जौबारी । सन्दकपुर र माईजोगमाई गाउँपालिकाको संगमस्थलकाे नेपाल भारत सिमा क्षेत्रमा पर्ने जाैबारीमा शसस्त्र प्रहरीको सिमा सुरक्षा पाेष्ट (बिओपी) स्थापना गरिएकाे छ । सुरक्षा पोष्टको प्रदेश एक सरकारका आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका छन् । बिओपी उद्घाटनमा बोल्दै आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले गोठाला र बिना बर्दीका जनताले जोगाएको सिमा क्षेत्रमा सरकारी निकायको उपस्थिति पछि अपराधिक घटना पनि घट्ने बताए ।

कार्यक्रममा प्रदेश एक सरकारका कृषि भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री राम बहादूर मगरले नेपाल भारत सीमा क्षेत्रमा सीमा सडक निर्माण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेश सासंद खिनु लङ्वा लिम्बु, इलाम नगरपालिका नगरप्रमुख महेश बस्नेत जिल्ला समन्वय समिति प्रमुख गणेश बराल शसस्त्र प्रहरी बराहा बाहिनीपति बंशिराज दाहाल, सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राई, माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादूर राईले मन्तव्य राखेका थिए । कार्यक्रमका वक्ताहरुले सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाएसँगै जनताले सुरक्षित महसुस गर्ने बताए ।

मौसम प्रतिकुल भएपछि प्रधानमन्त्री आएनन्
प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको नेपाल भारत सीमा क्षेत्र अवलोकन गर्ने कार्यक्रम खराब मौसमका कारण प्रभावित भएको छ । प्रधानमन्त्रीले दिउसाे २ बजे इलामको उत्कृष्ट पर्यटकीयस्थल जौबारी डाँडामा स्थापना भएको शसस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट उद्घाटनसँगै सीमा क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेकाे थियाे । बाक्लो कुहिरो हुस्सुका कारण प्रधानमन्त्री सवार हेलिकप्टर ल्याण्ड हुन् सकेन् ।
प्रधानमन्त्री उपस्थित हुने भएपछि इलामको उत्तरी क्षेत्रका २ हजार बढी जनताको सहभागिता रहेको थियो । इलामको सन्दकपुरदेखि जिर्मलेसम्म साढे ५२ किलोमिटरसम्म नेपाल भारत सीमा क्षेत्र रहेको इलाममा अहिले धमाधम बिओपी स्थापना भइरहेको छ ।

पशुपतिनगर, कालपोखरी, छब्बिसे, समालबुङ, सलकपुर र जौबारीमा बिओपि स्थापना भएपछि इलामको सीमा सुरक्षा मजबुत भएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले बताए । सीमा सुरक्षा पोष्ट जौबारी उद्घाटनको कार्यक्रम सीमा सुरक्षा पोष्ट पशुपतिनगरका प्रमुख शसस्त्र प्रहरी निरिक्षक नविन खतिवडाले संचालन गरेका थिए ।

