इलाम । गोर्खाल्यान्ड आन्दोलन लम्बिँदै जाँदा इलाम र झापाको सीमावर्ती क्षेत्र प्रत्यक्ष प्रभावित छ । बजार ठप्प छन् । पर्यटन उद्योग धराशायी बन्दै छ । उपभोग्य सामान अभावसँगै उत्पादित वस्तु बिक्री गर्न सकिएको छैन । भन्सार असुली स्वात्तै घटेको छ । दार्जि्लिङका विद्यालयमा पढ्ने सयौं नेपाली विद्यार्थीको पढाइ अलपत्र छ । पढाइ राम्रो हुने भन्दै नेपाली विद्यार्थी भारततिर जाने गरेका छन् । समालबुङदेखि मानेभन्ज्याङसम्मको क्षेत्रमा नेपालीलाई नै लक्षित गरी दर्जनौं विद्यालय खुलेका छन् । यसबाहेक नेपालबाट पढाइकै लागि दार्जि्लिङ जाने चलन पुरानै हो ।
आन्दोलन चर्किएपछि कतिपय अभिभावकले आफ्ना सन्तानले नेपालकै विद्यालय भर्ना गरेका छन् । कतिले घरमै ट्युसन व्यवस्था गरेका छन् । आन्दोलनअघि मानेभन्ज्याङ आसपास नेपाली बस्तीबाट दैनिक ६० जनाजति विद्यार्थी अध्ययनका लागि भारततिर जाने गरेको स्थानीय शेरबहादुर गुरुङले बताए । पशुपतिनगरका धेरै बालबालिका भारतीय विद्यालयमा आश्रित थिए । शैक्षिक सत्र सुरु भएको पाँच महिना बितिसकेकाले उनीहरूलाई बीचमा आएर नेपाली विद्यालयमा पढाइ अघि बढाउन सहज छैन ।
सन्दकपुर–५ मा रहेको जौबारी बजार उत्तरी बासिन्दाको उपभोग्य सामग्री खरिद–बिक्री गर्ने थलो हो । आन्दोलनयता यो बजार बन्द छ । ‘ग्राहकलाई सामग्री दिन सकिने उपाय छैन,’ विजय लामाले भने, ‘आफ्नै प्रयोगका लागि ल्याउन पनि कठिन छ ।’ नेपालतर्फ यातायात पहुँच सहज नभएकाले वर्षौंदेखि मानेभन्ज्याङबाट उपभोग्य सामग्री ल्याएर बेच्ने गरिएको थियो ।
यस क्षेत्रमा उत्पादित नगदेबाली, सागसब्जी र घिउ, छुर्पी यही बजार भएर भारत लगिन्थ्यो । आन्दोलनपछि यस क्षेत्रका बासिन्दाले उपभोग्य सामग्री जुटाउन पनि दोब्बर खर्च गर्नुपरेको छ । दार्जि्लिङतर्फबाट सामग्री आउन छाडेको छ । माइजोगमाई गाउँपालिकाको नयाँबजारबाट खरिद गर्नुपर्छ । तर, एक हजार मूल्यमा पाइने एक बोरा (२५ किलो) चामललाई दुई हजार दुई सय रुपैयाँसम्म तिर्नुपरेको पासाङ शेर्पाले बताए ।
सीमावर्ती सबैजसो बजारको समान समस्या हो यो । मानेभन्ज्याङ, कालपोखरी, तुम्लिङ, गैरीबास र सन्दकपुरमा निर्भर अधिकांश बासिन्दा आन्दोलनको प्रत्यक्ष असर खेपिरहेका छन् । उनीहरूले दैनिक उत्पादन गर्ने सागसब्जी निर्यात हुन सकेको छैन । यहाँ बन्दा, स्कुस, काँक्रा, अकबरे खोर्सानी, मुला, गाँजरलगायतको व्यावसायिक उत्पादन हुन्छ ।
