फिक्कल । सिमा क्षेत्रमा हुने अपराध नियन्त्रणको लागि इलामको नेपाल भारत सीमा क्षेत्रमा पर्ने छब्बीसेमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर ४ को सीमावर्ती मेची बजारमा एक कार्यक्रमका बिच शुक्रबार सशस्त्र प्रहरीको १७३ औं बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको हो । सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहाल र इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले संयुक्त रुपमा बीओपीको उद्घाटन गरे ।
नेपाल भारत सीमा क्षेत्रका बिभिन्न गतिबिधि हुँने यी क्षेत्रमा सीमा सुरक्षा संगै अवैध गतिबिधि नियन्त्रण गर्ने उद्देश्यले बीओपी स्थापना गरिएको जनाईएको छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सेडाईले संघीय सरकारले मात्र नभई सिमा सुरक्षाको लागि स्थानीय सरकारले समेत चासो दिनुपर्ने बताए
भारत तर्फ सीमा क्षेत्रमा प्रत्येक तीन÷तीन किलोमिटरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को क्याम्प स्थापना गरिएएको भए पनि नेपाल तर्फको सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति नहुँदा नेपाली भूमी अतिक्रमण बढनुका बन्यजन्तुको समेत चोरी निकासी हुँदै आएको थियो ।
बीओपी उद्घाटन पछि बोल्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक दाहालले स्थानीय समुदायको मन जित्ने गरी काम गर्न आफु मातहतका प्रहरीलाई निर्देशन समेत दिए । सूर्योदय नगरपालिका ४ का वडाध्यक्ष मधुसुधन लामिछानेले सीमानामा बिभिन्न समस्या झेल्दै आएका सीमाबासीमा शसस्त्रको बीओपी स्थापनाले खुसी छाएको बताए ।
कार्यक्रममा बिओपी राख्नका लागि घर जग्गा दिने मिना राई श्रेष्ठलाई सम्मान समेत गरिएको थियो । सिमा क्षेत्रमा हुने अपराधसंगै राजस्व संकलन वृद्धि गर्नको लागि सिमा इलाकाहरुमा शसस्त्र प्रहरीको बाक्लो उपस्थिती गराउने उद्धेश्य अनुरुप २०७६ मंसिर ३० गतेको मन्त्री परिषदको निर्णय अनुसार थप ११४ वटा बिओपी स्थापना गर्ने निर्णय गरेको थियो ।
इलाम जिल्लाको रोङ गाउँपालिकाको तिरीङ देखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडा सम्मको ५२ दशमलब ५ किलोमिटर क्षेत्रमा स्थापना हुने ६ वटा बीओपी मध्ये सलकपुर र समालबुङमा यस अघि नै स्थापना भएका छन् । अव चाडै जौवारी र कालपोखरीमा बीओपी स्थापना गरिने भएको छ ।