इलाम । नेकपा स्थायी कमिटी सदस्य तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथी चितवनमा भएको अभद्र व्यवहारको पुर्व प्रधानमन्त्री खनालले भत्सर्ना गरेका छन् । नेकपाका बरिष्ठ नेता समेत रहेका खनालले शनिबार विज्ञप्ती जारी गदैै विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी जनाउन आफ्नो गृह जिल्ला चितवनको राप्ती नगरको पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला भएको सुनियोजित घटनाले गम्भीर बनाएको उल्लेख गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ ‘कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ । यस्तो गैह्र जिम्मेवारपुर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु ।’
खनालले कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण समेत गराएका छन् । ‘पार्टीमा आन्तरिक विवाद उत्कर्शमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरुले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पुर्ण नेता र कार्यकर्तालाई विनम्र अनुरोध छ ।’ खनालले विज्ञप्तीमा भनेका छन् ।