेलायतलगायत मुलुकमा रहेका इलामेहरूले सहयोग अभियानै चलाउने गरेका छन् ।