व्यावसायिक डेरीमार्फत घिउ उत्पादन गर्ने कृषकलाई अधिक मार छ । जौबारी बजारमा ठूलो परिमाणमा घिउ सडेर जाने अवस्था छ । दर्जनौं डेरी उद्योगले घिउ र छुर्पी उत्पादन गरी सीमापारि बेच्दै आएका थिए । सीमाक्षेत्रका भारतीय सीमा सुरक्षा बल एसएसबी पनि उपभोग्य सामग्री अभाव भएकाले नेपाली बजार आउने गरेको छ । गैरीबास, तुम्लिङलगायत क्षेत्रमा रहेका एसएसबी क्याम्पले महँगोमै भए पनि नेपालबाट किन्ने गरेका हुन् ।
भारतीय सिंहलीला नेसनल पार्कले दाउरामा कडाइ गरेको र इन्धन नआएकाले एसएसबीले नेपालीसँग दाउरा खरिद गरिरहेका छन् । मानेभन्ज्याङ बजारमा पनि पशुपतिनगर, गोर्खे, फेदीलगायत क्षेत्रबाट सामग्री जाने गरेको छ । ढुवानी भाडा महँगो भए पनि अहिले दुवैतर्फका बस्तीमा तिनै सामग्रीको भर छ ।
व्यवसाय धराशायी
आन्दोलनको असर पर्यटन व्यवसायमा पनि तीव्र छ । झापाको काँकडभिट्टासँगै अन्य क्षेत्र पनि प्रभावित छन् । ‘पर्यटनदेखि सबै क्षेत्रमा आन्दोलनले प्रत्यक्ष, अप्रत्यक्ष प्रभाव पारेको छ,’ झापा ट्राभल व्यवसायी संघका सल्लाहकार नेत्र कार्कीले भने, ‘आन्दोलन नटुंगिए व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउँछ ।’ काँकडभिट्टास्थित अध्यागमन कार्यालयका अनुसार दुई महिनायता बंगलादेशीबाहेक अन्य विदेशी पर्यटकको आगमन ठप्प छ ।
पर्यटकहरू दार्जि्लिङ, सिक्किमजस्ता पर्यटकीय गन्तव्य घुम्न आएको मौकामा नेपाल पनि पस्थे । ‘फाट्टफुट्टबाहेक पर्यटन आगमन न्यून नै छ’, कार्यालय प्रमुख रामप्रसाद फुँयालले भने, ‘पर्यटक नआउँदा समग्र क्षेत्रमा असर परेको देखिन्छ ।’
पर्यटन व्यवसायी कार्कीका अनुसार दुई महिनायता भारत तथा अन्य देशका पर्यटन भित्रिने क्रम ज्यादै न्यून छ । नेपालबाट पनि दार्जि्लिङ, सिक्किम जाने र उताबाट यता आउनेको संख्य नगण्य छ । यातायात तथा हवाईजहाज व्यवसाय पनि प्रभावित छ । सीमामा रहेका करिब ६५ वटा ट्राभल कम्पनीको व्यापार चौपट भएको छ । दैनिक लाखौंको कारोबार गर्ने व्यवसायी अहिले दयनीय अवस्था रहेको बताउँछन् ।
ट्राभल व्यवसायी विजय सुवेदीका अनुसार अहिले नयाँ पर्यटक आउनु त परै जाओस्, पहिल्यै टिकट बुकिङ गराएकाहरूसमेत धमाधम रद्द गराइरहेका छन् । क्षेत्रीय होटल व्यवसायी संघ मेचीनगरका महासचिव रामबहादुर तामाङले व्यवसाय धान्न गाह्रो भएको बताए । भारतीय प्रहरीले गोर्खाल्यान्ड आन्दोलनकारी भन्दै नेपाली नागरिक उदयहाङ फागोलाई लामो समय जेलमा राखेर छाडेको घटनापछि नेपालीहरू पारि जान हच्किएका छन् । ‘उपचारका लागि सिलिगुडी जानसमेत धक मान्न थालेका छन्,’ तामाङले भने ।
गोर्खाल्यान्ड आन्दोलनकै कारण समग्र व्यवसायमा ८० प्रतिशतजति गिरावट आएको व्यवसायीको भनाइ छ । ट्राभल र होटलमा हुने कारोबारमध्ये ७० प्रतिशत भारतीय ग्राहकले धानेका थिए ।